मानसाग्निको ‘चैतन्यबोध’ लोकार्पण
असार ११, २०८२, बुधबार | विहान ०७:०२ बजे | 35
असार १०, काठमाडौं । कवि, साहित्यकार तथा प्राकृतिक चिकित्सक मानसाग्नि (डा. हरिप्रसाद पोखरेल)को पहिलो निबन्धकृति ‘चैतन्यबोध’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईको अतिथ्यतामा प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. हेमचन्द्र नेपाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, निबन्धकार मोमिलालगायतले कृति लोकार्पण गरे ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. भट्टराईले पूर्वीय दर्शन, वेद वेदाङलाई पठनीय निबन्धका रूपमा यस निबन्ध संग्रहमा प्रस्तुत गरिएको बताए । उनले यस कृतिले पूर्वीय चेतनालाई प्रकाशमा ल्याएकोमा खुसी व्यक्त गर्दै रसपूर्ण पुस्तक भएको उल्लेख गरे । स्रष्टा एवम् समालोचक महेश पौड्यालको उद्घोषण रहेको उक्त समारोहमा प्रा.डा. हेमचन्द्र नेपालले कृतिमाथि पाठकीय मन्तव्य राख्दै निबन्धकृतिमा दार्शनिक निबन्धहरूको सँगालो भएको बताए । यस कृतिमा वैचारिक शक्तिसहित सूक्तिमयता प्रशस्त रहेको चर्चा गरे । प्रा.डा. गौतमले यस कृतिका निबन्धहरूले आफूलाई चिन्न मद्दत पुर्याउने बताए भने निबन्धकार मोमिलाले दर्शनको गहिराइसॅंगै निबन्धकलाको पनि सुन्दर संयोजन रहेको यस्ता कृतिहरू मानसाग्निबाट अझ सुन्दर ढङ्गले पाठकमाझ आइरहनुपर्नेमा जोड दिइन् । उक्त अवसरमा प्रा.डा. कोइरालाले पूर्वीय दर्शन अध्ययन गर्न चाहनेहरूका लागि एउटा उत्कृष्ट पुस्तक बजारमा आएको भन्दै कृतिमाथि आफ्नो धारणा राखे । कृतिकार मानसाग्निले कविताबाहेक अरू लेख्दिनॅं भन्दाभन्दै पनि निबन्धकार मोमिलाको प्रेरणाले यो कृति आएको स्वीकार गरे । मानसाग्निका कवितालगायत विभिन्न विधाका गरी ४० बढी पुस्तक प्रकाशित छन् । सार्वजनिक निबन्धकृति पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको हो । कृतिको मूल्य रु. ५२५ रहेको छ ।