जेनजी आन्दोलनः भोलि देशभरका प्रत्येक स्थानमा श्रद्धाञ्जली सभा, थप कार्यक्रम भोलि विहान सार्वजनिक हुने


भदौ २३, २०८२, सोमबार | राति १०:०८ बजे | 480


जेनजी आन्दोलनः भोलि देशभरका प्रत्येक स्थानमा श्रद्धाञ्जली सभा, थप कार्यक्रम भोलि विहान सार्वजनिक हुने

काठमाडौं । जेनजीहरुले सोमबार शहीद भएका वीर योद्धाहरूको आत्माको चीरशान्तिको लागि मंगलबार विहान श्रद्धाञ्जली सभा आयोजना गर्ने भएका छन् । सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई शहीद भएका देशभरका ठाउँंहरुमा सभामा सहभागी हुन अनुरोध गरेको छ । सोमबार राति प्रेस विज्ञप्ति सार्वजनिक गरी मंगलबार विहान सम्पूर्ण पक्षहरूको सुझाव लिएर भोलि बिहान थप कार्यक्रम सार्वजनिक गरिने जनाएको छ ।
भ्रष्टाचारविरुद्ध राष्ट्रिय आन्दोलन — हाम्रो आन्दोलन जारी छ
मितिः २०८२ भदौ २३ गते (शनिबार)
काठमाडौं
आजको शान्तिपूर्ण कार्यक्रममा घुसपैठ गरिहेका तत्वहरूले अराजकता सिर्जना गर्ने प्रयास गरे। तर हामी स्पष्ट छौँ—हाम्रो आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रहन्छ, र यसलाई असफल बनाउन खोज्ने कुनै पनि चाल सफल हुनेछैन।
देशभरका युवाहरू भ्रष्टाचार र बेथितिको अन्त्यका लागि सडकमा उत्रिएका छन्। तर आजको दिन पीडादायी छ—१८ भन्दा बढी युवाले ज्यान गुमाएका छन्, हजारौँ घाइते भएका छन्। यो केवल संयोग होइन, भ्रष्टाचार, दुरव्यवस्था र निरंकुश प्रवृत्तिको प्रत्यक्ष परिणाम हो।
हामी प्रश्न गर्छौँ—युवाको रगत बग्दा पनि सरकार किन मौन? जनताको बलिदानलाई सम्मान गर्ने शक्ति सरकारसँग छ वा छैन?
हामी शहीद साथीहरूलाई श्रद्धाञ्जली अर्पण गर्छौँ र घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। यस घडीमा आन्दोलनलाई अझ अनुशासित, गम्भीर र संगठित ढंगले अघि बढाउन हामी सबै प्रतिबद्ध छौँ।
परिवर्तन सजिलो छैन, तर सम्भव छ। युवाहरू ज्यान दिन तयार छन् तर आन्दोलनलाई अराजक बनाउन खोज्ने कुनै कदम स्वीकार्य हुनेछैन। आजको दमन केवल युवामाथि होइन, सम्पूर्ण नेपालीको सपनामाथि भएको प्रहार हो।
त्यसैले हामी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछौँ— यो संघर्षमा हाम्रो साथ, समर्थन र ऐक्यबद्धता जनाउनुहोस्।
???? अन्तिम अपिलः
भोलि २०८२ भदौ २४ गते  देशभरका प्रत्येक स्थानमा,
शहीद भएका हाम्रा वीर योद्धाहरूको आत्माको चीरशान्तिको लागि
श्रद्धाञ्जली सभा आयोजना गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछौँ। अन्य कार्यक्रमहरूको जानकारी सम्पूर्ण पक्षहरूको सुझाव लिएर भोलि बिहान सार्वजनिक गरिनेछ।
 पुरुषोत्तम यादव – कार्यक्रम संयोजक
 सबल गौतम – कार्यक्रम संयोजक
आम नेपाली युवा — भ्रष्टाचार तथा बेथिति विरुद्ध राष्ट्रिय आन्दोलन

Comments