नेवाः बस्तीको सौन्दर्यः फल्चा
साउन १०, २०८२, शनिबार | दिउँसो १२:१५ बजे | 245
सृजना प्रजापति
(पेशाले आर्किटेक्ट प्रजापति हाल नेपाली इतिहास,
संस्कृति र पुरातत्व विभाग, त्रि.वि.मा पि.एच.डी.
गर्दैछिन् र मेथड कन्सल्टेन्सी, भक्तपुरमा आबद्ध छिन्।)
पृष्ठभुमी
फल्चा÷पाटी र सत्तलहरू काठमाडौ उपत्यकाको नेवाः बस्तीका उत्कृष्ट संरचना मध्ये पर्दछ । बटुवा, पाहुनाहरूलाई आराम गर्न बनाइएका यी संरचना अहिले बस्तीको सौन्र्दर्यको रूपमा हुन गएको छ । पुराना बस्तीमा जमघट र बिशेष गरि जेष्ठ नागरिकहरूलाइ साथीभाइ भेटघाट गर्ने सामाजिक स्थानको परिचय पनि हुन गएको छ । पानी पर्दा ओत लाग्ने, थकाइ लाग्दा आराम गर्ने र नगरका भजन, जात्राहरूमा पनि फल्चा बिशेष रूपमा प्रयोग हुन्छ । फल्चा काठमाडौ उपत्यकाको नगर बिकासको उत्कृष्ट संरचना बनेको छ । नेवा शैलीको बस्तीमा नगर भित्र र बाहिर फल्चाहरू जताततै पाइन्छन् । अझ पहिलाको ब्यापारिक मार्गहरूमा केही दूरीमा फल्चा सँगै लोहहिती÷ ढुङ्गेधारा समेत भेटीन्छन् । बटुवालाई थकान मेट्न फल्चा र प्यास मेट्न हितीको ब्यवस्था गरिएका थिए । नगर भित्र भने फल्चा सँग हिती, खुल्ला स्थान, मन्दिर, चैत्य र पोखरी समेत हुन्छन् । सिचुफल्चा, ज्याख्व फल्चा, लोह फल्चा, न्याट्टे फल्चा, बिडोल फल्चा, लान्चा फल्चा, वर्केपली आदि भक्तपुरका केही फल्चाका नामहरू हुन् । कतिपय फल्चाहरू संरक्षणको अभावमा र भूकम्पमा भत्केपछि पुनर्निर्माण नगरिएका कारण लोप भएर गए । बिशेष गरि शाह र राणा कालमा यसको संबद्र्धन र प्रबद्र्धन हुन सकेन । नयाँ त बनाइएन नै पुरानो मल्लकालिन फल्चा समेत मासे । बरू भक्तपुर नगरपालिकाले झन्डै लोप भइसकेका फल्चाहरूलाई पुनर्जीवन दिन थालेका छन् । उदाहरणका रूपमा बंशगोपाल फल्चा, साकोलान, तचपालको फल्चा आदि ।
इतिहास र अभिलेखमा पाटी
पाचौं शताब्दी भन्दा अगाडी बनेको काष्ठमण्डपले लिच्छवीकालदेखि नै पाहुना राख्ने सार्वजनिक भवन बनाउने प्रचलन रहेको देखाउँछ । हुनत फल्चा निर्माण धेरै अगाडी देखि सुरु गरिएको हुनुपर्छ । तर हाल बाँकी रहेका फल्चाहरुको शिलालेखहरु हेर्ने हो भने अधिकांश मल्लकालिन समयमा नै बनेको देखिन्छ । त्यस समयका शिलालेखहरु अध्यायन गर्दा अधिकांश फल्चाहरू सर्वसाधारणले नै बनाएको देखिन्छ । किर्ति राख्ने र धर्म कमाउने उद्देश्य रहेको भएतापनि सर्वसाधारणलाई खुल्ला राखिने हुँदा यो सामाजिक र लौकिक कार्य नै देखिन्छ । ने.