ॐ व्रह्मानन्द भजनमालामा एक विहंगम दृष्टि
असार १, २०८२, आइतबार | साँझ ०५:१८ बजे | 95
प्रस्तुतकर्ता
डा. इन्दुल के.सी.
९८४१३३४११३
१) प्राक्कथन ः
भजनमालाले दिएको सन्देश
हाम्रो धर्मको मूल आधार हो वेदान्त दर्शन । यस दर्शनको पुष्प रुपमा आएको छ “व्रह्मानन्द भजनमाला” ।
व्रह्मानन्द भजनमाला भन्ने वाक्यांशमा प्रयोग गरिएका चार शब्दहरु १) व्रह्म २) आनन्द ३) भजन र ४) माला ले नै वेद दर्शनले के वताएको छ , वताउनको उद्देश्य के हो, उद्देश्य प्राप्तिको उपाय के हो र उपायहरुको संयोजन कसरी गरिनु पर्दछ भनेर हामीलाई जानकारी गराएको छ ।
क) वह्म शब्दले नै सृष्टि विज्ञानको वारेमा वताएको छ । सृष्टि भन्नाले प्राकृतिक वस्त्र र जीवका सृष्टि भन्ने बुझ्नु पर्दछ । यी दुई सृष्टिहरुको आधार भूमि “व्रह्म” हो ।
ख) यसरी नै आनन्द भन्ने शब्द ले “व्रह्म” तत्वको वोध भएमा के लाभ हुन्छ भन्ने बुझाउदै त्यो लाभ हो परमानन्द भन्ने जानकारी हामीलाई दिएको छ ।
ग) यसरी नै लक्षित आनन्द प्राप्तिका लागि बुझ्नु पर्ने व्रह्म तत्वको वोध का उपायहरुनै भजन हुन भन्ने संकेत गरेको छ । भजन शब्दको प्रचलित अर्थ भगवानको “स्तुती गान” पनि हो साथै भज सेवायाम भन्ने ब्युत्पत्ती गरेर भजन शब्दको अर्थ सेवा पनि गरिएको छ यी सबै अर्थहरु प्रसङ्ग अनुसार बुझ्नु पर्दछ , जो ठीक पनि हो । यहानिर ग्रन्थले बुझाउन खोजेको भजन शब्दको समष्टि अर्थ “उपाय” हो ।
घ) माला शब्दले उपायहरुको समूच्चय त बुझाउँछ नै साथै यस भजनमालाका प्रयोगकर्ताहरुले भजनको अध्ययन र गायन गर्नुको तात्पर्य आ–आफ्नो जीवनयात्रामा भजनले वताएको, बुझाएको जीवन पद्धतिलाई स्वीकार्दै ईश्वरको आश्रयमा रहेर जीवहरुले एक आपसमा मिलेर आफ्नो जीवन यात्रा सम्पादन गर्नु भन्ने बुझाएकोछ ।
यस प्रकार व्रह्मानन्द भजनमालाले मानिसले ईश्वराश्रयमा रहेर सन्तुलित र उन्नतित व्यवहार गर्नु नै व्रह्मानन्दको उपाय हो भन्ने प्रष्ट संकेत हामीलाई दिएको छ ।
अव हामी व्रह्मानन्द भजनमाला पुस्तकमा रहेका भजनहरुका वारेमा विवेचना गर्दछौ ।
यस पुस्तक भित्र रहेका भजनहरु
पुस्तक भित्र रहेका भजनहरु अर्थात उपायहरुले मानिसले विभिन्न प्रकारले आफ्नो चित्तको शुद्धी गर्दै भगवानको नजिक हुदै जाने क्रम वताएको छ ।
