दुईजना दिव्य श्रष्टाका दुईवटा रोचक पुस्तकहरु


असार २३, २०८२, सोमबार | दिउँसो १२:११ बजे | 150


दुईजना दिव्य श्रष्टाका दुईवटा रोचक पुस्तकहरु

डा इन्दुल केसी 
१. प्राक्कथन
    शब्दयात्रा प्रकाशन अक्षरधाम, बनेपा, काभे्रबाट २०७४ मा प्रकाशित पुनर्जन्म (कविता सङ्ग्रह) पुस्तकका श्रष्टा पूरा श्रेष्ठा हुनुहुन्छ । अनुशीलन नेपाल, सूर्यविनायक–३, बालकोट, भक्तपुरबाट २०८२ सालमा प्रकाशित ‘अविचलित पाइला’ (दैन नन्दिनी) पुस्तकका श्रष्टा प्रिता बल्ल हुनुहुन्छ । नेपाली भाषामा लेखिएका यी पुस्तकहरु, विधागत रुपमा भिन्ना भिन्दै छन् । ‘नयाँ सोच’ लघु–उपन्यास पछि पूरा श्रेष्ठ (समिता)को दोश्रो कृति यो ‘पुनर्जन्म’मा एउटै शीर्षकमा ४३ वटा कविताहरु छन् । प्रिता बल्लको अविचलित पाइला नामको (२३४ पृष्ठ रहेको) पुस्तकलाई दुई खण्डमा विभक्त गरिएको रहेछ । पहिलो खण्डमा प्रिताको दैन नन्दिनीमा ९३ वटा रचनाहरु छन् । दोश्रो खण्डमा विभिन्न महानुभावहरुले प्रिताको बारेमा लेखिएका १५ वटा लेखहरु छन् । नेपाली भाषाको साहित्य भण्डारमा हजारौं हजार पुस्तक भइसकेको अनुमान गर्न सकिन्छ । प्रत्येक पुस्तकको केहि न केहि विशेषता हुने गर्दछ । यसै प्रसङ्गमा प्रस्तुत पुस्तकहरुको विशेषताहरु भनेको श्रष्टाहरुले मानवीय जीवनमा दिइएका छुट्टै प्रेरणाहरु हुन् ।
२. श्रष्टाहरुको परिचय
क) पूरा श्रेष्ठ
    काभ्रे जिल्ला, नाला, सेरा निवासी पिता श्री अर्जुन श्रेष्ठ तथा माता सावित्री श्रेष्ठका सुपुत्री पूरा श्रेष्ठ (समिता) कक्षा ९ सम्म पढेकी, १२ वर्ष पहिलेदेखि शारीरिक रुपमा अत्यन्त अशक्त भएर सुतिरहेकी, बोल्न, हिँड्न नसक्ने, अरुको सहारामा बाँचिरहेकी देब्रे हातको एउटा औंला मात्र चलाउन सक्ने चेली हुन् । माथि दिइएको पुस्तकमा दिइएको परिचयको साभार हो भने उहाँको परिचयमा मैलो पाएको विशेषता उहाँको चित्तको विकास र त्यसले समाजलाई दिने प्रेरणा हो ।
ख) प्रिता बल्ल
    भक्तपुर नगरपालिका–३, तेखाचो टोल निवासी श्री पवनकुमार बल्ल र श्रीमती रामेश्वरी बल्लका सुपुत्री प्रिता बल्लको शिक्षा– स्नातक, शारीरिक अवस्था ः मस्तिष्क पक्षघातका कारण ह्विलचियरमा निर्भर, दैनिक कामहरुमा पारिवारिक वा अन्य सहयोगी आवश्यक, खुट्टाले मोबाइलमा टाइप गर्ने, रुचि ः साहित्य लेखन, सङ्गीत सुन्ने, संस्कृति प्रेमी । नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु ः मुक्तिनाथ, स्वर्गद्वारी, काँक्रेविहार, हलेसी, पोखरा, जनकपुर, चितवन, रुरुधाम, सुपादेउराली, लुम्बिनी आदि स्थानमा भ्रमण गरिसकेकी छिन् ।
३) सम्बन्धित पुस्तकभित्र 
    पूरा श्रेष्ठको पुनर्जन्म कविता सङ्ग्रह सम्बन्धमा यसमा रहेका एउटै शीर्षक ‘पुनर्जन्म’को ४३ वटा कविताहरुको विषयगत रुपमा पुनर्जन्म, जीवन ईश्वरप्रति आस्था र भजन, आफ्नो जन्मथलोको परिचय, कर्तव्य, रमाइलो दिन आउने विश्वास मानिसको जीवनमा हिम्मत हुनुपर्ने सन्देश जस्ता कुराहरु सुन्दर शैलीमा रचिएका कविताहरुले यसका पाठकहरुलाई आकर्षित गर्दछ ।
    प्रिता बल्लका अविचलित पाइला पुस्तकको पहिलो खण्डमा रहेका ९३ वटा दैन नन्दिनीको चर्चा गर्दा नेपाली साहित्यमा दैनिकी लेख्ने लेखकहरुको सन्दर्भमा वी.पी. कोइरालाको जेल जर्नलमा उहाँ सुन्दरीजलको कारागारमा रहँदा उहाँले देखेका, भोगेका कुराको डायरी तयार गर्नुभएको कुरा याद आयो । यहाँ प्रिता बल्लले आफ्नो जीवनमा देखेका भोगेका कुराहरुको पनि डायरी लेख्नुभयो । डायरी लेखन साहित्यमा प्रिता बल्लजीको डायरी रोचक छ, सरल लेखन शैली छ । पाठकहरुलाई दैन नन्दिनी लेख्ने यसले अभिप्रेरित गर्दछ ।     
४) प्रेरणा र सहयोग
    पूरा श्रेष्ठजीलाई वहाँकी फुपू समाजसेवी निर्मला श्रेष्ठज्यू र डा. चिन्ता मणि योगीजीका संस्थाहरुबाट पुस्क प्रकाशन खर्च प्रदान भएको रहेछ ।
    प्रिता बल्लजीको उक्त पुस्तक प्रकाशनार्थ आर्थिक व्यवस्थापन श्री पद्म मा.वि., भक्तपुर २०४१ एस.एल.सी समूहबाट भएको रहेछ । यसरी सहयोगी संघ संस्थाहरु सबैलाई हामीले स¥हाना गर्नुपर्छ ।
५) अन्तमा
    दुवै पुस्तकका प्रकाशकहरु, सम्पादक हरि मञ्जुश्री अध्यक्ष शब्दयात्रा प्रकाशन, श्री जीवनाथ अधिकारी अध्यक्ष अनुशीलन नेपाल, पुस्तकको आकर्षक आवरण तयार गर्ने ई. रोशन अधिकारी, श्री सन्दिप बल्ल लगायत सम्बन्धित सम्पूर्ण महानुभावहरुलाई मेरो साधुवाद । उक्त दुवै श्रष्टारु आफू शारीरिक दिव्याङ्ग भएतापनि अरु दिव्याङ्ग र सपाङ्ग व्यक्तिहरुको लागि सक्रिय क्रियाशिल बन्ने पे्ररणा प्रदान गर्ने व्यक्तिका रुपमा सफल हुनुभएका छन् । रचनाकारहरुलाई शुभ आर्शिवाद ।
०००

Comments