केदारनाथ–लीलादेवी शिक्षा सम्मान २०८२ द्वारा लालबहादुर चौधरीलाई सम्मानित गरिने
भदौ १०, २०८२, मङ्गलबार | विहान ०६:४७ बजे | 175
दीपक भेटुवाल ‘दीपसागर’
भाषा, कला,साहित्य, संस्कृति, शिक्षा र बौद्ध दर्शनको प्रचारप्रसारमा उल्लेखनीय योगदान पु¥याएका लालबहादुर चौधरीलाई सूचक प्रकाशनद्वारा केदारनाथ–लीलादेवा शिक्षा सम्मान २०८२ ले सम्मानित गरिने भएको छ ।
लालबहादुर चौधरीको सामान्य परिचय
प्रारम्भिक जीवन र शिक्षा
लालबहादुर चौधरीको जन्म वि.सं. २०१७ साल मंसिर १ गते उदयपुर जिल्लाको जोगीदह (हाल त्रियुगा नगरपालिका–१) मा पिता भिखारीदास र माता पुष्पादेवी चौधरीका ज्येष्ठ सुपुत्रका रूपमा भएको हो । सामान्य कृषक परिवारमा जन्मिएर पनि जीवनलाई असामान्य योगदानतर्फ डो¥याउन सफल चौधरीले प्राथमिक शिक्षा गाउँकै विद्यालय र माध्यमिक शिक्षा देउरीबाट पूरा गरेका थिए । उनले त्रियुगा जनता क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तरसम्मको उच्च शिक्षा अध्ययन गरेका चौधरी वि.सं. २०३४ सालदेखि अध्यापनमा प्रवेश गरेका हुन् । चौधरीले आधा दर्जनभन्दा बढी शैक्षिक संस्थामा सम्बद्ध भएर थुप्रै विद्यार्थीमा ज्ञानको ज्योति छरेका छन् ।
सामाजिक योगदान
अध्यापनको साथसाथै चौधरी सामाजिक सेवाको कार्यमा पनि अग्रसर पाइन्छन् । त्यसको सुरुवात उनले गाउँमै अवस्थित विपद् व्यवस्थापन समितिलाई जग्गा दिएर गरेका थिए । विद्यालय भवन निर्माण गर्न विपद् व्यवस्थापन समितिलाई उनले करिब १० धुर जग्गा दान गरेका हुन् । यसरी शिक्षा र समाजप्रतिको आफ्नो उच्च निष्ठा कायम राख्दै गाउँमा स्वास्थ्य, सरसफाइ, सचेतना र सामाजिक परिवर्तनका अभियानमा सक्रिय भएर समाजलाई उज्यालोतर्फ डो¥याउने दीपकको भूमिकामा समेत चौधरी देखा परे । उनका पिता भिखारीदासले थारु समुदायमा प्रचलित पशुबली प्रथाको अन्त्य गर्दै अहिंसात्मक परम्पराको सुरुवात गरेका थिए, जसको गहिरो प्रभाव उनको जीवनमा कुनै न कुनै कोणबाट परेको थियो । त्यसै प्रेरणाले उनलाई आफ्नै खर्चमा भिखारी पुस्तक संग्रहालय तथा बौद्ध शिक्षा अध्ययन केन्द्र स्थापना गर्न प्रोत्साहित ग¥यो, जहाँ हजारौँ पुस्तकसहित बौद्ध अध्ययन र अनुसन्धानको सुव्यवस्था उनले मिलाएका छन् ।
संस्थागत सहभागिता
लालबहादुर चौधरी विभिन्न सामाजिक, शैक्षिक र धार्मिक संस्थासँग आवद्ध रहँदै आएका छन्—
थारू कल्याणकारी सभा
थारू भाषा–साहित्य केन्द्र
नेपाल बुद्धिजीवी परिषद्
धर्मोदय सभा
नेपाल राष्ट्रिय शिक्षक संगठन
थारू शिक्षक समाज
सम्यक् सन्देश (बौद्ध आध्यात्मिक पत्रिका)
धर्मकीर्ति पत्रिका
आनन्दभूमि पत्रिका
धर्मोदय बुद्ध विहार