सं. ७५१ मा बनाइएको सुर्यमढी भक्तपुरको एक पाटी तचपा टोलका विषमसिंह दर्शनधारिले बनाएका हुन् (राष्ट्रिय अभिलेखालय, २०८०)। यस अभिलेखले पाटी बनाउने मान्छे माथिल्लो वर्ग नै हुनुपर्छ भन्ने रहेनछ भनेर समेत देखाउँछ । त्यस्तै अर्को भक्तपुरकै जेलाँ टोलमा रहेको एक पाटीको अभिलेख पनि विशेष नै छ । यस अभिलेखमा ने. सं. ८२९ मा टोल नायक र पञ्च भलाद्मी मिलेर यो पाटी जिर्णोद्वार गरिएको कुरा उल्लेख छ । (राष्ट्रिय अभिलेखालय, २०८०) । यस अभिलेखमा नेपाल संवत्लाई साख्वा संवत् भनि कुँदिएको छ । जसले शंखधर साख्वा (सर्वसाधारण व्यापारी)ले नेपाल संवत् बनाएको हो कि होइन भन्ने शंकालाई निवारण गर्न मद्दत गर्छ ।
फल्चाको बनावट
नेवाः वास्तुकलामा बिजोर संख्यालाई शुभ मानिएजस्तै फल्चाको कवल पनि प्रायः विजोरमै निर्माण गरिन्छ । छक्व (एक कवल), स्वक्व (तीन कवल), ङाक्व (पाँच कवल) र न्हेक्व (सात कवल) फल्चाहरू अधिकांश देख्न पाइन्छ । सत्तलको तलको खुल्ला फल्चाको रूपमा लायकु÷दरबार क्षेत्रका संरचनामा धेरै कवलहरू छन् । तर फल्चा नै भनेर बनाइएकोमा वर्गाकारमा सोहखुट्टे र लामोमा नौ कवलसम्म भएको फल्चा पाइन्छन् । कहींकतै दुई कवल (जोर) मात्र भएका फल्चाहरू पनि भेटिन्छन् । ति अत्यन्तै नगन्य मात्र रहेका छन् । चौडाइमा निकै कम करिब डेढ÷दुई फिटको मात्र भएकोले टौमढीको जंगम मठको पाटीलाई सबैभन्दा सानो फल्चा भन्ने गरिन्छ । मल्लकालिन शैलीका फल्चामा सबैभन्दा बढी प्रचलित तीन कवलवाला फल्चा हो । यी फल्चाहरु शहरी बाटोको दिशा हेरि कतातिर मोहडा बनाउने निर्धारण गरिन्छ । थोरै फल्चामात्रै चारैतिर खुल्ला हुन्छ । बढी प्रचलित तीन कवलवाला फल्चा चौडाइ तर्फ एक कवल मात्रै हुन्छ । अवस्था हेरी यसका छानाहरू एक, दुइ, तिन वा चार पाखे निर्माण गरिन्छ । कवलका आधारमा धेरै प्रकारका फल्चा छन् भने भक्तपुरको पुरानो नगर भित्र र बाहिर बनाउने हिसाबले तीन प्रकारका फल्चा हुन्छन् । त्यतिबेला देश भन्नाले नगरभित्र बनाउने फल्चा, पाली फल्चा (आफ्नै घर मुनि गासिँएकै) र शहर बाहिर बनाउने पली फल्चा आदि हुन् । प्रकार्यगत (ँगलअतष्यलब)ि हिसाबमा देश बाहिर बनाइने फल्चामा ढुङ्गा विछ्याइएका हुन्थे । नगर भित्रका फल्चामा भने काठ नै विछ्याइन्थे । अरु बनौट उस्तै भएतापनि नगर बाहिरका फल्चामा एउटा कोठा जस्तै छुट्याएर गारो लगाइएका हुन्थे । यसरी नगर बाहिरका फल्चालाई पली फल्चा भनिन्थ्यो । यसको उद्देश्य÷प्रकार्य पहिला हिँडेर जाने समयमा बाँस बस्नुपरेमा प्रयोग गर्नु थियो । त्यस्तै खाना पकाएर खानु परेपनि आगोले असर नगरोस् भनि ढुङ्गानै बिछ्याइन्थे ।
