वर्तमान अवस्थाबारे नेमकिपाले निकाल्यो प्रेस विज्ञप्तिः के छ विज्ञप्तिमा ?
भदौ २४, २०८२, मङ्गलबार | साँझ ०५:२४ बजे | 280
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जनताको आवाजलाई अवज्ञा गर्दै दम्भ देखाउने कार्य गरेकै कारण आजको राजनीतिक अवस्था आएको जनाएको छ । पार्टी सचिव प्रेम सुवालले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरी फासीवादी प्रवृत्तिलाई निरन्तरता दिएकै कारण आजको अवस्था सृजना भएको जनाएको छ ।
प्रजातन्त्र पुनःस्थापनापश्चात् गठन भएका सबै सरकार र शासक नेताहरूबाट भएको भ्रष्टाचार, भागबन्डा, अनियमितता तथा अन्याय अत्याचारको विरोध गर्दै देश र जनताको पक्षमा सङ्घर्ष पार्टीले चालु राख्दै आएको हो, विज्ञप्तिमा उल्लेख छ, नेपाली काङ्ग्रेस र एमालेको ओली गठबन्धन सरकार गठनपश्चात् पनि नेमकिपाले त्यस सङ्घर्षलाई सदन र सडकमा निरन्तरता दिँदै गयो । तथापि, अत्याचारी ओली सरकारले देशलाई भ्रष्टाचारका अनेकौं काण्डमा फसाउँदै लग्यो ।
फलस्वरूप नेपाली जनताको आक्रोश एवम् असन्तुष्टि बढ्दै गएको र भ्रष्ट एवम् अत्याचारी ओली सरकारले भाद्र २३ गते सोमबार काठमाडौं र देशका विभिन्न जिल्लामा प्रहरी दमन गरेको जनायो । सोमबारको उक्त घटनामा १९ जना निहत्था युवाहरूको वर्वरतापूर्वक हत्या भएकोमा नेमकिपा विरोध एवम् भत्र्सना गर्दछ, विज्ञप्तिमा भनिएको छ । नेमकिपा ज्यान गुमेका युवाहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दछ र दमन कार्य अविलम्ब रोक्न माग गर्दछ, विज्ञप्तिमा उल्लेख छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ओली सरकारले भाद्र २४ गते समेत गरेको दमन एवम् ज्यादतीले ओली सरकारको पतन पनि भयो, विज्ञप्तिमा भनिएको छ ।
केपी ओलीको सरकारले देश र जनताको नेतृत्व गर्न नसकेपछि धेरै दिनअगाडि नै राजीनामा दिएर राजनीतिक निकासको मार्गप्रशस्त गर्नुपर्ने थियो । नेपाल मजदुर किसान पार्टीले यो विषय उठाउँदै आएको हो । नेमकिपा देशभक्त तथा न्यायप्रेमी जनताकै पक्ति र सङ्घर्षमा छ, प्रकाशित विज्ञप्तिमा भनिएको छ ।
प्रेस विज्ञप्ति
नेपाल मजदुर किसान पार्टीले प्रजातन्त्र पुनःस्थापनापश्चात् गठन भएका सबै सरकार र शासक नेताहरूबाट भएको भ्रष्टाचार, भागबन्डा, अनियमितता तथा अन्याय अत्याचारको विरोध गर्दै देश र जनताको पक्षमा सङ्घर्ष चालु राख्दै आएको हो । नेपाली काङ्ग्रेस र एमालेको ओली गठबन्धन सरकार गठनपश्चात् पनि नेमकिपाले त्यस सङ्घर्षलाई सदन र सडकमा निरन्तरता दिँदै गयो । तथापि, अत्याचारी ओली सरकारले जनताको आवाजलाई अवज्ञा गर्दै दम्भ देखाउने कार्य र फासीवादी प्रवृत्तिलाई निरन्तरता दियो ।
ओली सरकारले देशलाई भ्रष्टाचारका अनेकौं काण्डमा फसाउँदै लग्यो । फलस्वरूप नेपाली जनताको आक्रोश एवम् असन्तुष्टि बढ्दै गयो । भ्रष्ट एवम् अत्याचारी ओली सरकारले भाद्र २३ गते सोमबार काठमाडौं र देशका विभिन्न जिल्लामा प्रहरी दमन गर्यो । सोमबारको उक्त घटनामा १९ जना निहत्था युवाहरूको वर्वरतापूर्वक हत्या भएकोमा नेमकिपा विरोध एवम् भत्र्सना गर्दछ । नेमकिपा ज्यान गुमेका युवाहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दछ र दमन कार्य अविलम्ब रोक्न माग गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । ओली सरकारले भाद्र २४ गते समेत गरेको दमन एवम् ज्यादतीले ओली सरकारको पतन पनि भयो ।
केपी ओलीको सरकारले देश र जनताको नेतृत्व गर्न नसकेपछि धेरै दिनअगाडि नै राजीनामा दिएर राजनीतिक निकासको मार्गप्रशस्त गर्नुपर्ने थियो । नेपाल मजदुर किसान पार्टीले यो विषय उठाउँदै आएको हो । नेमकिपा देशभक्त तथा न्यायप्रेमी जनताकै पक्ति र सङ्घर्षमा छ ।
प्रेम सुवाल
सचिब
