असार पन्ध्र, दही चिउरा र रोपाइँ 


असार १४, २०८२, शनिबार | विहान ०७:३४ बजे | 155


असार पन्ध्र, दही चिउरा र रोपाइँ 

सागर गुरागाईं 
असार १५ लाई दहीचिउरा खाने दिनको रुपमा पनि लिइन्छ । प्रायः बाह्रै महिनाका १५ गतेको आफ्नै महिमा हुन्छ । तर असार १५ को महत्व केहि फरक छ । यस दिनमा दहीचिउरा खानको पछाडि प्राकृतिक र जैविक कारण छन् । दहीचिउरासँग आलुको पिरो सुख्खा अचार पनि जोडिएको हुन्छ । चिउरा सबैलाई चल्ने, ठोस आहार मानिन्छ । यो पनि साझा खाद्यवस्तु हो । अर्को दही, स्वास्थ्यबर्धक र शितलता प्रदान गर्ने खाद्य पदार्थ मानिन्छ । असार गर्मी महिना भएकोले दही उपयुक्त हुन्छ । यीसँग जोडिएको आलुको पिरो अचारको महत्व पनि छ । आलु छिटो पच्ने खाद्यवस्तु हो । पिरोले इन्द्रिय सक्रिय बनाउँछ । यसको अर्को महत्व भनेको गर्मीमा गर्मी काट्ने र जाडोमा चिसो काट्ने गुण विद्यमान हुन्छ । यसरी हाम्रो समाजमा असार १५ धानखेती, दही, चिउरा, आलुको अचार खाने दिनको रुपमा स्थापित छ । यो दिनलाई हरेक नेपालीले सामाजिक–सांस्कृतिक महोत्सवको रुपमा मनाउने गर्छन ।
नेपाली समाजमा असार १५ लाई मुठी रोपेर मुरी फलाउने महत्वको रुपमा लिइन्छ । भौगोलिक विविधताको कारणले यहाँ चैतदेखि साउनसम्म पनि धान रोप्ने काम हुन्छ । संसारको सबभन्दा उच्च भागमा फल्ने जुम्ली मार्सीको व्याड चैत १६ मा राखिन्छ । १५ औं शताव्दीमा चन्दननाथले सुरु गरेको यो परम्परा वर्तमानसम्म पनि कायमै छ । त्यसको दुई दिनपछि त्रिपुरा सुन्दरीलाई भाका पारेर चैत १८ मा डोल्पामा धानको व्याड राखिन्छ । ती ठाउँहरुमा वैशाखमा रोपाइँ हुन्छ भने तराईमा साउन अन्त्यसम्म यो क्रम चल्छ । नेपालको मध्यपहाडी क्षेत्रमा असार महिनाभित्र रोपाइँ  सकिन्छ । भौगोलिक विविधताले रोपाइँ विभिन्न ठाउँमा विभिन्न किसिमले विभिन्न समयमा हुने भए तापनि असार १५ लाई धान रोप्ने साझा दिनको रुपमा नेपाली समाजले स्वीकारेको छ । यो सद्भाव र सहिष्णुताको सूचक हो । धान गर्मी याममा फल्ने बाली हो । यो तापक्रम ठाउँअनुसार विभिन्न प्रजातिको हुन्छ ।
