यात्रा विवरणः रमाइलो यात्रा
जेठ ३०, २०८२, शुक्रबार | विहान १०:३० बजे | 420
जीवनाथ अधिकारी
गङ्गा दशहराको दिन । दशबाह्र दिनअगाडि नै पाका उमेरका ज्येष्ठ महानुभावहरू आआफैँ मिलेर आफ्नै आयोजनामा केही धार्मिक तथा प्राकृतिक स्थलको लघुयात्रा गर्ने चाँजो मिलाउने भन्ने निर्णय गरिएअनुरूप आजलाई यात्राको दिन भनेर तय गरियो । संयोजक विश्वनाथ ढुङ्गेलेको संयोजनमा रामप्रसाद दवाडीको अझ विशेष पहलमा हामी चौध जनाको समूह लघुयात्रा गर्ने भयौँ । नभन्दै जाने दिन नजिक आउन लाग्यो । तर दुईतीन दिनअघिदेखि यातायात व्यवसायीको आन्दोलन सुरु भएकाले यस दिन गाडी चलेन भने के गर्ने भन्दे द्विविधा भने बाँकी नै थियो । तर गाडी चल्ने निश्चित भएपछि भने हामीलाई ढुक्क भयो ।
यस यात्रालाई संयोजन गर्ने काम सूर्यविनायक नगरपालिका वडा नं ३, ज्येष्ठनागरिक समन्वय समितिले गरेको थियो । गाडी ९सानो माइक्रोबस–१४ सिटे० लिएर चालक सुमन बिहान ६ बजे नै बालकोट अधिकारी गाउँनजिक आइपुगे अलि तलबाट सुषमा र विश्वनाथलाई चढाएर । घिमिरेचोकमा अरू आठ जना जम्मा भइसकेका थियौँ । अलि पर रामप्रसाद सर र उहाँका साथी गुल्मी धुरकोटबाट यता बसाइ सरेका चन्द्रबहादुर जिसी बालाई राखेर तल सन्ध्या भट्टराईकामा पुग्दा झन्डै १५ मिनेट लाग्यो । त्यहाँ उहाँले आजका लागि खानेकुराको व्यवस्था गर्नुभएको थियो । उहाँका घरमा पुगेर सामान गाडीमा राखियो । सन्ध्याका श्रीमानले सामान गाडीसम्म ल्याउन सघाउनुभयो तर उहाँ आफू भने हामीसित जान नभ्याउने । अलि वर, हनुमन्ते तरेर डेरीबाट दही र कुराउनी पनि तयार पारियो । अब एक जना साथीलाई लिन बाँकी थियो विजय । उहाँ ठिमी बसस्टपमा पर्खिँदै हुनुहुन्थ्यो । उहाँलाई पनि लिएपछि पाउरोटी बनाउने पसलमा सुमनले पुर्याए । त्यहाँ केही ताजा पाउरोटी र डुनोट किनेर गाडीमा राख्यौँ । हाम्रो यो यात्र साँखु हुँदै जहरसिङपौवाबाट भोटेचौरसम्मको तय भएकाले गाडीको रुटपर्मिट लिन आवश्यक थियो । त्यसैले सुमनले हामीलाई लिएर सिर्जनानगर पर्याए । उनी यातायातको कार्यालयमा पसे भने हामीले पानीको एक कार्टुन किनेर गाडिमा राख्यौँ । एकै छिनमा रुटपर्मिट लिने काम सकिएछ, गुरुजी तुरुन्त आइपुगे ।