संरचनागत रूपमा हेर्दा फल्चालाई तीन भागमा विभाजन गर्न सकिन्छ । ती जमिन तहको गारोको भाग (प्लिन्थ लेभलसम्म), बिचको थांः (थाम) हरू हुने भाग र माथिल्लो छानाको भाग हो । यी बाहेक जग र पेटीको भाग पनि यसका अंगहरू नै हुन् । जमिन तहको गारोको भागमा पेटी, नागो, न्हेकंलोह, र बिचको गारो हुन्छ । पहिले पहिले मुनिको ओस माथी नआओस् वा गारो भित्रको भागमा हावा आवतजावतको लागि गारोमा प्वाल÷ग्वाखंप्वाः वा एकातिरको गारो नबनाइ खुल्ला राखिन्थ्यो । अहिले भने गारो र लाकांसीको बिचमा थोरै (१” जति) नबउ राख्ने गरिन्छ । गारोको भागको माथिल्लो तहमा फल्चामा लाकांसी (नेपाल भाषाको शब्द, लाकांको अर्थ जुत्ता र ’सीः’ को अर्थ काठ) र पली फल्चामा ढुङ्गाको लहर विछ्याइन्छ । यो भागको उचाई मान्छे बस्न मिल्ने गरि राखिन्छ । तीन मध्ये बिचको भागमा थांहरू र गारोको संयोजन हुने गर्छ । प्रायः तीनतिर खुल्ला र एकातिर गारो लगाइन्छ । थांहरूलाई मुनि विछ्याइएको लाकांसी माथी ठड्याइन्छ । जोर्नी बाहिर बाट देखिदैन तर लाकांसीमा १”ह्१” को प्वाल बनाइ थांमा अलिकति काठको भाग निकालिएकोलाइ छिराएर ठड्याइन्छ । यसको माथी मेथ हुन्छ र त्यसमाथी निल जोडिन्छ । थांहरूमा निकै सादा देखि पुरा बुट्टा पनि हालिएको हुन्छ । पुरा लम्बाइमा बुट्टा हालिएका थाम कमै भेटिन्छन्, भने तीन भागको एक भाग जति बुट्टा हालिएका थामहरु थुप्रै भेटिन्छन् । यही भागमा फल्चाको प्रयोग गर्ने स्थान हो । त्यसैले फल्चाको बीचमा काठ र पली फल्चामा ढुङ्गा विछ्याइन्छ ।
तेस्रो र महत्वपूर्ण छानाको भाग हो । यो प्राविधिक रूपमा पनि मिलाउन गाह्रो भाग हो। यसमा बाहिर झिंगटी देखिएपनि भित्र पुरै काठको संरचना हुन्छ । जसले झिंगटीको भार थाम्छ र यहाँ बस्नेहरुलाई घाम, पानीले बचाउँछ । सिकमीःले जति मेहनत गरेर सहि (बअअगचबतभ) संरचना बनाउँछ त्यति नै दकमीः लाइ झिंगटी बिछ्याउँदा उबडखाबड हुँदैन । छाना जति उत्कृष्ट (उभचाभअत) भयो फल्चाको आयु उति नै बढ्छ । किनकि फल्चाको मुख्य समस्या नै भूकम्पमा यो भाग गह्रौ भएर भत्कने र पानी पर्दा उबडखाबडमा पानी जमेर चुहिने हो । जमेको पानी बिस्तारै भित्र भित्र फैलन्छ । यसले माटो र काठको संरचनालाई बिगार्छ । छानाको संरचना नेवाः घरको छाना जस्तै हुन्छ । यसमा निल, थां, टोनसी, मुसीं, सिपुबालाको संयोजन रहन्छ । नगर भित्रका कुनै फल्चाहरूमा यो भागमा पनि चारै तिर गारो लगाई अलिकति उचाई बढाइन्छ । जहाँ भजनका सामानहरू भण्डारण गर्न प्रयोग गरिन्छ । यो शैली पनि काठमाडौं उपत्यकामै फल्चाको विकासक्रम सँगै नयाँ उद्भव (भखयखिभम) भएको हुनुपर्छ ।