असार १५ लाई नै साझा दिन (महोत्सव) मान्नुको पछाडि केही कारण छन् । असार १५ गतेदेखि भूमि चिसो हुन सुरु हुन्छ भनिन्छ । यसै दिनदेखि क्रमशः दिन छोटो हुँदै जान्छ भन्ने परम्परा छ । यसै सेरोफेरोमा सूर्य दक्षिणायन हुन्छ । कृषिप्रधान समाज, जीविकोपार्जनको माध्यम भएको र उत्तम खाद्यपदार्थ भएकोले हाम्रो समाजमा धान रोपाइँलाई महत्वका साथ हेरिन्छ र महोत्सवको रुपमा सम्पन्न गरिन्छ । यस्ता पर्व, महोत्सवहरुमा प्रकृति, मौसम, ऋत, धर्म, जीवन पद्धति परिवर्तनले प्रत्यक्ष प्रभाव पारेका हुन्छन् । धान रोप्ने दुई पद्धति छन् – सवाइ र रोपाइ । सवाइमा सोझै धानको बिउ तयारी खेतमा छरिन्छ भने रोपाइँमा धानको व्याड करिब १ फिटजति अग्लो भएपछि रोप्ने गरिन्छ । अर्थात यी छर्ने र रोप्ने पद्धति हुन् । हाम्रा समाजमा रोपाइँ प्रायः सामुहिक रुपमा हुन्छन् । रोपाइँ गर्नुभन्दा अगाडि बिउ जमिनबाट निकालिन्छ र तयारी खेतमा रोप्ने काम हुन्छ । रोपाइँको दिन बिहानै एकसरो छोटा लुगा लगाएका रोपार्नीहरु रातो टीका लगाएर हातमा बिउ, वर्षाती, घुम आदि लिएर लस्करै भएर रोपाई गीत गाउँदै खेततर्फ लाग्छन् । खेतमा पुगिसकेपछि एकले अर्कोलाई हिलो छ्याप्दै बाउसेलाई हिलोको टीका लगाइदिएर खले गरोबाट धान रोप्न सुरु गर्छन् । रोपार्नीहरुको सहयोगीको रुपमा एकजना बाउसे हुनुपर्छ । रोपाइँ सुरु भएपछि खेत, वनपाखा, पखेरा घन्काउनेगरी गीत गाउन थाल्छन् । खासगरी रोपाइँको गीतलाई असारे गीत भन्ने चलन छ ।
यस अतिरिक्त रोपाइँमा अन्तरिक्ष र पृथ्वीका देवता, स्थानीय देवता, जलमूलको स्तुति गर्ने भूतप्रेत मसान भगाउने प्रकारका गीत पनि हुन्छन् । धान रोप्दै जाँदा खले गरोको बीचमा कोठी बनाउने चलन पनि हुन्छ । रोपाइँ सकिएपछि रोपाइँ घरमा गएर सबैले घरका मानिसलाई आशिर्वाद दिने परम्परा पुरानो हो । रोपाइँको क्रम पहाडी भूभागमा प्रायः असार महिनाभर चलिरहन्छ । असार १५ गते मात्र रोपाइँ हुने होइन । यो त सबैको साझा दिन हो । माथि भनिएझैँ नेपालको उच्च पहाडी भेगमा जेठ महिनाभित्रमा रोपाइँ भइसक्छ भने मध्य र तल्लो पहाडी क्षेत्रमा असारसम्म र तराईमा साउनसम्म चलिरहन्छ । यो परम्परा, शैली पनि ठाउँ, समुदायअनुसार केही फरक प्रकारको हुन्छ । वर्तमानमा प्रविधिको विकास, सामुहिक भावनामा आउन थालेको ह्रासले परम्परागत मान्यतामा केही भिन्नता आएको छ । मोः ९८४१८५९२९५

