ऐतिहासिक तथ्य र सत्य घटनामा आधारित कथा बस्तुमा लेखिएको "तुलुराजा"


भदौ १४, २०८२, शनिबार | साँझ ०५:५५ बजे | 165


ऐतिहासिक तथ्य र सत्य घटनामा आधारित कथा बस्तुमा लेखिएको "तुलुराजा"

चन्द्रप्रकाश बानियाँ नेपाली साहित्यमा खरो रुपमा ऐतिहासिक आख्यान लेख्ने लेखकका रुपमा चिनिन्छ । उनको यो "तुलुराजा" दोस्रो ऐतिहासिक उपन्यास हो। यो भन्दा पहिला उनको "महारानी" उपन्यास लेखेका थिए जसलाई वि.स. २०७६ सालमा मदन पुरस्कारबाट सम्मानित गरेको थियो। यी बाहेक बानियाँका " ऐतिहासिक पर्वत राज्य", " खस जाति र कुल पुजा", मृत्यु संस्कार मन्थन: इतिहास , मान्यता र वास्तविकता", "भौज्याहा", "माकुरोको पूनर्जन्म", "चौविसी राज्य पर्वत" प्रकाशित भएका छन्। "तुलुराजा" २०८२ सालमा शिखा बुक्सद्वारा प्रकाशित भएको हो। यो ऐतिहासिक उपन्यास र "तुलुराजा" नाम दिइए पनि यो कुनै राजा रजौटाको जीवन वा राज्य विस्तारको कथा भएको आख्यान हैन।

वि.स. १८९७ मा म्याग्दीको उत्तरी भेगमा रहेको मगर गाउँमा गोरखा राज्यद्वारा करिब आधा दर्जन युवाहरूको कहाली हत्याकाण्ड बारेमा सत्यतथ्य वर्णन हो। "तुलुराज" कुनै राज्य वा नगरका महाराजाको कथा होइन।तर आफ्नो गाउँ पाखापानी र गाउँबासीको भलाईको लागि दुइदिनसम्म भएको युध्दमा नेतृत्व गरी सहादत प्राप्त गर्ने जननायक हुन्। पुरै उपन्यास तुलुराजा, उनको श्रीमती रूपी (लाती), गोरखा राज्यका सुवेदार नरसिंह मल्ल, मुखिया बा र गगनेको वरिपरि घुमेको छ। सुवेदार नरसिंह मल्लसंग विवाह गर्न मौखिक रुपमा कुरा छिनोफानो गरी सकेकी रूपीलाई तुलु मगरले विवाह गरेर लगे पछि सुवेदारले हिनताबोध गर्दछ। र त्यसको बदला लिन अनेक जालझेल, टिक्डम र षड्यन्त्र गरेर तुलेलाई राजद्रोहमा फसाउदै आफ्नो बदला पूरा गर्छ। गोरखा राज्यका अधिकारीहरूलाई समेत गुमराहमा राखेर एकतर्फीमा झराली फौज र गोरखाका तालिम प्राप्त लडाकु सहित साधारण धनु बाण, खुकुरी र ढुंगा मात्रै भएका निर्दोष पाखापानीका गाउँले माथि दुई दिनको घमासान हमला पछि गाउँलेलाई तितरबितर पारी करिब दुइ दर्जन गाउँलेको हत्या गर्दछ। र सिंगो गाउँमा मुर्दा शान्तिले छोप्छ।

उपन्यास ऐतिहासिक तथ्यमा र सत्य घटनामा आधारित कथा बस्तुमा लेखिएको छ। यसमा आफ्नो गाउँ र गाउँलेलाई माया गर्ने तुलु पाइजा मगर वा तुलु रोहनी वा तुलु राजाको संघर्ष र सामर्थ्यको कथा हो। जसले आफ्नो खुन पसिना बगाएर गोरखा राज्यको मोहर बनाउन तामा बोकेका गाउँलेको ज्याला पाउन गोरखा राज्यसंग असहमति राख्यो। अनेकौ लोभ धम्की, डर देखाउदा पनि नगलेका गाउँलेहरूले विद्रोह गरे। पुस्तकबारे लेखक बानियाँ स्वयम् यसबारे लेख्छन् - " तुलेको विद्रोह राणा काल पूर्व कै हो। भीमसेन थापाको पतन पछि काठमाडौंको सत्ता लामो कालखण्डमसम्म अस्थिर रहेको थियो। भीमसेन थापाको पतनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने काजी रणजंग पाण्डेको दोस्रो मुख्तियारी कालको घटना थियो - "पाखापानी विद्रोह" वा "तुलुराजा विद्रोह" ! उपन्यासले गोरखा राज्यको शासन प्रणालीसंग गाउँले जनताको असन्तुष्टि, गोरखा राज्यको तत्कालीन रूपमा कंगाल भएको अबस्था र गाउँमा जनताको गरिबीबारे उजागर गर्दछ। साथै त्यस कालखण्डमा गाउँका सामन्तीहरूको गरिब किसानहरूलाई लुट्ने प्रपञ्चबारे , समाजमा ब्याप्त बहुविवाह तथा समाजमा रहेको उचनिचबारे उपन्यासले बताउँछ ।