यी संस्थामार्फत उनले भाषा, साहित्य, संस्कृति, शिक्षा र बौद्ध दर्शन प्रचारप्रसारमा उल्लेखनीय योगदान पु¥याएका छन् । साथै थारु वंशावली ब्रम्हमाइझ र विद्यालय स्मारिका सम्पादन गरेर समाजलाई ऐतिहासिक र शैक्षिक सामग्री उपलब्ध गराउनमा उनको सकारात्मक योगदान पाइन्छ ।
धार्मिक–आध्यात्मिक यात्रा
बुद्ध दर्शनप्रति उनको उच्च आस्था, विश्वास र सम्मान रहेको छ । अध्ययन, अध्यापन र प्रचारप्रसारको माध्यमबाट बौद्ध चिन्तनलाई समाजमा फैलाउन चौधरीले निरन्तर प्रयास गर्दै आएका छन् । गाउँमै स्थापना गरिएको बौद्ध अध्ययन केन्द्रमार्फत युवापुस्तालाई बौद्ध शिक्षा र अनुसन्धानतर्फ प्रेरित गर्नु उनको प्रमुख उद्देश्य रहेको छ । सन् २००६ नोभेम्बर २५ देखि २७ सम्म भारतको बनारसमा सम्पन्न अन्तर्राष्ट्रिय धर्म संस्कृति संगममा नेपालका थारु समुदायको तर्फबाट उनले प्रतिनिधित्व गरेका थिए । यस सम्मेलनले अन्तर्राष्ट्रिय स्तरमा थारु समुदायलाई परिचित गराउन ठुलो भूमिका खेलेको थियो । चौधरी वि.सं. २०६३ र २०६५ मा
विश्व शान्ति विहारले आयोजना गरेको दुर्लभ उपसम्पदा प्रवज्या कार्यक्रममा सहभागी भएर प्रव्रजित भएका थिए ।
त्यसपछि २०७० र २०८१ मा चौथोपटक लुम्बिनीमा आयोजित अल्पकालीन श्रामणेर प्रवज्या कार्यक्रममा पनि चौधरीको सहभागिता थियो । यसरी उनले आफ्नो जीवनलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक यात्रासँग गहिरो रूपमा जोड्दै आएका छन् ।
बुद्ध दर्शन र थारु समाजमा प्रभाव
चौधरीले बौद्ध दर्शनलाई केवल आस्थाको विषय मात्र बनाएनन्, सामाजिक चेतना र रुपान्तरणको साधनका रूपमा अघि सारे । चौधरी आफ्ना पिताले जस्तै थारु समुदायमा विद्यमान पशुबलीजस्ता कुरीतिहरू हटाउन पनि सक्रिय देखिन्छन् । उनको यो अभियानबाट अहिंसात्मक मूल्य र आधुनिक चेतनाको आधार स्थापित गर्न योगदान पुगेको देखिन्छ । यसले थारु समाजमा शिक्षा, नैतिकता र धर्मप्रतिको सकारात्मक दृष्टिकोणको विकास गराउने विश्वास गर्न सकिन्छ ।
प्रेरणादायी व्यक्तित्व
सामान्य किसान परिवारमा जन्मेर पनि शिक्षा, समाजसेवा, धर्म, संस्कृति र पत्रकारिताजस्ता विविध क्षेत्रमा देखाएको निःस्वार्थ योगदानले लालबहादुर चौधरीलाई थारु समुदायमा मात्र नभएर सम्पूर्ण नेपाली समाजकै अनुकरणीय व्यक्तित्व बनाएको छ ।
शिक्षा, समाजसेवा र आध्यात्मिक कार्यलाई एकसाथ अगाडि बढाउँदै आएका चौधरीको जीवनयात्राले भविष्यका पुस्तालाई सत्य, सेवा र आस्थाको बाटोमा अघि बढ्न प्रेरणा दिने विश्वास गर्न सकिन्छ ।
अतः अध्ययन, अध्यापन र अनुसन्धानमार्फत ग्रामीण क्षेत्रको शैक्षिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पु¥याएका चौधरीलाई केदारनाथ–लीलादेवी शिक्षा सम्मान–२०८२ अर्पण गरिएको छ । उनको यो योगदानले भविष्यका पुस्तालाई शिक्षा, सेवा र आस्थाको बाटोमा अघि बढ्न प्रेरणा दिनेछ भन्ने विश्वासका साथ आगामी दिनमा पनि निरन्तर योगदानको हार्दिक शुभकामना ।