ईंटासँगै किताबका पाना पल्टाउँदै एसईईमा ल्याए ४ जिपिए ल्याएकी छात्रा भन्छिन् डाक्टर बन्न चाहन्छु


असार १६, २०८२, सोमबार | राति ०७:०३ बजे | 170


ईंटासँगै किताबका पाना पल्टाउँदै एसईईमा ल्याए ४ जिपिए ल्याएकी छात्रा भन्छिन् डाक्टर बन्न चाहन्छु

भक्तपुर । माध्यामिक शिक्षा परीक्षा २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाईंको मेला गएर भर्खर फर्किएकी थिइन । 
चाँगुनारायण नगरपालिका–८, सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई दिएकी गोमा एसईईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो परिणामबारे चिन्तित थिइन् । हतार हतार अनलाइनमार्फत आफ्नो नतिजा खोज्न थालिन्। नतिजा आउँदा खुसीको सिमा रहेन। सर्वोत्कृष्ट अंक ४ जिपिएसहित गाेमा उत्तीर्ण भइन् ।
खुसीको सीमा रहेन, एक मनले त रिजल्टबारे आफैंलाई पत्यार लागेन । जस्ताकै टहरामुनि रहेकाे पलङ्मा बसेकी उनी खुसीले कुन बेला उफ्रिन थाहा, पत्ताे भएन । `म त खुसीले उफ्रिएँ । यस्तो रिजल्ट आयाे भनेर बुवा र आमालाई सुनाएँ ।´ छाेरीकाे सफलतामा नरमाउने कुरै रहेन, बुवाआामा दुबैले छाेरीलाई स्याबासी दिए ।
स्याबासी पाएकाे भाेलिपल्ट अर्थात शनिबार साँझ करिब पाैने ७ बजे उनलाई भेट्न र बधाई दिन पुग्दा उनी टहराअघिको डिलमा बसेर हातखुट्टा धुँदै थिइन् ।खुट्टामा लागेको हिलो पखाल्दै थिइन् । भर्खरै खेतबाट फर्केकी मात्र थिइन् । असारको मध्य भएकाले खेत रोप्न चटारो छ ।
‘ममीड्याडी खेतमै हुनुहन्छ, तपाईं आउने भन्ने थाहा पाएर अलि छिटो आएकी’, गोडामा पानी हाल्दै गरेकी उनले भनिन् । साँझ छिपिँदै थियो ।
चाँगुनारायण नगरपालिका वडा नं. ८, सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई दिएकी उनले चार जिपिए हासिल गरेकी थिइन् । सामुदायिक विद्यालयबाट चार जिपिए हासिल गरेकी उनी भक्तपुरका ३० मध्येका एक सर्वोत्कृष्ट विद्यार्थी हुन् । यसका साथै उनी चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी हुन् ।
उनलाई खोज्न र उनीसँग रिजल्ट, पढाइको बारेमा जानकारी लिनका लागि महेन्द्रगम माविका प्रअ सोम श्रेष्ठसँग मोबाइल नं. मागेर करिब सवा ६ बजेतिर सम्पर्क गर्दा उनीमात्र नभएर उनको पूरै परिवार रोपाइँमै व्यस्त रहेका थिए ।
गोमा बस्दै गरेको टहरा छिर्दा बत्ती बाल्नुपर्ने समय भइसकेको थियो । भित्र पलङ, पलङकै छेउमा सिलौटा, पलङसँगै धान, गहुँ, त्यहीसँगै किताबको चाङ । टहराभित्र पानी भरेका टुमलेट, पलङमा बाँधिराखेको झुल । उनीसँगै बहिनीहरुसँगै थिए ।
उभिँदा पनि जस्ताले छोला कि भन्ने टहरा । त्यही टहरामा उनीसँग पढाइ, रिजल्ट र पढाइ शैलीको बारेमा, उनको पृष्ठभूमिबारे अनौपचारिक कुराकानीबाट सुरु भयो, उनको संघर्ष र सफलताको पहिलो औपचारिक अध्याय ।
सानैबेलादेखि पढाइमा रुचि भएका गोमा सानो छँदा उनका बुवा आमाले आफ्नो थातथलो छोडेर भक्तपुर आए, कामको खोजी गर्दै । त्यो बेला गोमा ४ वर्षकी थिइन् ।
मीनबहादुर(गोमाकी बुवा र सरस्वती(गोमाकी आमा) रामेछापको खनियाँ पानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइकै कारणले हो । खनियाँपानीको लेकबाट बेसीसम्मको स्कुल पुग्न एक घन्टा ओरालो लाग्नुपथ्र्यो भने उकाले त्योभन्दा बेसी । यसैले जेनतेन गरी भए पनि पढाउँला, इँटा पारेर, भारी बोकेर भए पनि पढाउँला भनी श्रेष्ठ परिवार भक्तपुर सरेका थिए ।
