जेनजी मृत्यु संख्या १४ पुग्यो, काठमाडौंमा सेना परिचालन, देशभरि आन्दोलन उग्र
भदौ २३, २०८२, सोमबार | साँझ ०४:५२ बजे | 130
काठमाडौं । भ्रष्टाचारविरुद्ध ‘जेन जी’ पुस्ताले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । यस्तै, घाइते हुनेको संख्या पनि सयौं रहेका छन् । यस हिसावले मृत्यु हुनेहरुको संख्या वढ्ने निश्चित प्रायः छ ।
सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकामध्ये ट्रमा सेन्टरमा चार, सिभिल अस्पतालमा दुई र काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा दुई र टिचिङ अस्पतालमा एक जना गरी ९ जना प्रदर्शनकारीको मृत्यु पुष्टि भएको हो । यसैगरी सिभिल अस्पतालमा ५०, केएमसीमा १४, ट्रममा ४०, टिचिङमा १३, भेनसमा २ बयोदामा १ जनाको उपचार जारी छ । यसैगरी ७ प्रहरी पनि घाइते भएका छन् । कयौंको अवस्था चिन्ताजनक रहेको छ ।
सोमबार बिहान ९ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन, दिउँसो प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि हिंसात्मक बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो भने पछि गोली समेत चलाएको थियो ।
घटनाले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दिउँसो साढे १२ बजेदेखि नै काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको थियो । तर, कफ्र्यूका बाबजुद पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन रोकिएको छैन । अहिलेसम्म पनि अवस्था तनावग्रस्त नै छ । हाल ट्रमा सेन्टर र सिभिल अस्पताल घाइतेहरूले भरिभराउ भएका छन् । घाइतेहरूको यकिन संख्या भने सार्वजनिक भइसकेको छैन ।
यसवीचमा संसदलाई सेनाले कव्जा गरेको छ । संसद भबन वरिपरिको सडकलाई नेपाली सेनाले नियन्त्रणमा राखेको हो । घटना विकराल भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले साँझ पार्टीको बैठक बोलाएका छन् ।
आन्दोलन देशभरि नै चर्किंदै गएको छ । पोखरामा पनि मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ । त्यहाँं पनि यसअघि नै कफ्र्यु लगाइएको थियो । इटहरीमा पनि कफ्र्य लागेको छ ।
यसैवीच सरकारले प्रदर्शनका क्रममा घाइते हुनेहरुको निःशुल्क उपचार गरिदिने जनाएको छ ।