यस उपायहरुलाई ४ प्रकारले प्रस्तुत गरिएको पाइन्छ । निर्गुण भजनको प्रस्तुतीमा व्रह्मको निर्गुण पक्ष वारे वताउने प्रयास गरिएको छ । यसलाई अवर्णनीय समेत भन्ने गरीन्छ । त्यसैले विधि मुखले (के हो भनेर वर्णन गर्ने) वर्णन गर्न नसकेपनि निषेध मुखले (के होइन भनेर वर्णन गर्नेे ) वह्मलाई विषय वनाइएको छ । यसैलाई निर्गुण भजन भनिन्छ । साथै सगुण भजन भनेर वह्मको नाम, रुप,धाम, गुण, लीला र सेवकहरुको वर्णन गर्ने गरीन्छ । वह्मको लीला रुप भनी प्राकृतिक रुप अर्थात पृथ्वी, जल, तेज, वायु र आकाश र त्यसभित्र लुकेका वस्तुलाई वर्णन गर्ने गरीन्छ । साथै मानव जातिले आपसमा कस्तोे व्यवहार गर्नु पर्छ भन्ने विषय नीति शास्त्रीय विषय भएकोले नीति शास्त्रलाई परस्पर उपकारी, दयालु, मैत्री रुपले प्रस्तुत गर्दै मिलनसारीता सिकाइएको छ ।
यस वाहेक अन्य भजनहरु पनि यसमा समाबेश छन ।
५०० वटा भजन भएको पकेट साइजको यो पुस्तक श्री व्रह्मानन्द आश्रम पुष्करको प्रकाशन तथा गर्ग एण्ड कम्पनी दिल्ली–९ को मुद्रणमा प्रस्तुत गरिएको छ । यस भजनमालाको रचयिता परमहश स्व. श्री १०८ स्वामी व्रह्मानन्दजी महाराज हुनुहुन्छ । श्री स्वामी ज्यूको दीर्घकालीन शास्त्र अध्ययन र श्रवण, मनन तथा निदिध्यासनको (ध्यानको) अभ्यासबाट कमाएको ज्ञानलाई जीवन कल्याणको लागि प्रस्तुत गर्नु भएको छ । यस पुस्तकमा ३६१ पृष्ठ रहेको छन् ।
यसमा प्रस्तुत गरीएका भजनहरु शास्त्रीय संगीतको अध्ययन गरेका व्यक्तिहरुले समेत रुचाएर गायन गरिएको पाइन्छ । यस पुस्तकमा गायनको दृष्टिकोणले राग, स्वर, ताल, लय आदिको नाम समेत उल्लेख गरिएको छ । जस्तै राग जङ्गला वरहसं राग, वन्जारा राग, गजल, प्रभाती, श्याम कल्याण, पीलु राग, राग आशावरी, राग लावती, राग ठूमरी, कसरी राग, राग मारवाडी, राग पहाडी, राग होटी आदि छन् ।
तालको दृष्टिकोणबाट तीन ताल, दादरा, धमाल, कवाली, धीमा आदि नामहरु प्रस्तुत गरिएको पाइन्छ । यसरी राग र तालहरुको उल्लेख गरेर भजन गायनलाई शास्त्रीय संगीतको दृष्टिकोणबाट समेत उच्चस्तरको वनाउने प्रयास गरिएको छ ।
यस पुस्तकको आकृति
यसमा भएका भजनहरुको प्रयोग कसरी भइ रहेछ ?
