टेकबहादुर जिरेलकृत कविता सङ्ग्रह ‘जिरीसिक्रीको सुसेली' लोकार्पित


साउन १९, २०८२, सोमबार | विहान १०:०४ बजे | 135


टेकबहादुर जिरेलकृत कविता सङ्ग्रह ‘जिरीसिक्रीको सुसेली' लोकार्पित

 

जयराम बिडारी

श्रावण

काठमाण्डौ दोलखालाई कर्मथलो बनाएका कवि टेकबहादुर जिरेलको कविता सङ्ग्रह 'जिरीसिक्रीको सुसेली' राजधानीमा एक विशेष कार्यक्रमका बीच आज लोकार्पित भएको छ । राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाकक्षमा आयोजित कार्यक्रमबीच वरिष्ठ साहित्यकार अभि सुवेदी, शैलेन्द्र साकार,उषा शेरचन, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतका वरिष्ठ व्यक्तित्वहरूबाट सामूहिक रूपमा उक्त कृति लोकार्पित गरिएको हो । कार्यक्रममा कवि अनुपम रोसीले कृतिकार जिरेलसँग अन्तर्सम्वाद गर्नुभएको थियो । सो क्रममा कवि जिरेलले कवितालाई कुनै पनि परिभाषामा बाँध्न नहुने मान्यता राख्दै भन्नुभयो; "जीवन जस्तो हुन्छ; कविता पनि त्यस्तै हुन्छ ।" जीवनलाई रुग्ण हुनबाट बचाउन साहित्यकारले मात्र सक्ने हुनाले आफूलाई साहित्य र साहित्य सिर्जना गर्ने सर्जक मन पर्ने गरेको उहाँको भनाइ थियो । कुख्यात अपराधी चार्ल्स शोभराजलाई कुनैबेला थाहै नपाएर आफ्नो घरमा पाहुना बनाएर राखेको रमाइलो प्रसङ्ग पनि सुनाउँदै जिरेलले भन्नुभयो; "प्रहरीले उसलाई समाते पछि मात्र त्यो मान्छे अपराधी रहेछ भन्ने थाहा पाउँदा झसङ्ग भएको थिएँ !" उक्त कार्यक्रममा कवि जिरेलको कविता सङ्ग्रहमा समेटिएका कविताबारे कवि ज्योति जङ्गलले आफ्नो पाठकीय मन्तव्य राख्नुभएको थियो । आफ्नै माटोलाई माया गरेर माटैप्रति आफूलाई समाहित गर्ने कवि जिरेलका कविताहरूमा मृत्यु, समाधि, जिन्दगीसँगको द्वन्द्व,कर्मठ युवा र उसको विदेश जानुपर्दाको पीडा,बुढ्यौली, देशप्रतिको माया, विछोडमय प्रेम आदि अभिव्यक्त भएका छन् ।" उहाँले भन्नुभयो । कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले पनि कवि जिरेलको कविता कृतिको सफलताको कामना गर्नुभएको थियो । पर्यटन प्रवर्द्धन मञ्च, नेपालको आयोजनामा भएको उक्त कार्यक्रमको सञ्चालन अमृत भादगाउँलेले गर्नुभएको थियो । कवि जिरेल दोलखाका सुपरिचित शिक्षासेवी, पूर्वप्रधानाध्यापक एवं समाजसेवीका रूपमा पनि परिचित हुनुहुन्छ ।

Comments