हाम्रो यात्रा अब निकोसेरा, बोडे हुँदै मूलपानीतिर अघि बढ्यो । समय सातबाट माथि नै भइसकेको थियो । तात्ताता डुनोट सबैले हात हातमा लिएर स्वादिलो मान्दै सबेरैको खाजाका रूपमा ग्रहण गरियो । मूलबानी पिपलबोटबाट माथि गोकर्णतिर नलागी सिधै साँखुतर्फ हामी हान्नियौँ । सबै जना निकै उत्सुक देखिन्थे यस यात्रामा । सङ्ख्या थोरै भएर पनि व्यवस्थापनमा सहज थियो हामीलाई । सबै जना उमेरले पाकै थियौँ लगभग ५५ देखि माथि झन्डे ९० को हाराहारी उमेरसम्मका हामी । आनको यस यात्राका हामी सहभागी यस प्रकार थियौँ स्
संयोजक विश्वनाथ ढुङ्गेल, सचिव शुभनाथ काफ्ले ९श्रीमती रमादेवी काफ्लेसहित०, सदस्य विजयकुमार बस्नेत, सुषमा श्रेष्ठ, जीवनाथ न्यौपाने, सानुकाजी खनाल ९श्रीमती उर्मिला खनालसहित०, कल्पना गेलाल, सन्ध्या भटटाई, सल्लाहकार द्वय रामप्रसाद दवाडी र जीवनाथ अधिकारी ९श्रीमती देवी अधिकारीसहित० तथा चन्द्रबहादुर जिसीसमेत जम्मा १४ जना ।
“साँखु बजार नपुग्दै अलि वर एउटा मन्दिर छ, त्यहाँ पनि जानुपर्छ ।” भनेर सानुकाजीले प्रस्ताव गर्नुभएको थियो । नभन्दै सर्वप्रथम हामी त्यता लाग्यौँ । मूल बाटाबाट अलिकति भित्र पर्दो रहेछ सलम्बु देवी माईको मन्दिर( साँखु नपुग्दै अलि वरै । त्यहाँ एउट शिव मन्दिर पनि रहेछ । चौसठ्ठी लिङ्ग पनि स्थापना गरिएका । हाम्रो गाडी मन्दिर परिसरमै पुग्यो । सबै जना गाडीबाट ओर्लिएर मन्दिरमा दर्शन गर्न र फोटो खिच्न लाग्नुभयो । सबै ठाउँमा दर्शन र फोटो खिचाइमा प्रायस् सबै नै सौखिन भएको लाग्यो मलाई । हामीले पनि त्यसै गर्यौँ । लगभग आधा घण्टाको अलमलपछि हामी लाग्यौँ साँखु बजारतर्फ जहाँबाट लगभग साढे एक किलोमिटरको उत्तरतर्फको दूरीमा बज्रयोगिनी माईको मन्दिर अवस्थित छ । पुरानो साँखु बजार हुँदै केहीबेरको उकालो चढाइपछि बज्रयोगिनी मन्दिर पुगियो । जहाँ पनि हिन्दु मठमन्दिर र तिनका परिसरमा बाँदरहरू पाइन्छन् नै । यहाँ पनि हामी पुग्दो बाँदरहरू यत्रतत्र चकचक गरिरहेका देखिन्थे । केही ससाना बच्चा त अड्याइराखेका मोटरसाइकलमा बसेर मजाले चलाउने अभ्यास गरेझैँ पनि गर्दै थिए । गाडीका सबै झ्याल बन्द गरेर हामी तल मन्दिरतर्फ झर्यौँ । झ्याल बन्द नगरे गाडीभित्र पसेर बाँदरले सबै कब्जा गर्लान् भनेझैँ देखिन्थ्यो ।
गाडी राखेका ठाउँबाट मन्दिर अलि तल पर्दछ खुड्किलाबाट तल झर्नुपर्ने । हाम्रा साथीहरू उमेरले पनि अलि पाकै भएकाले फटाफट हिँड्न सबैलाई गारो । कसैका घुँडा दुख्ने, कसैको के समस्या त कसैको के । सबै बिस्तारै तल झर्यौँ । बज्रयोगिनीको मूल मन्दिर पुग्नुअघि माथिल्लो खण्डमा उग्रताराको मन्दिर छ, एक तलामाथि । काठको पुरानै शैलीको भर्याङ चढेर माथि जानुपर्ने । यहाँ बिस्तारै सबै जना दर्शन गर्न माथि जानुभयो । एकापटि छेउमा अखण्ड धुनी रूपमा आगो बलिरहने, त्यहाँको खरानी प्रसादस्वरूप भक्तहरूले ग्रहण गर्ने चलन छ ।
