भोलिको जेनजीको आन्दोलनमा रास्वपाको समर्थनः सहभागी हुन निर्देशन
भदौ २२, २०८२, आइतबार | राति ०८:२४ बजे | 370
काठमाडौं । भोलि हुने जेनजीको प्रदर्शनमा राष्टिय स्वतन्त्र पार्टीले पनि समर्थन जनाएको छ । साथै उसले विना पार्टीको झण्डा सहभागी हुने सम्पूर्णसँंग अनुरोध गरेको छ । साथै पार्टी कार्यकर्ताहरुलाई सहभागी हुन निर्देशन दिएको छ ।
विज्ञप्ति
भोलि हुन लागेको नेपालको पछिल्लो पुस्ता (जेनजी) को स्वस्फूर्त प्रदर्शनबारे जानकारी पाएर उत्साहित भएका छौँ । सरकारको श्रृंखलाबद्ध कुशासन र राज्यशक्तिको दुरूपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज निरन्तर उठाइरहेकै छौं । यो परिप्रेक्षमा जेनजीसमेत सशक्त ढङ्गले सडकमा आउन आँट्नु उल्लेख्य राजनीतिक परिघटना हो । सार्वजनिक मामिलामा सबैको लोकतान्त्रिक संस्कारसंगत प्रत्यक्ष हस्तक्षेप रहोस् भन्ने मान्यता हाम्रो दलको रहेको छ ।
नवयुवा पुस्ताको यस अभूतपूर्व प्रदर्शनमा सरकारको प्रतिक्रिया एवं वक्रदृष्टिमाथि हाम्रो निगरानी रहनेछ । जेनजीले उठाएका बिषयहरूलाई निष्कर्षमा पुयाउन अपिल गर्दै जेनजीको यो प्रयासलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई खबरदारी गर्दछौँ । साथै, पछिल्लो पुस्ताको सडक प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध लगायत समस्त युवाहरूलाई कुनै पनि दलीय संकेत, नारा र परिचय प्रयोग नगरी ऐक्यवद्धता प्रकट गर्न आग्रह गर्दछौँ ।
धन्यवाद ।
कविन्द्र बुर्लाकोटी
महामन्त्री
