अध्ययनलाई प्राथमिकतामा राखी पुस्तकालय दिवसमा नगरस्तीय रुपमा मनाउने सायदै भक्तपुर एउटै मात्रै नगरपालिका होलाः प्रजापति


भदौ १६, २०८२, सोमबार | विहान १०:५२ बजे | 120


अध्ययनलाई प्राथमिकतामा राखी पुस्तकालय दिवसमा नगरस्तीय रुपमा मनाउने सायदै भक्तपुर एउटै मात्रै नगरपालिका होलाः प्रजापति

भक्तपुर । नेपालमा बि.सं. २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी पुस्तकालय दिवस मनाउँदै आएको छ । १८ औं पुस्तकालय दिवसको अवसरमा भक्तपुर नगरपालिकाले आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै उहाँले नेपालका पुस्तकालयहरुको उचित व्यवस्थापनले यहाँका नागरिकहरुको बौद्धिक स्तर माथि उठ्ने बताउँदै बौद्धिक रुपले अगाडि बढ्न अध्ययनमै जोड दिनुपर्ने बताउनुभयो ।

कम्युनिष्ट साहित्यहरु प्रगतिशील हुने विचार राख्दै उहाँले आफूले के पुस्तक अध्ययन गर्ने विषयमा स्पष्ट हुनुपर्ने र नगरपालिकाद्वारा सञ्चालित पुस्तकालयलाई अझ व्यवस्थित ढंगले सञ्चालन गर्न सुझाव दिनुभयो ।

लाइब्रेरियनहरुले नयाँ नयाँ पुस्तक अध्ययन गरी आफ्नो ज्ञानको दायरलाई व्यापक र फराकिलो बनाउनुपर्ने बताउँदै उहाँले शुद्ध नेपाली बोल्न र लेख्न कर्मचारीहरुलाई भाषासम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

पुस्तकालयमा रहेका पुराना पुराना पुस्तकहरु आफैमा एउटा इतिहास भएको हुँदा ती पुस्तक संरक्षणमा पुस्तकालयले जोड दिनुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले लाइब्रेरियनहरु बौद्धिक रुपमा अब्बल बन्नुपर्ने विचार राख्नुभयो ।

अध्यक्ष बिजुक्छेँले भक्तपुरका पुराना विद्यालय र पुस्तकालय व्यवस्थापन तथा संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिन आग्रह गर्दैै अध्ययनविना कोही पनि बौद्धिक रुपले अगाडि बढ्न असम्भव रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न भक्तपुर नगरपालिकाले पुस्तकालय दिवस मनाउँदै आएको बताउँदै पुस्तकालय ज्ञानको भण्डार भएकोले समाज रुपान्तरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पुस्तकालय र वाचनालय सञ्चालनको अधिकार पालिकाहरु दिएपछि भक्तपुर नपाले नगरका पुस्तकालय, वाचनालयहरुका अभिलेख राखी आवश्यकताको आधारमा पुस्तकालय सुधार र व्यवस्थापनको लागि आर्थिक, भौतिक सहयोग गरी पुस्तकालय सञ्चालनमा सुधार भएको हो भन्नुभयो ।

पुस्तकालयको अवस्थाले समाजको वास्तविक अवस्था थाहा पाउन मद्दत पुग्ने बताउँदै उहाँले सामन्तहरु र विकासविरोधीहरु पुस्तकालय सञ्चालनमा कहिले पनि सकारात्मक हुँदैनन् भन्नुभयो ।

नेपालमा प्रजातन्त्रको स्थापनासँगै जिल्ला जिल्ला र टोल टोलमा पुस्तकालयहरु स्थापना भएको प्रसंग जोड्दै उहाँले आधुनिक प्रविधिको विकाससँगै पुस्तकालयप्रतिको आकर्षणमा भने कमी आएको बताउनुभयो ।

