चन्द्रागिरि साहित्य सरोवरको ४५औं श्रृङ्खला भानु विशेषको रुपमा सम्पन्न


साउन ११, २०८२, आइतबार | विहान १०:१४ बजे | 250


चन्द्रागिरि साहित्य सरोवरको ४५औं श्रृङ्खला भानु विशेषको रुपमा सम्पन्न

जयराम बिडारी

श्रावण ,काठमाण्डौ

चन्द्रागिरी साहित्य सरोवरको ४५औँ श्रृङ्खला भानुभक्त आचार्य स्मृति विशेष प्रस्तुतिका रूपमा रचना वाचन गरी सम्पन्न गरियो । चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ तीनथानास्थित मुनाल क्लवमा आयोजित कार्यक्रम भानु प्रतिष्ठानका महासचिव डा. रमेश शुभेच्छुको प्रमुख आतिथ्य तथा सरोवरका अध्यक्ष गोपीचन्द्र कार्कीको अध्यक्षताका साथै अन्य अतिथिहरूमा साहित्यकार तथा फित्कौली डट.कमका सम्पादक नरनाथ लुइँटेल, साहित्यकार तथा भानुभक्तका बंशज विधान आचार्य, कवि एवं प्रशिद्ध हास्यव्यङ्ग्यकार डम्बर घिमिरे,तथा कवि तथा साहित्यकार उत्तम ‘विचार’ भेटवालको आतिथ्य लगायत तीन दर्जन जति साहित्यानुरागीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अभ्यागत डा. रमेश शुभेच्छुले नेपाली भाषा र साहित्यका क्षेत्रमा आदिकवि भानुभक्तको योगदान विशिष्ट रहेको उल्लेख गर्दै भानुभक्तलाई संसारभर बुद्ध पछि सवैभन्दा बढि चर्चाको पात्रको रुपमा सम्मान गरिने बताए । उनले आफू साहित्यको विद्यार्थीका नाताले भानुभक्तलाई चेतना र आदर्शका संवाहकका रुपमा बुझ्नु जरुरी रहेको बताए । वधुशिक्षा तत्कालीन समयको एक क्रान्तिकारी कविका रुपमा भानुको सम्झना गर्नु वाञ्छनीय रहेको र वधुशिक्षा त्यसैको एक प्रमाण रहेको बताउँदै वर्तमान अवस्थासंग तुलना गर्नु उचित नहुने विचार व्यक्त गर्दै कार्यक्रममा वाचित रचनाहरुको साङ्गोपाङ्ग समीक्षा गरेका थिए । उक्त अवसरमा संक्षिप्त विचार व्यक्त गर्दै कवि तथा साहित्यकार एवं फित्कौौलीका सम्पादक नरनाथ लुइँटेलले हास्यव्यङ्ग्य क्षेत्रमा भानुभक्तका न्यून रचना भएपनि आदि हास्यव्यङ्ग्यका मौलिक र आदि पंक्तिकारका रुपमा उनलाई बुझ्न सकिने विचार व्यक्त गरे । यसैगरी प्रशिद्ध साहित्यकार एवं भानुभक्तका बंशज विधान आचार्यले श्रीकृष्ण आचार्यका ६ भाई छोराहरु धनञ्जय,काशीनाथ,पद्मनाभ,तुलसीराम गङ्गादत्त र इन्द्रविलास आचार्यका नालीबेली बताए । उनले भानुभक्तिय रामायण सिर्जना गर्ने क्रममा भानुले आदि रामायणको कथानक मात्र लिएर मौलिक सिर्जना प्रस्तुत गरेको बताए । उनले भानुभक्तिय रामायण बाहुनहरुका माझ मात्र नभई लालबहादुर गुरुङ जस्ता जनजातिले समेत राम्रोसंग गाथा गाउन सक्ने भएकाले यो सवै जातजातिको साझा धरोहरको रुपमा रहेको समेत बताए । रामायणलाई आजकल समाजमा यदाकदा स्तुतिगानका रुपमा चित्रित गर्न खोजिएको देखिएतापनि यथार्थमा त्यसो नभएको र रामले बालीलाई लुकेर मारेको प्रसंगमा भानुभक्तले रामलाई खसालेको भाषा प्रयोग गरिएकोले भानुभक्तिय रामायणलाई स्तुतिगान भन्न नमिल्ने समेत उल्लेख गरे । सूर्य विक्रम ज्ञवाली लगायत कतिपय विद्वानहरुले लेखेका रामायणमा फरक प्रसंगहरु पाइएकोले प्रभा भट्टराई र आफूले समेत भानुभक्तिय रामायणलाई संयुक्त रुपमा जस्ताको तस्तै पुनर्सम्पादन गरेको समेत बताए । सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष गोपीचन्द्र कार्कीले स्थानीय स्तरका साना देखि पाका उमेरका स्रष्टाहरुका सिर्जनालाई साहित्य सरोवरका माध्यमबाट उजागर गर्नु नै मुख्य उद्देश्य रहेको बताए । उनले सरोवरको आगामी ५०औं श्रृङ्खलालाई विशेष कार्यक्रमका साथ मनाउने योजना रहेको बताउँदै कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाई दिनुहुने प्रमुख विशिष्ट र सम्पूर्ण साहित्यानुरागी महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा सुभद्रा महत,काशीराज सुवेदी,कृष्ण आचार्य,हरीशरण आचार्य,उत्तम ‘विचार, भेटवाल कृष्णहरि बस्नेत,बालकवि सम्पन्न पौडेल,सौग़ात खनाल,सरिता पराजुली,श्रीकृष्ण भारती,रुबि सत्याल,मालता बेलबासे,नानीबाबा अधिकारी, सीताराम नेपाल,सुदन लुइँटेल,डम्बर घिमिरे,अखण्ड केसी,साम्भवी आचार्य, साम्राज्ञी आचार्य,दर्पण कार्की,तथा जयराम बिडारी लगायतले रचना वाचन गरेका थिए । रामशरण थापाद्वारा सहजीकरण गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

Comments