सम्पदा निर्माणमा पनि कमिसनकै खेल
चाँगुनारायण नगरपालिकाको भर्खरै सकिएको फल्चामा नाम नबताउने सर्तमा एक निर्माणकर्मीले कमिसनको खेल बारे बताए । पहिले उनि आधुनिक ढलान घर नै बनाउथे । अहिले परम्परागत कामको पनि फेसनजस्तै चलेकोले केही वर्षदेखी उनी यस कार्यमा संलग्न रहेका थिए । यही क्रममा सोहि फल्चा बनाउने प्रस्ताव उनलाई आयो । उनले आफ्नो अनुभवको आधारमा प्रस्ताव स्विकारे । तर बाइस लाखको बिलमा सही गरेर सम्पूर्ण लागत सहितको बाह्र लाख मात्र भुक्तानी पाए । “किन त्यस्तो गर्नुप¥यो?” भनि सोध्दा, “नभए काम पाउनै सकिदैन ।” भन्ने जवाफ दिए । यसरी लागत भन्दा झण्डै आधा भुक्तानी पाएपछि निर्माण सामग्री र श्रममा गुणस्तर कसरी कायम होला ?
यहीँ प्रश्न गर्ने खालको एक तस्बिर (महर्जन, २०८२) आजकल भाइरल भइरहेको छ । जसमा भक्तपुरमा बनेको फल्चाको लागत बाह्र लाख र काठमाडौमा हाल बस बिसौनीका रूपमा बन्दै गरेको फल्चाको लागत ३१ लाख भनि देखाइएको छ । अढाइ गुणा लागत बढेपछि प्रश्न उठ्नु त स्वाभाविक नै हो । यसरी प्रश्न उठेपछि दुवैको इस्टिमेटहरू तुलना गर्नेपर्छ । काठमाडौंको दर रेटमा ज्यामीको ज्याला, निर्माण सामग्रीको मूल्य नै बढी छ कि ? वा गुणस्तरिय सामग्री पो प्रयोग भयो कि ? यता भक्तपुरको निर्माण सामग्री पनि एउटै गुणस्तरको हो कि होइन ? हुनत भक्तपुरमा कतिपय सामाजिक संरचना वा सम्पदाको कार्यमा जनसहभागिता (श्रमदान) हुने गर्छ । तर त्यसको समेत मूल्याङ्कन गरेपछि लागत अढाई गुणा बढ्छ कि बढ्दैन ? अब स्थानियले आफैले लागतमा मात्र नभई गुणस्तरमा, टिकाउपनमा, अनुकुलतामा पनि नियाल्दै जानुपर्छ । स्थानियहरूको सहभागिताले लगानी घट्छ र कामको जाँच भई गुणस्तर बढ्छ । त्यसैले सामाजिक सञ्जालमा मात्र प्रश्न उठाउने होइन आफै उपभोक्ता समिति गठन गरि निस्वार्थ कार्य गर्न पनि अघि सर्नुपर्छ ।
निष्कर्ष
यसरी हाम्रो परम्परागत र सामाजिक संरचनाहरूमा स्थानियले नै अपनत्व बनाउनुपर्छ । हेरचाह र मर्मत÷जिर्णोद्वार गर्नुपर्छ र कमिसनको खेलबाट जोगाउनु पर्छ । फल्चा हाम्रो समाजलाई मात्र नभई हरेक अन्जान बटुवा र पर्यटकलाई समेत ओट दिने संरचना भएकोले नयाँ बस्तीहरूमा समेत बनाइनु पर्छ । बरु नयाँ बस्तीमा थप सुविधा समेत र किफायति हिसाबले बनाउन सकिन्छ ।
सन्दर्भ सामग्रीः
महर्जन, सुरज (२०८२), को फेसबुक बाट ।
राष्ट्रिय अभिलेखालय, (२०८०), भक्तपुरका मध्यकालीन अभिलेख, नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, राष्ट्रिय अभिलेखालय ।
.jpg)