असार पन्ध्रको मौलिकता (सागर गुरागाईं)
नेपालीको मुख्य खाद्यान्न बाली धानको रोपाइँ हुने महिनाका रुपमा असारको आफ्नै महत्व र विशेषता छ । किसानले असारलाई मानो खाएर मुरी उब्जाउने महिनाका रुपमा लिने गर्छन् । यही महिनामा रोपिने धान फलाएर वर्षभरि खाने अन्नको जोहो हुन्छ । कृषिप्रधान देश भएकै कारण यहाँ कृषि कर्मलाई उच्च महत्व दिने गरिएको छ । विशेषगरी असार १५ लाई नेपाली जनजीवनको अभिन्न तथा महत्वपूर्ण दिनका रुपमा पनि लिइन्छ । सामाजिक, आर्थिक तथा सांस्कृतिक तवरले पनि धान खेतीको नेपाली जनजीवनसँग निकटको सम्बन्ध रहिआएको छ । यसैले पनि यस दिनलाई नेपालमा राष्ट्रिय धान दिवसका रुपमा झन्डै दुई दशक अघिदेखि आधिकारिक रुपमा मान्यता दिइएको हो ।
असार १५ मा हुने धान रोपाइँ र लोक लयमा आधारित हुने असारे भाकालाई नेपालका मौलिक संस्कृतिका रुपमा लिइन्छ । सांस्कृतिक महत्व बोकेको असारे भाका हिजोआज गाउँघर लेकवेंसीमा निकै कम गुञ्जिन थालेका छन् । अर्कोतिर रैथाने नेपाली धानका बीउजस्तै लोप हुने क्रममा छन् । यी मौलिक संस्कृति तथा भाकालाई लोप हुन नदिन सरकारी तथा जनस्तरबाट इमानदार प्रयत्नको खाँचो देखिन्छ । यसैगरी, असार १५ को अर्को विशेषता दही चिउरा खाने हो जुन अद्यापि प्रचलनमा नै छ । सायद खानपिनको विषय भएकाले हुनसक्छ, यो लोप हुने खासै चिन्ता गरिहाल्नुपर्ने अवस्था देखिँदैन । खेतको हिलोमा नटेके पनि सहरी क्षेत्रका नागरिकले समेत दही चिउरा खाएर १५ असारको पर्व मनाउँछन् ।
असार १५ लाई २० वर्षअघिदेखि नै सरकारी तवरमा राष्ट्रिय धान दिवसमा रुपमा मनाइने गरिएबाट यसको महत्व तथा गरिमा स्पष्ट हुन्छ । राष्ट्रिय अर्थतन्त्रमा धानको महत्वपूर्ण योगदान अन्य खाद्यान्न बालीको दाँजोमा निकै अग्रप»्तिमा रहेकाले पनि यसको विकास तथा संवर्द्धनमा प्राथमिकता दिइनु आवश्यक छ । कृषिप्रधान मुलुक तथा राष्ट्रिय धान दिवस देशव्यापी रुपमा मनाइने भए पनि यस दिवसका केही कटु सत्य पनि नदेखिएका होइनन् । केही वर्षअघिसम्म पनि धान चामल निर्यात गर्ने राष्ट्र नेपाल अहिले बर्सेनि अबौं रुपियाँ बराबरको धान चामल आयात गर्नुपर्ने स्थितिमा छ । धान चामलमा आत्मनिर्भरताका कुरा यतिबेला कथाजस्तै लाग्छ । धान चामलमा आत्मनिर्भर बन्न सरकारले विशेष नीति नै अख्तियार गर्नुपर्छ । यो ज्यादै दुःखद तथा विडम्बनापूर्ण स्थिति हो । यसबाहेक हाम्रा रैथाने जातका धान क्रमशः लोप हुँदै गइरहेका छन् । बासमतीजस्ता उन्नत जातका धानमा विदेशीले आँखा गाडिरहेको अवस्था छ । यसको संरक्षणतर्फ पहलकदमी लिइनुपर्छ ।
मलखाद, उन्नत बीउ बिजन, सिँचाइ सुविधा तथा आधुनिक कृषि उपकरण तथा सरकारी सहुलियतको उपलब्धता सम्भव भएमा अझै पनि मुलुक धानजस्ता प्रमुख अन्नबालीमा आत्मनिर्भरताको बाटोमा अग्रसर हुने सम्भावना छ । किनकि, हामीसँग उब्जनीयोग्य भूमि छ, परम्परा ज्ञान मात्र होइन आधुनिक सीप र प्रविधि पनि भित्रिएको छ । बर्सेनि अब रुपियाँको धान चामल आयात गर्नुभन्दा केही किसानलाई सहुलियत प्रदान गर्न सकिए खाद्यान्न बालीतर्फको आत्मनिर्भरता धेरै टाढाको विषय होइन । यसका लागि समयमै मल उपलब्ध गराएर किसानलाई धान खेती गर्नेतर्फ प्रेरित गर्नुपर्छ । यसका लागि जमिन बाँझो नराख्ने अभियान नै चलाइनुपर्छ । खुसीको चेहेरा लिएर किसान असारे हिलोमा प्रवेश गर्ने वातावरण बन्ने हो भने मात्र धानको उत्पादन वृद्धि भई किसानको भकारी भरिनेछ । किसानको भकारी भरिनु भनेको राष्ट्रको भकारी भरिनु हो । यसो भए पर्वको मौलिकता मात्र कायम रहने नभई वही चिउरा खाएर १५ असार मनाउनुको सार्थकता हुनेछ ।

Comments