के जगाती पाटी (फल्चा) नचाहिएको हो ?


असार १, २०८२, आइतबार | राति ०८:२४ बजे | 300


के जगाती पाटी (फल्चा) नचाहिएको हो ?

जे. एस. सुकुभटु, भक्तपुर

पाटी–पौवाको निर्माण मानव सभ्यताको विकास क्रममा भएको एक उपलब्धि हो । मानव कल्याणको लागि अति आवश्यक भएको अनुभव गरी पाटी–पौवा निर्माण गरेको हुन्छ । भक्तपुर नगरभित्र आवश्यकताअनुसार पाटी–पौवा निर्माण टोल, चोक, मन्दिर, धारा, पोखरी सेरोफेर, दोबाटो, चौबाटोहरूमा परापूर्वकालदेखि बनाई राखेर सभ्यताको परिचय दिइराखेको नगर हो । पाटी–पौवामा खानेपानीको समेत व्यवस्था गरिएको हुन्थ्यो ।
बाहिरबाट आएका बटुवाको बासस्थान नै पाटी थियो । पानी पर्दा, घामलाग्दा, हुरी चल्दा, बिरामी पर्दा यसको प्रयोग बढी हुने गर्दथ्यो । कहीँ–कहीँ पाटीभित्र पुस्तकालय स्थापना गर्न थालेको छ । जुन त्यसरी गर्नु हुने थिएन । त्यसको उदाहरण एउटा जगाती बसस्टप नजिकको पाटी पनि हो ।
जगाती पाटीमा बनेको पुस्तकालयले गर्दा करिब ३ फिटमात्र पाटीको रूपमा प्रयोग गर्न मिल्ने बाँकी ठाउँ रहेको छ । अहिले बाहिरबाट आउने बटुवाहरूलाई बास बस्न नमिल्ने बनेको छ । पानी पर्दा र गर्मीमा पनि सजिलोसँग बस्न मिल्ने अवस्था छैन । त्यसमाथि पनि करिब एक हप्ता अगाडिबाट त्यस जगाती पाटीभित्र तीन फिट बाँकी रहेको ठाउँको काठको फल्याक निकालेर ह्वाङ पारेको अवस्था छ । बुधबार साँझ परेको ठुलो वर्षामा त्यहाँ धेरैको विजोग भयो । पानी पर्दा त्यस पाटीमा बस्न पुगेका बटुवाहरूले ठुलो गुनासो गरे । न उभिन मिल्छ, न बस्न मिल्छ, न ठाउँ नै पुग्दो छ ।
बटुवाहरूमाझ चर्चा भयो, के यो पाटी नचाहिएको हो ? किन पाटीभित्र पुस्तकालय राखियो ? किन बाँकी तीन फिट रहेको पाटीको फल्याक निकालियो ? पाटी नचाहिएको हो भने भत्काएर खुला गरी बाटो भए पनि फराकिलो बनाए हुन्छ नि ? चल्दै नचल्ने पुस्तकालय राखेर बटुवालाई किन अप्ठयारो पार्ने ? शैक्षिक गन्तव्य बनाउने भक्तपुर नगरको लक्ष्यलाई जिस्क्याउने पटक्कै नचल्ने पुस्तकालय किन चाहियो ? आकलझुकल चल्ने भजनको लागि पाटी बार्नुपर्छ भन्ने छ ? भक्तपुर नगर बाहिर र बाहिरी जिल्लाबाट भक्तपुर नगर प्रवेश गर्दा सुरुमै देखिने उक्त पाटीको अवस्थाले भक्तपुर नगरको सौन्दर्यलाई जिस्क्याइरहेको त छैन ? भनपा–९ स्थित च्याम्हासिंह र सुजमारीको पाटी झन्झन् सफा र हरियालीले वातावरण सुन्दर बन्दै जाने अनि यही नगरभित्रको अर्को जगाती पाटी कुरूप गरी भक्तपुर नगरको प्रतिस्थालाई चुनौती दिने यो के भएको हो ? भक्तपुर नगरपालिकाको समयमै ध्यान जाओस् ।

  •  
  •  

Comments