पाठकपत्रः कुरा त्यसो होइन, यसो हो 


असार १३, २०८२, शुक्रबार | दिउँसो ०१:०६ बजे | 705


पाठकपत्रः कुरा त्यसो होइन, यसो हो 

मिति २०८२ जेठ २५ गते काठमाडौंबाट सञ्चालित एक अनलाइनद्धारा “सूर्यविनायक नगरपालिकामा निर्माण सम्पन्न प्रमाणपत्र लिन गलफत्ती” भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । समाचारमा उल्लेखित प्रजू पौडेलको घरको दक्षिणपट्टीको संधियार म कान्छा दुमरु र मेरो छोरा राकेशको नामसमेत उल्लेख गरी प्रकाशित भ्रामक, एकतर्फी, कपोलकल्पित र मनगढन्ते समाचारप्रति घोर आपति र खेद व्यक्त गर्न चाहन्छु । 
सूर्यविनायक नगरपालिकाको मापदण्ड अनुसार ४ फिट वाल र सो वालमाथि २ फिट खुल्ला कम्पाउन्ड लगाउन पाइन्छ । तर निज पौडेलले १८ फिट अग्लो वाल बनाएको छ, जुन भूकम्पीय दृष्टिकोणले अति नै जोखिमपूर्ण हुन्छ । सो कुरा पौडेलले समाचारमा समेत स्वीकारेका छन् । २०८१ भाद्र ३० गते नगरपालिकाका प्राविधिक अनन्त दुलालले फिल्ड निरिक्षण गरी ‘प्राविधिक दृष्टिकोणबाट जोखिमयक्त’ भनि प्रतिवेदन पेश गरेको थियो । साथै सूर्यविनायक नगर कार्यपालिकाको २०८१ चैत्त ४ गतेको निर्णयले सो वाल सात दिनभित्र भत्काउन आदेश दिइसकेको छ । नगरपालिकाको सो निर्णयले नै प्रकाशित समाचारको वैधानिकता अन्त्य हुन्छ । नगरपालिकाको आदेश बमोजिम वाल भत्काउनुको सट्टा पत्रकारिता नै लज्जित हुने गरी समाचार बाजी गर्नु शोभनीय कुरा होइन । 
सामान्यतयाः घर निर्माण गर्दा चार किल्लाका संधियारहरुलाई म्याद पत्र दिएर अनुमति लिने गरिन्छ । तर प्रजू पौडेलले आफ्नो घरको नक्सा पेश गर्दा साइट प्लान तथा कुनैपनि कागजातमा दक्षिणतर्फको मेरो  कित्तासमेत देखाएको थिएन र हामीलाई म्यादसमेत दिइएन । घर निर्माण गर्न थालेपछि मात्र हामीलाई जानकारी भएको हो । विना जानकारी अग्लो पर्खाल बनाउन थालेपछि २०७८–१२–१० गते सो पर्खाल भत्काई पाऊँ भनी निवेदन दिएको थिएँ । सो मुद्धा चल्दै गर्दा नै निज पौडेलले आंशिक निर्माण सम्पन्न लिएको रहेछ तर सो आंशिक निर्माण सम्पन्नमा पनि दक्षिणतर्फको संधियारमा अर्कै व्यक्ति नाम लेखेको पाइयो । यी तथ्यबाट शुरूदेखि नै पौडेलको नियत ठिक थिएन भन्ने देखिन्छ । 
नगरपालिकाले आधिकारिक रुपमा भत्काउन आदेश दिइसकेको यथार्थलाई ढाकछोप गर्न “चर्को मूल्यमा जग्गा बेच्न खोजेको”, नगरपालिका इन्जिनियर सरिता उपाध्यायलाई ठूलो रकम दिने सहमति भएको जस्ता काल्पानिक कुरालाई समाचार बनाउनु दुःखद कुरा हो । समाचार लेख्ने पत्रकार दिनेश थापा तथा यस्तो एकपक्षीय समाचार आउँदासमेत एकचोटी पनि क्रस भेरिफिकेसन नगरी छाप्ने सम्पादकीय नेतृत्वप्रति आश्चर्य मात्र लागेको छैन, कत्तै प्रजू पौडेलको बिकाऊ समाचार (एबष्म ल्भधक) पो हो कि भन्ने भान हुन्छ । 
विवादित घरका मालिक प्रजू पौडेल तथा उनका श्रीमान् विनोद थापा, समाचार लेखक दिनेश थापा तथा प्रकाशक नेपाल प्रेसलाई ममाथि लगाइएको “आर्थिक चलखेल”को आरोपलाई पुष्टि वा प्रमाणित गर्न चुनौति दिन चाहन्छु । अन्यथा म र मेरो परिवार लगायत कसैको पनि मानहानी गर्ने, चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन । यस्तो सरासर गलत समाचार खण्डन गरी सच्चाउन र गल्ती स्वीकार गर्न विनम्र अनुरोध गर्न चाहन्छु । अन्यथा कानुनी कार्वाहीमा जान बाध्य हुने जानकारी गराउँदछु ।
कान्छा दुमरु
२०८२–०३–१
 

Comments