ऐना पहरा'मा प्रतिविम्बित समाजको तस्बिर
असार ११, २०८२, बुधबार | दिउँसो ०१:०३ बजे | 155
जयराम बिडारी
आँबुखैरेनी वाङ्मय परिषद्ले यही असार ७ गते शनिवार स्थानीय ऐना पहरामा 'ऐना पहरा काव्य गोष्ठी'को आयोजना गर्यो । चितवन, काठमाडौँ र तनहुँका स्रष्टालाई आमन्त्रित गरिएको सो कार्यक्रममा करिब दुई दर्जन सर्जकहरूले आआफ्ना सिर्जना वाचन गरेका थिए ।
परिषद्का अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यमा सो कार्यक्रम आयोजना गरिएको थियो । लोमश वाङ्मय प्रतिष्ठान तथा जरा फाउन्डेसनले सहकार्य गरेको उक्त कार्यक्रममा प्रमुख अभ्यागत चुमानले ऐना पहराले नै अब खैरेनीको आर्थिक भविष्यको डोहो बनाउने उद्घोष गरे । उनले भौतिक पूर्वाधारको विकासका अतिरिक्त साहित्य र कलाको विकासले नै त्यहाँको सभ्यता मापन गर्ने जिकिर गर्दै आगामी वर्ष आँधीमूलमा बन्दै गरेको विशाल पोखरीमा नौका विहार गर्दै सिर्जना पस्कने वातावरण तयार गर्न आफू हमेशा खटिरहेको अवगत गराए । योजना सहित आएको एउटा स्थानीय निकायले समग्र विकासमा उल्लेख्य योगदान दिन सक्ने दोहोर्याउँदै आफ्ना बाँकी दुई वर्ष त्यसैका निम्ति लगानी गर्ने बताए ।
सागर उदास, युवराज बगाले, लक्ष्मण बगाले, रामलाल कुमाल, कृष्णप्रसाद पोखरेल, रोहिणी त्रिपाठी, रजनी चुमान, राधिका देवकोटा, रामनाथ त्रिपाठी, नवराज मिश्र, आकाश अधिकारी, कमल सापकोटा, ईश्वर बास्तोला, कृष्ण महत, रामचन्द्र श्रेष्ठ,नवीन पल्लव, सत्या अधिकारी, माधव घिमिरे 'अटल'लगायतका स्रष्टाहरूले आआफ्ना सिर्जना वाचन गरेको सो कार्यक्रमको सहजीकरण कोषाध्यक्ष राजेन्द्र गुरूङले गरेका थिए । त्यसैगरी आइतबार बिहान आँबुखैरेनी क्याम्पसमा स्ववियुद्वारा आयोजित वृहत् साहित्यिक कार्यक्रममा स्नातक तहमा अध्ययनरत विभिन्न छात्रछात्राले काव्य वाचन गरेका थिए । त्यसरी नै आगन्तुक पाहुनाहरू माधव घिमिरे 'अटल', नवीन पल्लव, सत्या अधिकारीलगायत क्याम्पसका उपाध्यक्ष अनिल श्रेष्ठ तथा अन्य अध्यापकहरूले पनि आआफ्ना रचना पस्केका थिए । स्ववियु उपाध्यक्ष सङ्गीता थापाको अध्यक्षतामा आयोजित प्रतियोगितात्मक निबन्ध विजेतालाई पुरस्कार अर्पण तथा काव्य वाचन कार्यक्रममा प्रथम स्थान हासिल गर्ने पूजा पोखरेल, द्वितीय हुने हरि लामिछाने तथा तृतीय द्वय सङ्गीता थापा र विज्ञा रानालाई नगद पुरस्कार, प्रमाणपत्र सहित विभिन्न कृतिहरू अर्पण गरिएको थियो । त्यसरी नै क्याम्पस पुस्तकालयका निम्ति एक दर्जन बेसी पुस्तकहरू क्याम्पस सहायक प्रमुख रामचन्द्र आचार्य तथा व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे 'अटल'ले कार्यक्रमको उपादेयता र यसको दूरगामी प्रभावबारे आफ्नो महत्त्वपूर्ण भनाइ राखेका थिए । स्ववियुका सचिव हरि लामिछानेको सहजीकरणमा सञ्चालित उक्त कार्यक्रम सहायक क्याम्पस प्रमुख रामचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
