गुणस्तरीय शिक्षाका लागि आदर्श मावि अग्रणीः नगरप्रमुख श्रेष्ठ


असार १९, २०८२, बिहीबार | राति ०७:२२ बजे | 535


गुणस्तरीय शिक्षाका लागि आदर्श मावि अग्रणीः नगरप्रमुख श्रेष्ठ

सागर गुरागाईं
मध्यपुर थिमि – मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमि नपा ४ लाय्कुस्थित आदर्श माध्यमिक विद्यालयले भक्तपुरको पश्चिमी भेगको गुणस्तरीय शिक्षाको विकास र विस्तारमा पु¥याएको योगदान अतुल्नीय रहेको बताउनु भएको छ । नगप्रमुख श्रेष्ठले आदर्श मावि लाय्कुद्धारा वि.सं.२०८१ को एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिदैं उक्त विचार व्यक्त गर्नुभयो । एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्दै नगरप्रमुख श्रेष्ठले आफूहरुले चुनाव अघि गरेका प्रतिबद्धता अनुरुप मध्यपुर थिमि क्षेत्रको शिक्षा र स्वास्थ्यको विकास र विस्तारमा गरिरहेका कार्यहरुको चर्चा गर्दै आदर्श मावि लाय्कुले न्युन शुल्कमा गुणस्तरीय, व्यवहारिक एवं प्रयोगात्मक शिक्षा प्रदान गरिरहेको बताउनु भयो ।

आदर्श मावि लाय्कु विद्यालय व्यवस्थान समितिका अध्यक्ष श्याम कृष्ण श्रेष्ठको सभापतित्वमा भएको उक्त एसईई सम्मान एवं बधाई कार्यक्रमलाई सम्बोधन गर्दै नगरउपप्रमुख विजय कृष्ण श्रेष्ठले भक्तपुर जिल्लाको पश्चिमी भेगमा आदर्श माविले वि.सं.२०२१ साल देखि नै शिक्षाको गुणात्मक विकासमा योगदान दिइरहेको बताउनु भयो । आदर्श मावि लाय्कुका प्राचार्य बुद्धिकुमार घोले वि.सं.२०८१ मा सम्मिलित ७२ जना परीक्षार्थी मध्ये ४३ जना उत्तीर्ण भएको जानकारी दिनुभयो । प्राचार्य घोले भर्खरै प्रकाशित नतिजा अनुसार ३.६ जिपिए ल्याउने विद्यार्थीहरु ४ जना रहेको र ३.२ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरुको संख्या पनि उल्लेख्य रहेको जानकारी दिदैं आदर्श मावि लाय्कुको वि.सं.२०४१ सालको एसएलसी व्याचले स्कुलमा विद्याकी देवी सरस्वतीको मुर्ति । मन्दिर निर्माण गरिदिएकोमा प्रशन्नता व्यक्त गर्नुभयो । उक्त एसएलसी व्याचका मेधावी विद्यार्थी प्रा.डा. श्रीकृष्ण श्रेष्ठलाई विद्यालयद्धारा दोसल्ला सहित विशेष सम्मान गरियो । प्रा.डा. श्रेष्ठ हालै नेपाल सरकारको स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयको अतिरिक्त सचिव पदमा पदोन्नति हुनुभएको छ । कार्यक्रममा एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई रातो टिका , खादा र मायाको चिनो सहित सम्मान गरिएको थियो । शिक्षक कमल प्रसाद भट्राईले सञ्चालन गर्नुभएको उक्त बधाई एवं सम्मान कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा.डा. श्रीकृष्ण श्रेष्ठले आफूले प्रयोगात्मक एवं व्यवहारिक शिक्षा, सीप र ज्ञान आदर्श मावि लाय्कुबाटै प्राप्त गरेको भन्दै स्कुलको भौतिक एवं गुणात्मक विकासमा सधै साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । मध्यपुर थिमि नपा ३ चारदोबाटोस्थित थिमि बैंक्वेटमा भएको उक्त कार्यक्रममा विद्यालयका सहप्राचार्य हरि बहादुर श्रेष्ठ लगायतले आदर्श मावि लाय्कुले पछिल्लो समयमा गरेका शैक्षिक, खेलकुद एवं अन्य प्रतियोगिताको उत्कृष्ताबारे बुँदागत रुपमा जानकारी दिनुभएको थियो । 
 

Comments