गो लोकल पुस्तक सार्वजनिकरण


भदौ २३, २०८२, सोमबार | राति ०७:०९ बजे | 230


गो लोकल पुस्तक सार्वजनिकरण

भक्तपुर घरेलु तथा साना उद्योग संघ तथा भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा भक्तपुरका मौलिक उत्पादनहरुलाई आन्तरिक एव बाह्य पर्यटकसँग जोडी ती उत्पादन तथा उद्योगलाई जिवन्तता  दिने उद्देश्यले विगत ५ बर्षदेखि गरिएको अध्ययन अनुसन्धान खोज र तथ्थाङ्क संकलन गरी भक्तपुरका १५ वटा मौलिक उत्पादनहरुलाई सुचिकृत गरी तयार पारिएको गो लोकल पुस्तकको आज सस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठ तथा उद्योग बाणिज्य भुमी तथा प्रशासन मन्त्री माननीय विन्दु श्रेष्ठको संयुक्त रुपमा सार्वजनिकरण गर्नुभयो ।

सो समारोहमा प्रमुख अतिथि माननीय मन्त्री सुरेश श्रेष्ठले भक्तपुरका मौलिक उत्पादनहरुलाई पुस्तकको रुपमा प्रकाशित गरी लोभ हुन लागेका उत्पादनलाई जागृत गर्ने कार्य गर्नुभएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै यहाँका धर्म सस्कृति पर्व र जिवन्त सँगको जोडिएका उत्पादनहरुलाई बदनाम गर्ने उद्देश्यले उत्पादनमै कैफियत भएको कुरा सुन्नु परेको छ । जसले गर्दा उत्पादन गर्ने उद्योगहरु संकटमा परेको हुनाले ती उद्योग तथा व्यवशायलाई संरक्षण र सम्बर्द्धन गर्न प्रदेश मन्त्रालय तयार रहेको बताउनु भयो ।

त्यसैगरी अर्का प्रमुख अतिथि माननीय विन्दु श्रेष्ठले रैथाने उत्पादनलाई उत्पादन गरी ब्राण्डिड गरी अन्तराष्ट्रिय बजारमा लान सकेमात्र यहाँका घरेलु तथा साना उद्योगहरुको दिगोपन हुने हुनाले प्रदेश सरकारले ती उद्योग तथा व्यवशायलाई विभिन्न सुविधाहरु दिएर संरक्षण गर्ने बताउनु भयो । साथै उहाँले घरेलु उद्योगलाई आवश्यक कच्चा पर्दाथको अभाव भएको हुन्दा हामी आफैले यहाँका उद्योग व्यवशायलाई आवश्यक कच्चा पर्दाथ उत्पादन गर्न रैथाने विउहरु जोगाउन प्रदेश सरकारमात्र नभई स्थानीय सरकारले पनि ध्यान दिनु आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा अर्का अतिथि भक्तपुर नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत वसन्त भट्टराईले घरेलु तथा साना उद्योगलाई संरक्षण र सम्बर्द्धन गरी लान नसके देशको आर्थिक स्तर बृद्धि नहुने भएकोले यस्ता उद्योगलाई प्रदेश सरकारले स्थानीय सरकाले विभिन्न सेवा सुविधाहरु दिन्दै आएको जानकारी गराउँदै यो घरेलु उद्योगका उत्पादनलाई प्रवर्द्धन र बजारिकरण गर्न स्थानीय निकायले सहकार्य गर्दै आईरहेको बताउनु भयो। साथै भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिले संचालन गरिरहेको यो गो लोकल कार्यक्रमको हाल सम्म गरेको कार्यको हालसम्मको उपलब्धिबारे समिक्षा गरी आगामी दिनमा के कसरी जाने भने कुराको रणनिति तयार गरी जानु पर्ने बताउनु भयो ।

त्यसैगरी उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले कार्यलयको सहयोगम संचालन भईरहेको गो लोकल कार्यक्रमको पुस्तकले भक्तपुरका मौलिक उत्पादनका उत्पादनहरुको दस्तावेज तयार भएकोमा खुसि व्यक्त गरी यहाँको उत्पादन यहाँको सीपलाई जागाई राख्न उद्योग तथा बाणिज्य कार्यालयले समय समयमा विभिन्न सीपमुलक तालिम संचालन गरिरहेको जानकारी गराउनु हुन्दै भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिले उठाएको गो लोकलका मद्दा संवेदनशील छ भन्नु भयो ।

कार्यक्रममा गो लोकल कार्यक्रममा संयोजक विरेन्द्र जतिले गो लोकल कार्यक्रम संचालन गर्नुको औचित्य उपलब्धि तथा चुनौतिबारे बताउनु भयो भने सह संयोजक रामसुन्दर भेलेले गो लोकल अन्तर्गत हाललाई ५ बटा उत्पादनको मात्र संक्षिप्ट श्रव्यदृश्य मार्फत गो लोकलको उपदेयता बारे जानकारी गराउनु भयो।  

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका महासचिव रविन्द्र श्रेष्ठ तथा गो लोकल कार्यक्रमका मस्यौदाकार ईश्वरकाजि खाईजुले पनि गो लोकल कार्यक्रमबारे चर्चा गर्नुभएको थियो ।

 

Comments