सूचक साहित्यिक पत्रकारिता सम्मान-२०८१ का लागि चयन भएका निबन्ध आचार्य को हुन् ?
भदौ ६, २०८२, शुक्रबार | राति ०९:३१ बजे | 245
सूचक साहित्यिक पत्रकारिता सम्मान-२०८१ का लागि चयन भएका निबन्ध आचार्यको सामान्य परिचय प्रस्तुत गरिएको छ ।
दीपक भेटुवाल (दीपसागर)
निबन्ध आचार्य : साहित्य सेवामा समर्पित व्यक्तित्व
पारिवारिक पृष्ठभूमि
काठमाडौँको बानेश्वरमा जन्मिएका निबन्ध आचार्य नेपाली साहित्य र पत्रकारितामा समर्पित व्यक्तित्व हुन् । उनका पिता बलदेव आचार्य (बीडी त्यागी) स्वयं स्थापित साहित्यकार थिए । आमा गौरी आचार्यले सिकाएको संस्कार र पिताको सिर्जनात्मक प्रेरणादायी वातावरणले निबन्ध आचार्यलाई साहित्यिक बाटोतर्फ उन्मुख गराएको विश्वास गर्न सकिन्छ ।
शिक्षा र सिर्जनशीलता
स्नातक तहसम्म अध्ययन गरेका उनले औपचारिक शिक्षासँगै समाज र साहित्यलाई पनि जीवनको प्रमुख विद्यालय बनाउन प्रारम्भ गरे । विद्यार्थी जीवनमै लेखन, पत्रकारिता र संस्थागत गतिविधितर्फ आकर्षित भएका उनी पछि यही क्षेत्रमै पूर्णरूपमा समर्पित भएर लागेको देखिन्छ ।
कपन बानेश्वर साहित्यिक साप्ताहिक : एउटा ऐतिहासिक पहल
२०७० साल साउन ५ गते पहिलो अंक प्रकाशित कपन बानेश्वर साहित्यिक साप्ताहिक नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका हो । यसको दर्ता २०६९ साल जेठ २६ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा भएको थियो । यस पत्रिकाको संस्थापक प्रकाशक तथा सम्पादक निबन्ध आचार्य स्वयं हुन् । उनको यो पहलले नेपाली साहित्यको समृद्धिमा ठुलो योगदान पुर्याएको छ । २०७१ सालमा बीडी त्यागीको हीरक जयन्तीका अवसरमा ७५ जना स्रष्टालाई एकैपटक सम्मान गर्दै महिला, पुरुष, बालरचना, मोफसल र समाचार–विधामा पुरस्कार वितरण गरेर सम्पूर्ण साहित्यलाई समेट्ने दृष्टिकोण योजना उनको उत्कृष्ट प्राप्ति हो । तेह्र वर्षभन्दा लामो यात्रामा यस पत्रिकाले ६०० भन्दा बढी अंक प्रकाशित गर्दै सयौँ स्रष्टालाई मञ्च, अवसर र सम्मान दिलाइसकेको छ ।
सांस्कृतिक र साहित्यिक योगदान
पत्रिका प्रकाशनसँगै निबन्ध आचार्यले विविध गतिविधिको अगुवाइ गरेको देखिन्छ
२०७३ सालमा काव्य सप्ताह आयोजना गरी संकलित रकमबाट साहित्यिक संग्रहालयको पहल । २०७६ सालमा बीडी त्यागीका चार उपन्यासहरूको ऐतिहासिक विमोचन १५ मिनेटमै सम्पन्न । बालसाहित्य प्रवर्द्धनमा योगदान, महेन्द्र चालिसेका दुई बालकथा पुस्तक प्रकाशन । साहित्यकारलाई स्वास्थ्य उपचारमा सहयोग गर्न कबा साहित्यकार उपचार कोष स्थापना । यी सबै गतिविधिले आचार्यलाई साहित्य मात्र नभएर समाजसेवामा पनि सक्रिय व्यक्तित्वको रूपमा प्रस्तुत गरेको छ ।
संस्थागत नेतृत्व र नयाँ आयाम
पत्रकारिता र सम्पादनसँगै आचार्य संस्थागत नेतृत्वमा पनि सक्रिय छन् । सिम्पल आर्ट्स, बीडी त्यागी स्मृति केन्द्र र यात्री पुस्तकालयका संस्थापक महासचिव बनेर उनले साहित्य, कला र संस्कृतिलाई जोड्ने प्रयास गरेका छन् । सामाजिक सन्देश दिने उद्देश्यले निर्माण गरिएको `अटिजम´ चलचित्रको पटकथाकार र निर्माता पनि हुन् । व्यक्तिगत प्रयासमा पनि समाजमा संस्थागत र सामाजिक परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् ।
जीवन दर्शन र प्रेरणा
निबन्ध आचार्यको जीवन दर्शन सरल छ– `साहित्यकारलाई सम्मान गर्नु भनेको समाजलाई उज्यालो बनाउनु हो ।, उनका लागि साहित्य मनोरञ्जन मात्र होइन, चेतना, जागरण र समाजपरिवर्तनको साधन हो । यही सोचले उनलाई निरन्तर साहित्य सेवामा अगाडि बढाइरहेको छ । निबन्ध आचार्यको जीवनयात्रा प्रेरणादायी छ । एक व्यक्तिको अथक प्रयासले कपन बानेश्वर साहित्यिक साप्ताहिक जस्तो ऐतिहासिक अभियान सम्भव भएको हो । समर्पण, दृष्टि र निरन्तरता भए कुनै पनि सपना संस्थागत उपलब्धिमा रूपान्तरण गर्न सकिन्छ भन्ने उनी उदाहरण हुन् । अत: साहित्यिक पत्रकारिताको माध्यमबाट नेपाली साहित्य र स्रष्टाको स्तुतिमा समर्पित उनलाई सूचक साहित्यिक पत्रकारिता सम्मान-२०८१ अर्पण गर्न लागिएको छ । आचार्यलाई हार्दिक बधाई तथा शुभकामना ।