सबै जना अब मूल मन्दिरतर्फ लागियो । यहाँबाट बज्रयोगिनीको मन्दिर अलि तल पर्छ । सिँढीबाट झर्नुपर्ने । सबै बिस्तारी तल झरेर बज्रयोगिनीको दर्शन गरियो । समय लगभग नौको वरिपरि थियो । आज मानिसको खासै भिड थिएन यहाँ । मन्दिरको ढोका पनि खुलै भएकाले मजासित दर्शन र पूजा गर्न सकिने अवस्था थियो । हाम्रा टोलीका कतिपय साथीले पूजासामग्री र धुपसमेत लगेकाले पूजाआजा गर्नुभयो भने हामी कतिले दर्शन मात्र गर्यौँ । फोटो खिच्न त छोड्ने कुरै भएन । सबैले फोटो रुचिअनुसार खिच्ने कार्य गरियो । मन्दिरको समीपमै पश्चिमपटि ससाना गुफा पनि छन् यहाँ । केही साथीहरू गुफा हेर्न पनि जानुभयो भने कोही जानुभएन । यहाँ रहेको एउटा चतुर बाँदरले शुभनाथले बोकेको तिलजौसहितको पूजासामाको झोलै अपहरण गरिदियो । पर लगेर बाँदरले झोलामा भएका सामान एक एक गरेर झिक्तै हेर्दै जाँच्तै थियो । समय क्रमशस् बित्तै थियो । अब हामी गाडी भएठाउँमा आएर जहरिसङपौवातर्फ लाग्यौँ साढे ९ बजेतिर ।
हाम्रो यात्रा जहरिसङपौवातिर सोझियो । साँखुबजारबाट करिब ७ किलोमिटरको दूरीमा उत्तरतर्फ जहरसिङपौवा रहेको छ । बाटामा एउटा मन्दिर रहेछ– नारायणेश्वर महादेवको, सुमनले हामीलाई त्यहाँ पनि पुर्याए । मूल सडकबाट यसो पश्चिमपटि यो मन्दिर रहेको छ तर तेर्सै तेर्सो निकै हिँड्नुपर्ने रहेछ । सानो खोलाका तीरैमा यो मन्दिर सुन्दर रूपमा स्थापित छ । यसलाई ६४ लिङ्गमध्ये ३३ औँ लिङ्ग मानिँदो रहेछ, यसको जानकारी प्रवेशद्वारमा राखिएको सङ्केत पाटीमै गराइएको छ । खोला सानो देखिए पनि बर्खामा भने ठुलै हुने रहेछ । शालीनदीको एउटा स्रोत यो पनि रहेछ । सडकबाट निकै हिँडेर मात्र ९लगभग १० मिनेट० पुगिने भएकाले दवाडी सरलगायत हिँड्न गारो हुने केही साथी जानुभएन यहाँ । हामी भने अधा घण्टाजति लगाएर रमाइलो गर्दै फर्कियौँ । यो पनि एउटा महत्त्वपूर्ण पर्यटकीय स्थल रहेछ, विशेष गर्मीका बेलामा । तर पानी पर्दा भने जुका लाग्ने सम्भावना पनि त्यत्तिकै देखिन्छ यहाँ । हाम्रो देशमा यस्ता प्राकृतिक सौन्दर्यका अनुपम ठाउँहरू छन्, जहाँ हामी पुग्न र परिचय पाउन सकेका छैनौँ भने तिनको मूल्य पहिचान गर्नसमेत सकेका छैनौँ । यो हाम्रो दुर्भाग्य मान्नुपर्छ ।
