'जिरीसिक्रीकाे सुसेली' एक कार्यक्रमबीच लोकार्पित


साउन १९, २०८२, सोमबार | विहान ११:११ बजे | 70


'जिरीसिक्रीकाे सुसेली' एक कार्यक्रमबीच लोकार्पित

कवि जिरेलको 'जिरीसिक्रीकाे सुसेली' लोकार्पित जीवनको ठूलो कालखण्ड दोलखामा शिक्षक भएर बिताउनुभएका कवि टेकबहादुर जिरेलको पहिलो कविता सङ्ग्रह 'जिरीसिक्रीकाे सुसेली' एक कार्यक्रम बीच आज काठमाडौंमा लोकार्पित भएको छ । भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ साहित्यकार अभि सुवेदी, शैलेन्द्र साकार,उषा शेरचन, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतका वरिष्ठ व्यक्तित्वहरूबाट सामूहिक रूपमा उक्त कृति लोकार्पित भएको हो । कार्यक्रममा कवि अनुपम रोसीसँगकाे अन्तर्सम्वादका क्रममा कवि जिरेलले पहिले पहिले आफूलाई साहित्यकार, कवि भनेर परिचित गराउँदा सङ्काेच लाग्ने गरेको भएपनि पुस्तक प्रकाशित भएपछि अब भने त्यस्तो सङ्काेच हटेको बताउनुभयो । कवितालाई कुनै पनि परिभाषामा बाँध्न नहुने मान्यता राख्नुहुने कवि जिरेलले जीवन जस्तो हुन्छ; कविता पनि त्यस्तै हुने भनाइ राख्नुभएको थियो । सो क्रममा वहाँले जिरीको प्रकृति, सौन्दर्य र त्यहाँका आदिवासी जिरेल जातिको बारेमा पनि परिचय दिनुभएको थियो । जीवनलाई रुग्ण हुनबाट बचाउन साहित्यकारले मात्र सक्ने हुनाले आफूलाई साहित्य र साहित्य सिर्जना गर्ने साहित्यकार मन पर्ने गरेको उहाँको भनाइ थियो । कवि जिरेलको कविता सङ्ग्रह 'जिरीसिक्रीकाे सुसेली' मा समेटिएका कविताबारे आफ्नो पाठकीय टिप्पणी प्रस्तुत गर्दै कवि ज्योति जङ्गलले वहाँका कविता सरलबाट शुरू हुँदै दर्शनतिर अघि बढेको बताउनुभयो । दोलखाको जिरी-सिक्रीको परिवेशलाई कविले काँधमा बोकेर हिड्नुभएको स्केच वहाँका कवितामा देखिएको वहाँको कथन थियो । आफ्नै माटोलाई माया गरेर माटैप्रति आफूलाई समाहित गर्ने कवि जिरेलको प्रस्तुत कृतिमा ७१ कविता समेटिएको वहाँले जानकारी दिनुभयो । "वहाँका कविताहरूमा मृत्यु, समाधि, जिन्दगीसँगकाे द्वन्द्व, कर्मठ युवा र उसको विदेश जानुपर्दाको पीडा, बुढ्यौली, देशप्रतिको माया, विछोडमय प्रेम आदि अभिव्यक्त भएका छन् ।" कवि ज्योति जङ्गलले भन्नुभयो । माटोलाई माया गर्ने रोडम्याप भएको प्रस्तुत कविता सङ्ग्रह जिरी चिनाउने महत्वपूर्ण कृतिका रूपमा आएको वहाँको भनाइ थियो । कार्यक्रममा हास्यव्यङ्ग्यकर्मी मनोज गजुरेलले पनि कवि जिरेलको कविता कृतिको सफलताको कामना गर्नुभएको थियो । पर्यटन प्रवर्द्धन मञ्च, नेपालको आयोजनामा भएको उक्त कार्यक्रमको सञ्चालन अमृत भादगाउँलेले गर्नुभएको थियो ।

 

Comments