गणेशकृत रास रामायण र श्री गणेश बहादुर कर्माचार्यज्यूको स्तप्रयास


साउन १२, २०८२, सोमबार | दिउँसो १२:४३ बजे | 130


गणेशकृत रास रामायण र श्री गणेश बहादुर कर्माचार्यज्यूको स्तप्रयास

डा इन्दुल केसी
१. प्राक्कथन
क) रामायण भन्ने शब्द सुन्ने वित्तिकै हाम्रो मन तरङ्गित हुन पुग्दछ । शब्द नै शक्ति हो, हाम्रो मनलाई स्मृतिमा डो¥याउने । स्तरीय स्मृतिले हामीलाई स्तरीय भावावस्थामा पु¥याउँछ । स्तरीय भावावस्था नै आनन्दावस्था हो र त्यही नै हामी सबैको अभीष्ट पनि हो ।
    यति प्रस्थापना गरिसकेपछि स्वभाविक खल्दुली हुन्छ नै के हो त त्यो रामायण भनेर । हो, रामायण हिन्दू अध्यात्म साहित्यको पुस्तकालय भित्रका अनेकौं जीवन– दापिनी ग्रन्थमध्येको एक ग्रन्थ ।
    सनातन अध्यात्मले वर्तमान जीवन र त्यसपछि पनि रहने जीवनको निश्चयना गरेको छ । यसरी दुवै जीवनको उत्तम गति नै जीवनको लक्ष्य हो र हुनुपर्छ भन्दै जीवन जिउने कलाको स्मरण हामीलाई गराई रहेको छ । त्यही स्मरण गराउने क्रममा महान मनिवी, ऋषि बाल्मीकीले हामीलाई दिनुभयो रामायण ।
    ऋषि बाल्मीकीले आफ्नो दिव्यदृष्टिद्वारा संस्कृतभाषामा रचना गर्नुभएको रामायण साहित्यिक दृष्टिले उच्चस्तरीय कृति त हो नै साथसाथै त्यसमा रहेका कथाहरूले त्यसका श्रोताहरुलाई निकै नै प्रभावमा पार्दै आइरहेको छ । यस रामायण कथाको प्रभाव यतिसम्म पर्न गयो की यसै प्रकारको कथा जैन धर्मग्रन्थमा र बौद्ध धर्मग्रन्थहरुमा समेत जैन रामायण र बौद्ध रामायणको रुपमा पनि रचना भएका छन् ।
    रामायणको लोकप्रियता यतिसम्म रहन गयो की सबै धार्मिक, साहित्यिक व्यक्तित्वहरुले आ–आफ्नो भाषामा रामायण लेख्ने चलन चल्न थाल्यो ।
    भारतवर्षमा रहेको सबैजसो भाषामा यस रामायण कथाको प्रचार प्रसार भएको पाइन्छ । सोही क्रममा भारतमा श्रीमद्गोस्वामी तुलसीदासले श्रीराम चरित मानसको नाम दिएर रामायण कथालाई अवधि, भोजपुरी, मैथिली र ब्रजभाषीहरुसमेतले बुझ्ने गरी तत्तत् भाषाहरूमा लेखिएका रामायण कथा हामीलाई दिनुभयो ।
    अब आएर नेपालमा समेत हाम्रा आदिकवि भानुभक्त आचार्यले नेपाली झ्याउरे लयमा रामायणको रचना गरेर नेपाली भाषीको घरघरमा रामायणलाई पु¥याउने काम गर्नुभयो ।

ख) यसै क्रममा भक्तपुर नगर यालाछें त्वा (खिंछे) का श्री गणेश बहादुर कर्माचार्य (खिं छें महाजन)ज्यूले विक्रम सम्वत् २०३० सलमा श्री रामाम्रत गणेशकृत रास रामायण नेपाल भाषामा रचना गर्नुभएको थियो ।

२) यस गणेशकृत पुस्तकको विशेषता
    यस पुस्तकमा जम्मा १०८ वटा भजन रचनाहरु रहका छन् । प्रत्येक भजनमा भजन गायनको लागि लय (तरज) वृज भाषामा रहेको रास भजनहरुका लयको प्रयोग गरिएको पाइन्छ । रास भजनको प्रचलन ब्रजमा प्रचलित ब्रज भाषामा लेखिएका भजनहरूलाई रास भजनको नामाकरण गरेर काठमाडांै उपत्यकामा खासगरी भक्तपुरमा गायन गर्ने गरिएको पाइन्छ ।
    काठमाडौंको मरुटोलमा रहेको सिंहसतलबाट रास भजनको शुरुआत भएको देखिन्छ । साथै ललितपुरको कृष्ण मन्दिर क्षेत्रमा पनि यसै प्रकारले रास भजनहरु गायन गर्ने गरिएको पाइन्छ ।
    भक्तपुरमा रास भजन वंशिगोपाल रासभजन, वंशगोपाल, श्याम सुन्दर रास भजन मण्डल, नासमना, राम भूmपडी, गोलमढीमा र दत्तात्रयको भजनमा ब्रजभाषामा रासहरू अहिलेसम्म पनि गायन गरिँदै आएको छ ।

