राष्ट्रिका साहित्य प्रतिष्ठानले उर्वरा उत्सव काव्य वाचन गरेर असार १५ मनायो
असार १५, २०८२, आइतबार | राति ०९:४७ बजे | 105
काठमाडौं । राष्ट्रिका साहित्य प्रतिष्ठानले उर्वरा उत्सव काव्य वाचन गरेर असार १५ मनाएको छ । वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले पानसमा वत्ती बालेर कार्यक्रम शुभारम्भ गरेका थिए ।
जोशीले कर्णाली प्रदेश र सुदुरपश्चिमको लोक संस्कृतिको चर्चा गर्दै देउडाहरु पनि सुनाएका थिए । उनले राष्ट्रिकाले सुदुरपश्चिमसँग सहकार्य गरेर साँस्कृतिक भ्रमण गर्न सुझाएका थिए । अर्का बक्ता नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन'ले भने- "आज कविता सुनेपछि खेतमा गएको अनुभूति भयो । असार १५ को कविता बाउसे,रोपार र खेत,आली र हिलो मात्र होइन् । आम किसानका समस्या पनि हो ।
नेपालले वर्षेनी ४० अरबको धान आयात गर्छ,यो विषयलाई कविले उठान गर्नु आवश्यक छ । हामी लेखक कविले विकृति र विसंगति विरुद्ध आफ्नो कलम चलाउनुपर्छ ।" साझा प्रकाशनका अध्यक्ष शेखर गिरी,लेखक तथा सञ्चारकर्मी राजेश खनाल,अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी,नेपाल लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी,उपन्यासकार समाज नेपालका अध्यक्ष शंकर भारती लगायतले असार पन्ध्रको महत्व र सान्दर्भिकताको चर्चा गरे । कार्यक्रमको अध्यक्षता गरेका प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले असार पन्ध्रको सबैलाई चटारो भएजस्तै कविहरुलाई पनि आफ्नो भावना रोप्न हतार भएको बताए । उनले प्रतिष्ठानका गतिविधिहरु र प्रकाशनको जानकारी पनि दिए । यस अघि भएको काव्य वाचन कार्यक्रममा कविहरु श्रीबाबु कार्की,मनोजादित्य न्यौपाने,गोकुल अधिकारी,देवेन्द्र के.सी.,एलिसा ढुँगाना,सुष्मा आचार्य,त्रिभुवनचन्द्र वाग्ले,डा.शान्तिमाया गिरी,रचना खनाल जोशी,डा.सिर्जना शर्मा,मुकुन्द पौडेल,निर्मलरमण पराजुली,सुमन वर्षा,प्रदीप सापकोटा,माधव विडारी,शेखर गिरी लगायतले असारको विषयमा विभिन्न शिर्षकृत कविताहरु वाचन गरेका थिए । कार्यक्रममा सहभागीहरुले असार पन्ध्रको दहि चिउरा खाएर संस्कृतिलाई निरन्तरता दिएका थिए । प्रतिष्ठानकी उपाध्यक्ष डा.शान्तिमाया गिरीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन कवि,सञ्चारकर्मी एवं प्रतिष्ठानका महासचिव मधु पाठकले गरेका थिए ।