नेपालमा हाल ९०० भन्दा बढी पुस्तकालय सञ्चालनमा रहेको, त्यसमा मुस्किलले २०० वटा जति चलेको र कतिपय पुस्तकालयहरु आर्थिक अभाव, पढ्न आउने व्यक्तिहरु नहुँदा बन्द हुँदै गएको धारणा राख्नुभयो ।

उपप्रमुख रजनी जोशीले शिक्षाको माध्यमबाट दरिलो समाज निर्माण हुने बताउँदै भक्तपुरका सार्वजनिक पुस्तकालयको अवस्थालाई अझ सुधार गर्दै लानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

आजको डिजिटल युगमा समयसापेक्ष ढंगले पुस्तकालयको स्तरोन्नति गर्दै लानुपर्ने बताउँदै उहाँले पुस्तकालयहरुलाई व्यवस्थित रुपमा अगाडि बढाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले अध्ययन भनेको व्यक्तिमा नीति संस्कारसँग जोडिएको विषय हो भन्दै जीवनमा असल र सफल हुन अध्ययनको विकल्प नभएको बताउनुभयो ।

एउटा किताबमा धेरै ज्ञान हुन्छ तर एउटै किताबमा सबै ज्ञान नहुन पनि सक्छ भन्दै उहाँले अध्ययनविनाको प्रगति सम्भव नभएको बताउनुभयो ।

भक्तपुर नपाद्वारा सञ्चालित जनज्योति पुस्तकालय शाखा प्रमुख भूपाल मुलले पुस्तकालय दिवस मनाउनुको उद्देश्यमाथि प्रकाश पार्दै राष्ट्रको समृद्धि र विकास तथा चुनौतीहरु सम्बोधनको महत्वपूर्ण आधार पुस्तकालय हो भन्नुभयो ।

पुस्तकालयका धेरै प्रकारहरुबारे प्रष्ट पार्दै उहाँले पुस्तकालयले ज्ञानको दायरा फराकिलो पार्न मद्दत पु¥याउने र बालकदेखि सबै उमेर समूहका नागरिकले पुस्तकालयको प्रयोगबाट लाभ हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

प्रगति पुस्तकालयका रविन्द्रप्रसाद कुसीले भक्तपुरका सार्वजनिक पुस्तकालयहरुको गर्विलो इतिहालाई अझ उजागर गर्नुपर्ने बताउँदै भक्तपुर नपाले सार्वजनिक पुस्तकालयको अवस्था सर्वेक्षण गरी प्रतिवेदनको आधारमा ती पुस्तकालयहरुलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गरी क्रियाशील बनाउने उल्लेखनीय काम भएको बताउनुभयो ।

प्रगति पुस्तकालयले गरिरहेको अभ्यासबारे जानकारी गराउँदै उहाँले हाल प्रगति पुस्तकालयले विभिन्न तालिम, स्वास्थ्य शिविर, प्रगतियोगिताजस्ता रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको र जनज्योति पुस्तकालय जस्तै अर्को सुविधासम्पन्न पुस्तकालय भक्तपुरमा खाँचो रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इ. कलेजको पुस्तकालयका सुरेन्द्र दुवालले भक्तपुरको शैक्षिक विकासमा पुस्तकालयको भूमिका उल्लेखनीय रहेको बताउँदै पुस्तकालय शैक्षिक संस्थाहरुको महत्वपुर्ण अंग हो भन्नुभयो ।

भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरुको पुस्तकालय देशकै उत्कृष्ट पुस्तकालयको रुपमा सञ्चालनमा रहेको बताउँदै उहाँले भक्तपुरका पुस्तकालयको स्तरोन्नतिमा नगरपालिकाले जोड दिनुपर्ने र नयाँ पुस्तामा पुस्तकालयको महत्वबारे छलफल कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने विचार राख्नुभयो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भटुटराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले बौद्धिक क्षेत्रको महŒवपूर्ण थलो नै पुस्तकालय हो भन्नुभयो ।

Comments