उपन्यासमा प्रयोग भएको राउगाड, म्यादीमा बोलिने स्थानीय पर्वते भाषाको प्रयोगले आञ्चलिकताको मीठो स्वाद पाइन्छ। तर पर्वते बोलीको भावअर्थ त्यही पेजमा नदिकन पछाडि छुट्टै दिदाँ घरिघरि पछाडि पल्टाइ रहनु पर्दा पाठकलाई झिझो लाग्छ। कथा एकैपल्ट नआइकन बानियाँ जीको शैली अनुसार विस्तारै बिस्तारै कथा बगेको छ। उपन्यासमा पात्रहरू एकसे एक छन्। मुख्य पात्रको चित्रण लोभलाग्दो छ। मिहेनती,सहयोगी तथा बुध्दिमान तुले गाउँको आपतमा गाउँलेहरूसंग सल्लाह गरेर काम फत्ते गर्ने कौशल बेजोड छ। गाउँका मुखिया उमेरले पाको र बूढो भए पनि युवाहरूको कुरा सुन्ने तथा गाउँको लागि जे गर्न पनि अघि बढ्ने बानीले आजभोलिका जनप्रतिनिधिभन्दा कहाँ हो कहाँ राम्रो र भुइँमान्छेसँग जोडिएको देखिन्छ। उपन्यासका खलपात्र सुवेदार नरसिंह मल्ल तत्कालीन समयको सामन्तीहरूको प्रतिनिधि पात्र हुन्।उसले तेस्रो पल्ट विवाह गर्न नपाएको झोंकमा उसले आफ्नो बल, बुद्धि र रणनीति देश र नरेशको लागि प्रयोग गरेको भए जनताले कम दुःख पाउथे सायद।उसले आफ्नो अहम् लाई बढी महत्व दिंदा बेकारमा आधा दर्जन गाउँलेहरूको हत्या हुन्छ। धेरै बोली रहने तुलेका भिनाजु गगने, रुप र घर ब्यबहारमा कुशल रूपी र गाउँका अन्य पात्रहरूको छनौट र चित्रण सजिब देखिन्छ। पात्रहरूको छनौटलर चित्रणले उपन्यासलाई बलियो बनाएको छ। प्रस्तुत उपन्यासको सबैभन्दा राम्रो पक्ष यसको कथानक हो। कसरी एउटा सोझो गाउँलेहरूको समूह र नायक तुले पाइजा मगरलाई सुवेदारको कुतिल चालले विद्रोही र देशद्रोही बनाउँछ भनेर उपन्यासले देखाएको छ। गाउँको कुनै पनि समस्या व्यक्तिगत नभई सामूहिक हो, त्यसलाई सामूहिक रूपमै छलफल गरी नै समाधान गर्ने तरिका देखाएको छ।कमजोर पक्ष उपन्यासमा यो नै भनेर छैन।तर तुलुराजाको युध्दको तयारी, रणनीति आदि बारे बर्णन कम भएको हो कि जस्तो देखिन्छ। उपन्यास शिल्पीगत रुपमा बलियो छ। तर चकलेटी, जादूयी प्रेमकथा पढ्नेहरूको लागि उपन्यास पूरा गर्न गाह्राे पर्न सक्छ। मगर गाउँले जीवनको दैनिकी, मगर संस्कृति बुझ्न यो किताब सहयोगी हुन सक्छ। "तुलुराजा" ऐतिहासिक आख्यान लेखनमा नौलो प्रयोग देखिन्छ। ऐतिहासिक आख्यान लेखन भन्ने बित्तिकै राजा, भब्य दरवार, विलाशिता मात्रै हैन साधारण तर लडाकु गाउँलेको पनि राम्रो आख्यान बन्न सक्छ भन्ने प्रमाण हो "तुलुराजा"! यसले विशेषगरि गाउँले जीवन , सामूहिक जीवन पध्दति, गाउँलेहरूको एकता, महिला भएर युध्द मैदानमा अग्रस्थानमा रहेर डटेर लड्ने शाहस र प्रेरणाको कथाले पनि किताब पढ्न जागर दिनेछ। जम्मा ४४० पेज र ५० खण्डमा लेखिएको सानो आकारको किताबको मूल्य ७९५ अलि बढी देखिन्छ। मुद्रा राक्षसहरू धेरै छन्। पहिलो खण्डमै एउटा हरफ पुरै दोहरिएको छ र भित्र अन्य खण्डमा पनि वाक्यहरू दोहरिनु लेखकको भन्दा पनि सम्पादन र प्रकाशन गर्ने प्रकाशकको कमजोरी देखिन्छ

Comments