सबै जम्मा भइसकेपछि उकालो लागियो अब । जहरसिङपौवा पुग्न अब धेरै बेर थिएन । यो १७९० मिटरको उचाइमा अवस्थित छ । यहाँबाट चारैतिर प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । हामी यहाँ पुग्दा झन्डै १० बजेको थियो । यही ठाउँबाट मेलम्ची तथा भोटेचौरस्थित एभरेस्ट चिया बगान जाने बाटो छुट्टिन्छ । हामी भने पहिला यहाँ लप्सेफेदीमा रहेको जेपी पाउन्डेसन ९मैत्रीसेवा आश्रम० जाने भनेर पश्चिमतर्फ लाग्यौँ । यो संस्था निकै सुन्दर ठाउँमा रहेछ । ३० भन्दा बढी सानाठुला घरहरू र निकै ठुलो क्षेत्रफलमा तयार पारिएको यस आश्रममा अहिले करिब ३० जना बृद्धवृद्धा तथा असहायहरू आश्रित रहेछन् । गौशालाको पनि राम्रो व्यवस्था गरिएको रहेछ यहाँ । अगाडि नै खबर गर्दा भने यहाँ पुग्ने मानिसलाई खाना खुवाउने व्यवस्था पनि हुने रहेछ यथाशक्य चन्दा सहयोगमा । हामीलाई पनि त्यहाँका एक जना पराजुली भाइले खाना खाने भए हामी व्यवस्था गरिदिन्छौँ भन्दै थिए तर हामीले नै खानेकुरा बोकेको हुनाले धन्यावद दिँदै हामीले नै ल्याएका छौँ भन्यौँ । उनको सहृदयताका लागि भने धन्यवाद दियौँ तर उनले चिया चाहिँ खानै पर्छ भनेर आग्रह गरेकाले नकार्न सकेनौँ । सबैका तर्फबाट रु दुईहजार सहयोगस्वरूप चन्दा प्रदान गर्यौँ ।
त्यहीँको एउटा सुन्दर छेउमा हामीले लगेको खाजा खायौँ । पाउरोटीमा ताजा कुराउनी राखेर खाँदाको स्वाद अर्कै थियो । साथमा चना पनि थियो । टन्न खाएर हामी यहाँबाट भोटेचौरतर्फ प्रस्थान गर्यौँ । तर करिब १० मिनेटजति गएपछि सडकमाथितिरबाट पहिरो गएर बाटो असहज भएको भेटियो । हाम्रो गाडी सानो भएकाले फस्ने सम्भावना धेरै देखियो । सुमनले गाडी उता लैजाने आँट गरेन । सबैको सल्लाहले फर्कनु नै श्रेयस्कर ठानियो । यस्तो अवस्थामा बलमिच्याइँ गरेर गाडी लगियो भने आफैँ फन्दामा पर्ने सम्भावना रहन्छ । त्यसैलै हामी जहरसिङपौवातिर नै फर्क्यौँ ।
यो ठाउँ निकै रमणीय छ । विशेष गरी पिकनिक आउनेका लागि अति उपयुक्त मानिन्छ । यहीँबाट नगरकोट जाने बाटो पनि छुट्टिन्छ । बाटो कच्ची छ तर पैदलयात्रा वा पदयात्राका लागि निकै उपयुक्त छ यो मार्ग ।
जहरसिङपौवाको ऐतिहासिकता स्
काठमाडौँको उत्तरतर्फ अवस्थित ुजहरसिंह पौवाु नामक स्थानको नामकरण ऐतिहासिक व्यक्तित्व काजी जहरसिंह बस्न्यातसँग सम्बन्धित छ। उहाँ नेपाल एकीकरणको समयमा सेनापति शिवरामसिंह बस्न्यातका नाति हुनुहुन्थ्यो। शिवरामसिंहले विसं १८०३ फागुन ५ गते भक्तपुर नजिकैको युद्धमा वीरगति प्राप्त गर्नुभएको थियो। उहाँको स्मृतिमा, जहरसिंहले विसं १८५२ मा पौवा ९विश्रामस्थल० निर्माण गर्नुभयो, जसलाई ुजहरसिंह पौवाु भनिन थालियो । ृलबनबचष्पलभधक।लबनबचष्पलभतधयचप।अयmेृज्ञे, ृगपभचबब।अयmे
