६२ वर्षीय अमर अधिकारीको जवानीको रहस्य


भदौ १६, २०८२, सोमबार | साँझ ०४:१५ बजे | 360


६२ वर्षीय अमर अधिकारीको जवानीको रहस्य

६२ वर्षीय अमर अधिकारीको जवानीको रहस्य अमर अधिकारी दुनियाँलाई ज्ञान-चेतना बाँड्ने एक सर्जक हुन्। ज्ञान-चेतना विक्री गर्नेहरुको दुकानमा ज्ञान किन्नेहरुको लर्को देख्दा उनलाई दिक्क लाग्छ। उनी भन्छन्- "अध्यात्म र धर्मको नाममा ठगीखानेहरुको संख्या बढ्दो छ।" शुरुशुरुमा मीठा कुरा गर्ने, प्रवचन दिने र भित्रभित्रै विभिन्न वहानामा आर्थिक शोषण गर्ने कथित संस्थाहरु भारतमा झैँ नेपालमा पनि च्याउ उम्रिए झैँ उम्रिएका देखिन्छन्। त्यस्ता संस्था चलाउनेले एजेन्ट मार्फत चेलाचेलीहरु बनाउने र यताबाट सीमापारी करोडौँ रकम अपचलन गर्ने गरेका केही प्रमाणहरु अमरसँग सुरक्षित छन्। यताबाट रकम उठाएर उता लैजने र तारे होटल लगायत नाफामूलक कम्पनीहरुमा शेयर लगानी गर्ने गरेको पनि पाइन्छ। जुन रकम उनका भावि सन्तानहरुले उपयोग गर्नेछन्। थप्छन्- "सबै धार्मिक तथा आध्यात्मिक संस्थाहरु खराब छन् भन्न खोजिएको होइन। तर पछिल्लो समय कतिपय यस्ता संस्थाहरुमा नाफाखोरी बढी देखिन्छ।" कतिपय नेपालीहरुमा स्वविवेक प्रयोग गर्ने चलन छैन। अरुले भनेको कुरा पत्याइहाल्ने बानी छ धेरैजसोमा। भारतमा आपराधिक गतिविधिमा जेलको हावा खाइरहेका सन्त वा बाबा वा गुरुको पनि नेपालमा जयजयकार गरिन्छ, जुन दुःखको कुरा हो। रोल्पाको खुंग्रीमा जन्मिएका र हाल बुढानिलकण्ठमा बसोबास गर्ने अमर अधिकारी यस्ता सर्जक हुन् जसको संगत गर्दा पनि केही वर्ष आयु बढ्नसक्छ। उनको जीवनशैलीका बारेमा कतिपय उनकै लेखहरुमा पढ्नसकिन्छ। उनको नाममा खासै सम्पत्ति छैन, अनावश्यक सम्पत्ति जीवनको बोझ ठान्छन् उनी। सरकारी सेवाबाट अवकाश लिदाबित्तिकै साहित्य लेखनतर्फ निकै सक्रियता अपनाउदै आएका अमर जागिरमा रहँदाभन्दा तीनखण्डी बढी व्यस्त देखिन्छन्। अवकाश पाएकाहरु निष्क्रिय भएर बसेका र रोग निम्त्याउँदै गरेकाहरुका बीच अमर भने यस कुरामा अपवादको रुपमा उभिएका छन्। दशक अघिदेखि साकाहारी बनेका अमर राती पाँच घन्टा मात्र सुत्न भ्याउँछन् र बाँकी अधिकांश समय उनी सृजनामा र घरायसी काममा व्यस्त रहन्छन्। उनले फेसबुकमा सम्प्रेषण गर्ने सामग्रीहरु पनि रोचक, ज्ञानवर्द्धक र रमाइला खालका हुनेगर्छन्। 'स्वस्थ रहने २० सूत्रहरु' उनकै पुस्तक 'ओगिल्जामा उल्लेख छन्। उनी पछिल्लो समय साहित्यिक वृत्तमा निकै चर्चित भएका छन्। उनका तीन कृति प्रकाशित छन् भने उनकै बारेमा लेखिएको पुस्तक पनि सार्वजनिक भैसकेको छ। मुलुकमा व्याप्त विकृति र विसंगतिका विरुद्धमा अमरले खरो रुपले कलम चलाउदा राष्ट्रियस्तरमा कतिपय सुधारका कामहरु पनि भएका छन्। अमर सर्वाधिक लोकप्रिय लेख 'बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र' का लेखक हुन्। उनका दिनमा ३।४ वटासम्म लेख-रचनाहरु प्रकाशन भएको इतिहास छ। उनले विभिन्न उपाधि र उपनाम हासिल गरिसकेका छन्। विहानको समय उनी निःशुल्क व्यायामशालामा गएर हल्का व्यायाम गर्नेगर्छन्। त्यसैकारण पनि उनी स्वस्थ देखिन्छन्, जवान देखिन्छन्, उर्जाशील देखन्छन् र व्यस्त देखिन्छन्। ४२ वर्ष काठमाडौँमा बिताएका उनले ३२ वर्षअघिदेखि नै मास्क प्रयोग गर्दै आएका छन्। उनी भन्छन्- "निरोगी हुनुमा मास्कको पनि ठूलो महत्व छ।"

Comments