३) श्री गणेश बहादुर कर्माचार्यज्यूको सत्प्रयास
    श्री गणेश बहादुरज्यूले आफूले रचना गरेको यस भजनलाई व्यापक गराउने क्रममा एउटा गायन टोली नै खडा गर्नुभएको थियो । यस गायन टोलीका सदस्यहरुमा इटाछेंका श्री नारायण सुन्दर भोमी, त्रिपुरा सुन्दरी तुलाछेंका श्री नन्दलाल कर्माचार्य, श्री छोरी बसन्ती कर्माचार्य, सुकुलढोकाका श्री रामजी वैद्य हुनुहुन्थ्यो । 
    यी टोली सदस्यहरूलाई श्री रामामृत रास रामायणमा रहेको नेपाल भाषाका रास भजनहरु गायन गराउनको लागि माथि उल्लिखित भजनमण्डलहरूमा व्यवस्थित तवरले सिकाउनु हुन्थ्यो र नेपालभाषामा रहको रास भजनलाई प्रचार प्रसार गर्न गराउन निरन्तर लागि रहनुहुन्थ्यो । यी टोलीलाई भक्तपुरमा मात्र सिमीत नराखी काठमाडौं र ललितपुरमा समेत विस्तार गर्नुभएको थियो । त्यस समयमा यस, भजन गायन निकै व्यापक प्रचार भएको थियो । कालान्तरले गर्दा हालमा भने यसको प्रयोग भइरहेको यस पंक्तिकारले पाएको छैन ।
    श्री नारायण सुन्दर भोमीका सुपुत्र तथा श्री नन्दलाल कर्माचार्यकी सुपुत्रीसमेतले आफ्नो पूर्खाको बिंडो थाम्दै बाद्यवादनको प्रयोग गर्दै अन्य भजन गायनमा लागिरहनु भएको छ ।
    हामीलाई थाहा नै छ, भजन गायन भगवानको भक्ति त हो नै, साथसाथै आ–आफ्नो पहिचानको सम्बद्र्धन गर्ने कला, साहित्य र संस्कृतिको सेवक पनि हो ।
    यस पुस्तकमा रामायणको लीला मात्र नभएर भगवान कृष्णका लीलाहरुको समेत उल्लेख गरेको पाइन्छ ।
    यस गणेशकृत् रास रामायण पुस्तकमा गायनको महत्वमा प्रकाश पार्दै इन्द्रको राजसभामा अप्सराहरुको नृत्य, गन्धर्वहरुको वाद्यवादन सहितको भगवान राम र कृष्णको लीला गायन गरिने बताइएको छ । यतिमात्र नभएर हामीले यात भूमण्डलमा जहाँ–जहाँ रास रामायण गायन गर्दछौ, त्यहाँ–त्यहाँ इन्द्रको सभा सदस्यहरु नै हामो गायन सुन्न आउने कुरा बताइएको छ ।
    यस पुस्तकको रचनातर्फ दृष्टि पु¥याउँदा श्री गणेश कमाचार्य भगवानको भक्तमात्र नभएर साहित्यिक व्यक्तित्व समेत भएको स्पष्ट झल्किन्छ ।
    पुस्तकको प्रारम्भमा मंगलाचरणमा भगवान गणेशको भजन प्रस्तुत गरिएको छ । गणेश भगवानको स्तुती गायन पछि अयोध्या काण्ड, अरण्य काण्ड, किष्किन्धा काण्ड, सुन्दर काण्ड, लंका काण्ड, उत्तर काण्ड, लवकुश काण्ड र आरति गजल ताल धमालमा प्रस्तुत गर्नुभएको छ ।
    पुस्तकको अन्तिम पृष्ठमा यस पुस्तकको रचना आजभन्दा ६० वर्ष अगाडि वि.सं. २०३० सालमा उल्लेख भएको पाइन्छ । स्थानीय व्यक्तिहरुको संस्कृत, हिन्दी र नेपाली भाषामा पकड नभएको तर आफ्नो मातृभाषामा व्यवहार चलाउन सक्षम नेवार जातिलाई आफ्नै मातृभाषामा भगवानको लीलाकथा श्रवण र गायन गराउन सफल हुनुभएका श्री गणेश कर्माचार्यले गर्नुभएको पुण्यदान स्मरण गर्दै म पनि कृतकृत्य भएको छु । 

अन्तमा,
    यस प्रकारको महत्वपूर्ण कृति रचना गर्ने व्यक्ति इतिहासको पानामा अंकित हुनुभएको छ । यसका साथै उहाँले तयार पार्नु भएका माथि उल्लेख भएका व्यक्तिहरूसमेत धन्यवादका पात्र हुनुहुन्छ     ।
    यद्यपि यो भजन अहिले लुप्तप्राय अवस्थामा छ, तापनि सबै संलग्न व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । अबको मेरो अमिलाषा के छ भने भक्तजनहरुलाई यस कृतिको पूनः एकपटक विभिन्न भजन मण्डलहरुमा प्रयोग गर्दै यस भजनको पूनर्जागरणका लागि प्रयास गर्नु र परम्परा प्राप्त पुण्यदान गर्नोस् भन्ने छ । र साथसाथै, रामचरितमानस ग्रन्थ हालमा नेपालमा नै पनि सस्तो मूल्यमा पाइन्छ । हालमा, स्वामी तुलसीदास रचित ग्रन्थ, श्री हनुमान प्रसाद पोद्दारको टीकासहित पाइन्छ । सो ग्रन्थ केदारनाथ दासज्यूले नेपालीमा र नाम नदिइकन नै अंग्रेजीमा अनुवाद गर्नुभएको छ । यी दुबै ग्रन्थ श्री गीताप्रेस गोरखपुरबाट प्रकाशित भएको छ ।
    यसप्रकारको धर्मकार्यमा लाग्ने हामी सबैलाई भगवान श्रीरामले कल्याण गरुन् । 
जय सियाराम ।

Comments