भक्तपुर आएका उनीहरुले कामको सिलसिलामा इँटा खलामा काम गरे, इँटा पारे, छोरीलाई इँटा भट्टासँगैको स्कुल अर्थात् महेन्द्रग्राममा भर्ना गरिदिए । स्कुलमा भर्ना भएकी गोमा दिउँसो स्कुल जान्थिन्, साँझ विहान आमाबुवाको काममा सघाउँथिन् । त्यसरी नै दैनिकी अघि बढेको गोमाले कक्षा ९ सम्म लगभग उनी रुटिनमा दैनिकी बिताइन् ।
कक्षा १० पुग्पछि भने त्यो रुटिनलाई केही पर सारेर पूर्णतः पढाइप्रति समर्पित गरिन् । त्यसैको परिणाम निस्क्यो, एसईईमा ४ जिपिए ।
सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी उनी भक्तपुरका ३० चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनिन् ।
गोमाको थातथलो रामेछापको खनियाँपानी हो । परिवारको आर्थिक कमजोर अवस्था र छोरी गोमाको पढाईप्रतिको रुचीका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाको बुबा मिनबहादुर श्रेष्ठले बताए ।
“एकातर्फ कमजोर आर्थिक अवस्था अर्कोतर्फ छोरी गोमाले सानैबेलादेखि पढाइप्रति रुचि राख्ने भएकोले आफ्नो थातथलो छोडेर भक्तपुर आएँ, कामको खोजी गर्दै । त्यो बेला गोमा ४ वर्षकी थिइन्,” मिनबहादुरले भने, “रामेछापको खनियाँपानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइकै कारणले हो ।”
भक्तपुर आएर ईंटाभट्टामा काम शुरु गरेका मिनबहादुरले गोमालाई नजिकैको महेन्द्रग्राम माध्यामिक विद्यालयमा भर्ना गरे।  “खनियाँपानीको लेकबाट बेसीसम्मको विद्यालय पुग्न एक घन्टा ओरालो लाग्नुपथ्र्यो । यसैले ज्याला मजदुरी गरेर, इँटा पारेर, भारी बोकेर भए पनि पढाउँला भनी भक्तपुर सरेका हौं । भक्तपुरमा कामको शिलशिलामा इँटाभट्टामा काम गरे, इँटा पारे, छोरीलाई इँटा भट्टासँगैको महेन्द्रग्राम माध्यामिक विद्यालयमा भर्ना गरिदिएँ ।”
दिउँसो विद्यालय जाने गोमा साँझ बिहान भने ईटाभट्टको खलामा खेल्दै हुर्कन थाले । उमेरसँगै गोमाले बुबाआमाको काममा सघाउन थाल्नुभयो । दिउँसो विद्यालय जाने, साँझ बिहान खलाको ईंटा सुकाउन ओल्टाईपल्टाई गर्ने उहाँको दैनिकी बन्दै गयो । त्यसरी नै दैनिकी अघि बढेको गोमाले कक्षा ९ सम्म लगभग उनी रुटिनमा दैनिकी बिताइन् ।
कक्षा १० पुगेपछि भने गोमाले आफ्नो दैनिकीलाई केही परिवर्तन गरिन् । “बुबाआमाले पनि अबको एक वर्ष पढाइमा ध्यान दिन भन्नुभयो । एसईई दिनुपर्ने भएकाले विद्यालयले पनि पढाइमा जोड दिन सुझाव दिए । त्यसैले मैले आफ्नो दैनिकीलाई केही परिमार्जन गरेर पढाइमा ध्यान दिन थालें । यसैको परिणाम आज मैले एसईईमा राम्रो रिजल्ट पाएँ,” गोमाले भनिन् ।
गोमाले भविष्यको लक्ष्य डाक्टर बन्ने रहेको बताइन् । तर त्यसको लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प नभएको उनकाे भनाइ छ ।    “विज्ञान संकायमा प्लस टु गरी नेपालको कुनै पनि मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकालेर एम बि बि एस पढ्ने लक्ष्य छ ।
कक्षा ११ र १२ का लागि पूर्ण छात्रवृत्ति दिने घोषणा 
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक ईंट्टाभट्टामा काम गर्दै पढ्दै एसईई २०८१ मा ४.० जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद एवं नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति Durlav Thapa ज्यूले कक्षा ११ र १२ का लागि पूर्ण छात्रवृत्ति दिने घोषणा गरेका छन्। उनले विद्यालय शुल्कसहित पोसाक र किताबसमेत निःशुल्क गरिदिने बताएका छन्। 
रामेछापको खनियापानी स्थायी घर भएकी गोमा बाल्यकालदेखि अभिभावकसँग भक्तपुरमा जस्ताको टहरामा बसेर महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्दै आइरहेकी हुन्। गोमाको सफलताले समाजमा सकारात्मक सन्देश दिएको सांसद थापाले बताए।

Comments