रगत नाफाको वस्तु होइन: स्वेच्छिक रक्तदानको संरक्षण, निरन्तर प्रवर्धन तथा उचित मुल्याङ्कन आजको आवश्यकता


जेठ ३१, २०८२, शनिबार | दिउँसो ०१:५९ बजे | 215


रगत नाफाको वस्तु होइन: स्वेच्छिक रक्तदानको संरक्षण, निरन्तर प्रवर्धन तथा उचित मुल्याङ्कन आजको आवश्यकता

सुमित बाला

भक्तपुर जिल्ला अध्यक्ष, नेपाल स्वयंसेवी रक्तदाता समाज

WHO को अध्ययन अनुसार कम्तिमा २% जनसंख्याले नियमित रक्तदान गरे रगतको अभाव हुदैन। नेपालको स्वेच्छिक रक्तदान दर दक्षिण एशियामा उच्च मानिन्छ। हाम्रो लगभग 0.5% जनसंख्या स्वेच्छाले नियमित रक्तदान गर्छ, जुन भारत (0.34%) भन्दा उल्लेखनीय रूपमा अगाडि छ। नेपालमा नियमित रक्तदान गर्न जनसंख्याको आधारमा हामीले रगत तथा रक्त तत्वको अभाव नहुने व्यवस्था गर्न अझै मिहिनेत गर्नै पर्छ। तर के दक्षिण एसियामा नै परोपकारी देशको रूपमा परिचित नेपाल र नेपालीको परोपकारी भावना हाम्रो नीतिमा कदर भइरहेको छ?

हाम्रो दैनिक अनुभवले भन्छ - छैन। नियमित रक्तदान गर्ने मानिसले पनि आफुुलाई रगत आवश्यक पर्दा रगत नपाउनु र रगतको लागि भौतारिनु वा भनसुन गर्न बाध्य हुनु नौलो कुुरा होइन।

हाम्रो रक्त व्यवस्थापन प्रणालीमा देखिएका लापरवाही र व्यापारिक प्रवृत्तिले दाताको शुद्ध नीयतमाथि कुठाराघात गरेको छ। सरकारले 2022 मा रक्तको मूल्य प्रति इकाइ Rs 1,640 सम्म बढायो, जबकि यो रगत स्वेच्छाले दान गरिएको थियो। अझ निजी रक्त बैंकहरूले विभिन्न शीर्षक थपेर कानुनी सीमा नाघेर शुल्क लिने, फिर्ता रकममा अनियमितता गर्ने, र भारततर्फ तस्करी गर्नेसम्मका घटनाले प्रणालीलाई गम्भीर संकटमा पारेका छन्। यो सामान्य तरिकाले समाधान हुने विषय नभएकोले सम्पुर्ण सरोकारवालाहरू सचेत हुन जरूरी छ। यसैबीच, सुरक्षा र गुणस्तरको अवस्था झन चिन्ताजनक छ।

अधिकांश अस्पतालहरूमा Blood Irradiator यन्त्र छैन, परीक्षणहरू WHO को मापदण्डभन्दा सीमित छन्, र संक्रमित रगतको व्यवस्थापन अपारदर्शी छ। केवल एक अस्पताल ( सिभिल अस्पताल) मा मात्र Irradiator यन्त्र हुनु हाम्रो स्वास्थ्य प्रणालीको उपेक्षा हो। अत्यन्त महंगो अस्पतालमा पनि रगतको गुणस्तर केवल पोस्टर र अस्पतालको बीलमा सिमित गरिएको छ। रगत नाफा कमाउने साधन होइन, जीवन बचाउने स्रोत हो।

 

आधुनिक उपचार प्रणालीमा रगतको निक्कै ठूलो महत्व छ। संसारमा रगत बनाउन सक्ने कुनै मेशिन बनेको छैन। मानिसको शरिर मात्र यसको स्रोत हो। यस प्रकारको जीवनरक्षक संसाधनको व्यावसायिकीकरणले हजारौं नेपालीको स्वास्थ्य र विश्वास दुवैमा आघात पुर्याएको छ। आजको आवश्यकता- १. संघियरूपमा नै निशुल्क रगतको सिद्धान्त स्पष्ट रूपमा लागू गरियोस्। २. रक्त बैंकहरूलाई कानुनी रूपमा गुणस्तर निर्धारण गरी पुनःलाइसेन्सिङ गरियोस्। ३. स्वतन्त्र नियामक निकाय गठन गरियोस्, जसले मूल्य, गुणस्तर र वितरण निगरानी गर्ने भुुमिका निर्वाह गरोस्। ४. रगत विकिरण उपकरणमा सार्वजनिक लगानी गरियोस्, र सबै अस्पतालहरूमा यसको पहुँच सुनिश्चित गरियोस्। ५. स्वेच्छिक दाताहरूको सम्मान र संरक्षणका लागि कानुनी सुरक्षा प्रवाह गरियोस्। स्वेच्छिक रक्तदान नेपालमा सामाजिक सद्भावको प्रतीक हो। रगत तथा रक्त तत्वमा सिमित व्यक्ति तथा व्यवसायीहरूको फाइदाको लागि रक्तदाताहरूको अवमुल्यण तथा बिरामीहरूको स्वास्थ्यमा खेलाची भइरहने हो भने नेपालीहरूको परोपकारी तथा स्वेच्छिक दानको भावना क्षीण हुदै जानेछ। आजै, नीति निर्माताहरूले यो कुरा मनन गर्न जरूरीछ —रगतमा व्यापार होइन, जीवन रक्षाको कवज हुनुपर्छ। विश्व रक्तदाता दिवसको शुभुकामना "रगत दिऔं, आशा दिऔं मिलेर जीवन रक्षा गरौं!" जुन १४, २०२५

Comments