सूचक प्रकाशनले विभिन्न व्यक्तिलाई सम्मान गर्ने
भदौ ३, २०८२, मङ्गलबार | साँझ ०६:३७ बजे | 450
काठमाडौँ, २०८२ भदौ — नेपाली भाषा, साहित्य, शिक्षा, संस्कृति र समाजसेवामा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सूचक प्रकाशनले यस वर्ष पनि सम्मान गर्ने भएको छ । सूचक प्रकाशन अन्तर्गत प्रतिभा चयन समितिका अध्यक्ष दीपक प्रसाद पाण्डेको नेतृत्वमा बसेको बैठकले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई छनौट गरेको हो । केदारनाथ–लीलादेवी शिक्षा सम्मान उदयपुरका शैक्षिक अभियन्ता लालबहादुर चौधरीलाई, केदारनाथ–लीलादेवी साहित्य सम्मान काभ्रेपलान्चोककी साहित्यकार रुबि सत्याललाई र सूचक–कृष्णबहादुर विशिष्ट साहित्य सम्मान काठमाडौँका साहित्यकार बिमल अर्याललाई प्रदान गरिनेछ । त्यस्तै सूचक विशिष्ट साहित्य सम्मान महोत्तरीका मणिराज सिंह, साहित्यिक पत्रकारिता सम्मान काठमाडौँका निबन्ध आचार्य, सूचक–पद्मादेवी साहित्य सम्मान पाँचथरकी विमला अधिकारी ‘विमला’ र सूचक साहित्य सम्मान इटहरीका जाकिर हुसैन (जैकी मौजाहु) लाई दिने निर्णय भएको छ । यसैगरी सामाजिक उत्तरदायित्व र सेवामा योगदानको कदर स्वरूप यस वर्षको सूचक स्वयंसेवी सेवा सम्मान काठमाडौँका समाजसेवी अनिल महर्जनलाई प्रदान गरिनेछ । सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ का अनुसार, सम्मान कार्यक्रमको उद्देश्य समाजमा सकारात्मक प्रभाव पार्ने र प्रेरणादायी योगदान गर्ने व्यक्तित्वलाई उजागर गर्नु हो । उनले भने, `हामी योगदानकर्ताको पहिचान मात्र होइन, नयाँ पुस्तालाई प्रेरणा दिने अभियान चलाइरहेका छौँ।´ सूचक प्रकाशनले विगतमा पनि साहित्य, समाजसेवा, शिक्षा, अध्यात्म र संस्कृतिसम्बन्धी विविध कार्यक्रममार्फत दर्जनौँ व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ ।
