प्रिता बल्लद्वारा लिखित ‘अविचलित पाइला’ कृति भक्तपुरमा लोकार्पण
असार ७, २०८२, शनिबार | साँझ ०६:०८ बजे | 120
‘अविचलित पाइला’ कृति लोकार्पित अनुशीलन नेपालको बिसौँ प्रकाशन तथा प्रिता बल्लद्वारा लिखित ‘अविचलित पाइला’ कृति आज एक समारोहका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भक्तपुरमा लोकार्पण गर्नुभयो । जीवनाथ अधिकारीले सम्पादन गर्नभएको उक्त पुस्तक दैनन्दिनीय शैलीमा सिर्जना गरिएको छ । कार्यक्रमको सभापतित्व लेखकका पिता पवन बल्ल तथा कार्यक्रमको सञ्चालन निष्ठा बल्लले गर्नुभएको थियो ।
कार्यक्रमको सुरुमा प्रमुख अतिथि मन्त्री पाण्डेले पानसमा दीपप्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो । समारोहमा बोल्दै प्रमुख अतिथिले शारीरिक अपाङ्गता हुँदैमा मानिस कमजोर हुँदैन, बौद्धिक प्रतिभाले मानिसलाई मानिस बनाउन सक्छ भन्दै शारीरिक अस्वस्थतालाई बौद्धिक सबलताले विजय गरेको कुरा बताउनुभयो । सो अवसरमा सङ्घीय सांसाद दुर्लभ थापाले प्रिताको लेखनबाट सबैले ऊर्जाशील अभिप्रेरणा प्राप्त गर्ने कुरा बताउँदै भविष्यमा पनि अझ सशक्त कृति प्रिताबाट सिर्जना हुन सकुन् भन्ने शुभकामना व्यक्त गर्नुभयो । कृतिका सम्पादक जीवनाथ अधिकारीले कृतिको समीक्षा गर्दै प्रिताको लेखनीमा जीवनको व्यावहारिक दर्शन प्रप्त हुने कुरा बताउँदै एउटा ख्ट्टाले मोबाइलमा टाइप गरेर दुई सय बैसठ्ठी पृष्ठको पुस्तक तयार पार्नु सामान्य कुरा नभएको बताउनुभयो । कार्यक्रममा मन्तव्य दिँदै प्रकाशकुमार श्रेष्ठ (प्राचार्य, ख्वप कलेज), रामगोपाल कर्माचार्य (पूर्व राष्ट्रिय सचिव, नेपाल स्काउट), भक्त राजभणडारी (प्रिन्सिपल, एभरेस्ट इङ्लिस स्कुल), नारायणप्रसाद झा (पारिवारिक मित्र एवम् निर्देशक, शैक्षिक गुणस्तर परीक्षण केन्द्र) तथा रामेश्वर वाग्ले (२०४१ परवेशिका समूह, श्री पद्म माध्यमिक विद्यालय, भक्तपुर) ले प्रिताको सिर्जनात्मकता, दृढसङ्कल्पी भावना र धैर्य, जाँगर र लेखनप्रतिभाको सम्मान गर्दै शुभकामना दिनुभयो । ध्रुवप्रसाद बल्लले स्वागत गर्नुभएको यस कार्यक्रममा सन्दीप बल्लले लेखक प्रिताका बारेमा जानकारी गराउनुभएको थियो । अविचलित पाइला कृतिमा लेखक प्रिताले आफ्नो जीवनले अहिलेसम्म गरेका सङ्घर्ष, विभिन्न स्थानको भ्रमण गर्दा प्राप्त अनुभव, सांस्कृति, सामाजिक, धार्मिक विषयमा दैनिकी शैलीमा सरल भाषामा प्रस्तुत गरेकी छन् । पुस्तकमा दुई खण्ड रहेका छन् जसमा पहिलो खण्डमा प्रिताले लेखेका विभिन्न शीर्षकका ९३ वटा लामाछोटा रचनाहरू समावेश छन् भने दोस्रो खण्डमा प्रिताका बारेमा विभिन्न विद्वान् तथा आफन्तले लेखेका १५ वटा लेखहरू रहेका छन् । अनुशीलन नेपालले प्रकाशन गरेको यस पुस्तकको प्रकाशनको व्यवस्थापन भने २०४१ परवेशिका समूह, श्री पद्म माध्यमिक विद्यालय, भक्तपुरले गरेको हो । कार्यक्रम करिब तीन घण्टा चलेको थियो । कार्यक्रमका अन्तमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई अविचलित पाइला उपहारस्वरूप प्रदान गरिएको थियो भने जलपानको व्यवस्था पनि गरिएको थियो । –जीवनाथ अधिकारीद्वारा सम्प्रेषित
