४ जिपिए ल्याएका निशेष सम्मानित


असार २९, २०८२, आइतबार | विहान ०९:१० बजे | 190


४ जिपिए ल्याएका निशेष सम्मानित

ॐ ज्ञान मन्दिर स्कुलले ४ जिपिएसहित एसईई परीक्षा उत्तीर्ण गरेका निशेष पौड्याल सम्मान गरेको छ । विद्यालय कै प्राङ्गणमा आयोजित विशेष सम्मान समारोहका बीच उनलाई रु. १० हजार राशीसहितको स्व. रामप्रसाद सुवेदी स्मृति पुरस्कारले उनलाई सम्मान गरेको हो ।

सोही सम्मान समारोहमा शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा A+ जिपिए ल्याएका अन्य १९ विद्यार्थीलाई समारोहका प्रमुख अतिथि एवम् हिसानका पूर्वअध्यक्ष, सी बर्ड कलेजका चेयर पर्सन एवम् ॐ ज्ञान मन्दिर स्कुलका चेयर पर्सन शिवकृष्ण श्रेष्ठ, विद्यालय व्यस्थापन समितिकी अध्यक्ष महेश्वरी सुवेदी, पत्रकार महासङ्ग नेपाल, भक्तपुर जिल्लाका सभापति सुन्दर शिल्पकार र सोही विद्यालयका प्रिन्सिपल सुबास थापाले सम्मान गरेका थिए ।

प्रमुख अतिथि शिवकृष्ण श्रेष्ठले समारोहलाई सम्बोधन गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउनुपर्ने जिकिर गर्दै, देशलाई सङ्क्रमणको सिकार बन्न नदिन अभिभावक र विद्यार्थीले अहम् भूमिका निर्वाह गर्न अनुरोध गरे । उनले कक्षा १२ पछि विदेशमा पढ्न पठाउने क्रमउपक्रम नरोकिए देश युवाविहीन र चाँडै नै परतन्त्रको सिकार हुने तथ्य जानकारी गराउँदै नेपालमा रोजगारमुखी शिक्षाको विकास भइसकेकाले अब सबैलाई आफ्नै देशमा अध्ययन गर्न सुझाव दिए । समारोहलाई सम्बोधन गर्दै ४ जिपिए ल्याएर विद्यालयको सर्बोकृष्ट विद्यार्थी बनेका निशेष पौडेलले निरन्तर अध्ययन, गुरुप्रतिको सकारात्मकता, आशावादी चिन्तन र अध्ययनप्रतिको लगाव नै सो नतिजाको रहस्य रहेको बताउँदै अन्य विद्यार्थीलाई निरन्तर अध्ययन गर्न सुझाव दिए । त्यस्तै, अभिभावक प्रतिनिधि सुरेश बस्नेतले ॐ ज्ञान मन्दिर शैक्षिक गुणस्तरका लागि उत्कृष्ट गन्तव्य रहको बताए । उनले महङ्गो र ठूलो भनेर आफ्नी छोरीलाइ अन्य स्कुलमा पढाएर निकै पछुताएको र ॐ ज्ञान मन्दिरमा भर्ना गरेपछि उनको पढाइमा निकै सुधार आई A+ नतिजा ल्याउन सफल भएकोमा खुशी व्यक्त गर्दै विद्यालयका सम्पूर्ण शिक्षकलाई धन्यवाद दिए । पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले देशलाई गम्भीर दुर्घटनाबाट जोगाउन आजका विद्यार्थी सजग रहनुपर्ने बताए । उनले उच्चशिक्षाका लागि विश्वका जुनसुकै कुनामा गएपनि स्वदेश फर्केर देशमा त्यहाँका महत्वपूर्ण प्रविधि एवम् देशको माटो सुहाउँदो शिक्षणपद्धति लागू गर्न पहल गर्नुपर्ने बताउँदै असल मान्छे राजनीति, समाज र आर्थिक विकासमा नलाग्दा देश भ्रष्ट, विचौलिया र असक्षमहरू मौलाएको बताए । उनले भने, "अबको युवाले देश हाँक्नुपर्छ ।त्यसका लागि त्याग, आशावादिता र नैतिक जिम्मेवार हुनुपर्छ ।" सो समारोहका सभाध्यक्ष एवम् विद्यालयका प्रिन्सिपलले विद्यालयको शैक्षिक गतिविधि, रणनीति, प्रभावकारी शिक्षण सिकाइ प्रविधि र विद्यार्थीको सर्वपक्षीय विकासका लागि विद्यालयले अपनाएको प्रगतिशील शिक्षण पद्धति र योग्य, अनुभवी र कर्तव्यनिष्ठ शिक्षक टिम नै यो सफलताको कारण रहेको बताए । सोही समारोहमा विविध मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिएका थिए । - रामगोपाल आशुतोष

Comments