वागीश्वरीमा कक्षा १२ सञ्चालनार्थ शिक्षक भेला
असार ७, २०८२, शनिबार | साँझ ०६:४२ बजे | 35
भक्तपुर, ७ असार
वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा आइतबारदेखि कक्षा १२ सञ्चालनार्थ विभिन्न संकायमा अध्यापनरत शिक्षक तथा कर्मचारी भेला कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा कक्षा ११÷१२ का संयोजक ज्ञानसागर प्रजापतिले हाम्रा विद्यार्थीहरुलाई कुनै खालको दुव्र्यसनीमा फस्न दिन नहुनेमा जोड दिनुभयो । उहाँले विभिन्न विद्यालयका विद्यार्थीहरुको तथ्याङ्क र अनुसन्धानले २५ प्रतिशत विद्यार्थी दुव्र्यसनीको कूलतमा लागेको स्पष्ट पार्दै विद्यार्थीहरुलाई पाठ्यक्रमको पढाइसँगै बानी व्यहोरा र आचरणमा सुधार ल्याउन सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । विद्यार्थी संख्या विद्यालयको काँध भएको बताउँदै उहाँले त्यसबिना शिक्षकको अस्तित्व नभएको औंल्याउनुभयो ।
वागीश्वरी कलेज अफ म्यानाजमेन्टका प्राचार्य कृष्ण प्रसाद धन्छाले विद्यार्थीहरुलाई विभिन्न गतिविधिमा केन्द्रित गरेमा विद्यार्थीहरुले रुचिपूर्वक अध्ययन गर्ने बताउनुभयो । उहाँले विद्यार्थी र अभिभावकको कुनै गुनासो नआउने गरी पढाउन व्यवस्थापनबाट शिक्षक र कर्मचारीका लागि आवश्यक पुनर्ताजीकीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षामा जोड दिनुपर्ने बताउँदै विद्यालयका लागि आवश्यक उपकरण वागीश्वरीमा पर्याप्त रहेकाले सही सदुपयोगमा शिक्षकहरु लाग्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्लस टु व्यवस्थापनका इन्चार्ज ग्याहेन्द्र प्रसाद दाहाल, विज्ञानका इन्चार्ज निरु ताल्चाभडेल, मानविकीका भानु हुमागाई, शिक्षकहरु जगदीश्वर कोइराला, ओमकार खड्का, रविता बासुकलालगायतले बोल्नुभएको थियो ।