भक्तहरुको नगर भक्तपुरमा मल्लकाल देखि नै मल्लराजाहरुको शास्त्रीय भजनहरु प्रतिको अनुरागको कारणले गर्दा यस परम्पराको थालनी भएको पाइन्छ । यस परम्पराको धरोहरका रुपमा अहिले पनि भक्तपुर नगरक्षेत्रमा अनेक अनेक भजन मण्डलहरु सक्रिय अवस्थामा नै रहेका छन् । जस्तै श्री श्याम सुन्दर रास भजन मण्डल, नासमना, वंशिगोपाल रास भजन मण्डल – वंशगोपाल, राम झोपडी भजन मण्डल – गोल्मढी, श्री दत्तात्रेय रास भजन मण्डल – तचपाल, श्री कृष्ण भजन मण्डल – हनुमानघाट लगायतका भजन मण्डलहरुमा अहिले सम्म पनि यस भजन मालाको भजनहरु गायन भइ आएको छ ।
निर्गुण भजन नमूनाको रुपमा
यस पुस्तकको पृष्ठ ८७ मा रहेको गजल ताल ३ को निर्गुण भजन जसको बोल यस्तो छ ।
गालिफ तुं शोच मनमें हरिनाम क्यों बिसारा
सुनता नही बजेहै सिर कालका नगारा ।। टेक
जोबन भरी है नारी दिलको लगे पियारी
जब मौकी तियारी तुझसे करे किनारा ।।१।।
घर माल धन खजाना संगमें कोई न जाना
क्यों देखके लुभाना सब झूठ है पसारा ।।२।।
सुंदर है देह तेरी होवे भसमकी ढेरी
पलकी लगे न देरी बिरथा करे बिचारा ।।३।।
मायाके जालमांही मूरख रहा फसाई
व्रह्मानंद मोक्षपाई हरिचरणको सहारा ।।४।।
सगुण भजन नमूनाको रुपमा
यसै गरी पृष्ठ ३०३ मा रहेको सगुण भजन मंगल ताल ३ जसको बोल यस्तो छ ।
शिव भोला भंडारी साधो
शिव भोला भंडारी रे ।।टेक।।
भस्मासुरने करी तपस्या वर दीना त्रिपुरारीरे
जिसके सिरपर हाथ लगावे भस्महोय तनसारीरे ।।१।।
शिवके सिरपर हाथ धरनकी मनमें दुष्टबिचारी रे
भागे फिरत चहूं दिशशंकर, लगा दैत्य डर भारीरे ।।२।।
गिरजारुप धार हरि बोले बात असुरसे प्यारीरे
जोतूं मुझको नाच दिखावे होवँ नार सुमारीरे ।।३।।
नाचकरत अपने सिरकरधर भसाभयोमतिमारी रे
व्रह्मानंद देतजोईमागेँ शिव भक्त नहितकारी रे ।।४।।
उक्त दुई भजनहरुमा प्रयोग गरीएका शब्दहरु भाषागत दृष्टिकोणले हिन्दी भाषिकाका साथै केही उर्दु शब्दहरुको प्रयोग भएको पाइन्छ ।
उक्त दुबै भजनहरु म स्वयम (इन्दुल) ले पनि हार्मोनियम बाद्य साधन प्रयोग गरी भजन गायन गर्ने गरेको मेरो युवा काल देखि नै हो । युवाकालमा सस्कारित भएको यो प्रयास आज यो यमको द्वार नजिक नजिक पुगेको वर्ष ८४ नाघेको यस उमेरमा समेत गायन गर्दा प्राणवायुको आयतन विस्तारमा अपेक्षित शक्ति कम भएपनि मनोशक्ति यथावत् नै रहेकाले प्राणशक्ति समेत रहेका युवाहरुले समेत यस भजन गायनको अभ्यास गरिदिए म यस उमेरमा समेत अझ वढी प्रफुल्लित हुन पाउने थिएँ ।
समग्रमा
वर्तमान युगले गरेको एक पक्षीय अपेक्षाले व्यक्ति र समाजलाई भौतिक दौड तर्फ मात्र डो¥याएको छ । आवश्यक छैन भनेको होइन भौतिक दौड, तर यसको सम्पूरक पाटो हो अध्यात्म उन्मुखता भन्ने कुरा आजको पुस्ताले बुझेर भौतिकतालाई अध्यात्मिक शक्ति समेतले बल प्रदान गरेमा उचित हुने थियो कि ? साथै यस्तो गरी रहँदा शास्त्रीय भजनहरुमा समेत चासो बढन गर्ई सस्कृति, कला, साहित्य र गायन तर्फको विकास हुन जानेछ । यस प्रकार यस भजन मालाले समग्र विकासको बाटो देखाउदै जीवलाई आफ्नो जीवनको उत्कृष्ट लयमा पु¥याउने विश्वास मैले लिएको छु । यस लेखले सबैलाई सत्मार्गमा डो¥याओस । अस्तु