यस स्थानको ऐतिहासिक महत्त्व पनि छ । काठमाडौँबाट साँखु हुँदै तिब्बत जाने पुरानो व्यापारिक मार्गमा पर्ने यो स्थानमा यात्रुहरूका लागि विश्राम, पानी र भोजनको व्यवस्था गरिएको हुन्थ्यो पहिला पहिला । त्यसका लागि गुठीसमेत स्थापना गरिएको थियो । ृलबनबचष्पलभधक।लबनबचष्पलभतधयचप।अयmे
समयक्रममा, स्थानीय समुदायमा ुजहरसिंह पौवाु नामको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरू फैलिएका थिए, जस्तै, कुनै राजाले घोडा चढी आएका जारलाई काटिएको स्थान भएकाले ुजारसिंह पौवाु भनिएको भन्ने विश्वास । तर, ऐतिहासिक प्रमाणहरूका आधारमा यो नाम काजी जहरसिंह बस्न्यातको नामबाट आएको पुष्टि भएको छ । ृलबनबचष्पलभधक।लबनबचष्पलभतधयचप।अयmे
यहाँ पनि निकैबेर घुमियो तर कतिपय साथीहरू हिँड्नका गाराले गाडीमै बस्नुभयो । हामी हिँड्न सक्नेजति निकैबेर घुम्यौँ । यसलाई सुन्दर पार्कका रूपमा विकास गर्न लागिएको रहेछ । पिकनिकका लागि निकै टहराहरू बनाइएका छन् भने एउटा सुन्दर स्तूप पनि निर्माण गरिएको रहेछ । वरिपरिका बासिन्दाका लागि त साँझबिहान घुमफिर गर्न मनग्गे हुने रहेछ यो ठाउँ । १७९० मिटरको उचाइमा रहेकाले चिसोचिसो वातावरण, स्वच्छ र स्वस्थ हावापानीका कारण पनि यो ठाउँ निकै महत्त्वपूर्ण रहेको छ ।
अबको हाम्रो गन्तव्य प्रचलित शालीनदीतर्फ रह्यो । अघिकै बाटो हामी साँखु फर्क्यौँ । यहाँ पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म भव्य मेला नै लाग्दछ । यहाँ हामी सबै जना गाडीबाट झरेर घुमफिरमा लाग्यौँ । सर्वप्रथम तल नदीमा ९शालीनदीमा० नुवाइधुवाइ गरेर माधवनारायणको पूजारदर्शनपछि नदीको पारि अलि तल रहेका गोमा, चन्द्रावती, नवराज आदिका ससाना स्थान र कुटीको दर्शन र पूजापछि माथि स्वस्थानी माताको मन्दिरमा पूजा गर्ने विधान र प्रक्रिया रहेको छ । नदीमा स्नान गर्ने घाट सिँढीका रुपमा रहेको छ । नदीमा सानो दह छ, जसमा मानिसहरू डुबुल्की मार्ने गर्दछन् । हामी पनि यहाँ केही बेर अलमलिएर अब कागेश्वरी जाने भनेर गाडी अगाडि बढायौँ । डाँछी आइपुग्दा पौने दुई भएछ । यहाँबाट कागेश्वरी जानका लागि उत्तरतर्फ लाग्नुपर्दछ । गर्मी निकै थियो, मध्य दिन । चिसो खाने रहर धेरैको तर त्योभन्दा राम्रो त मोही पाइए हुन्थ्यो भनेर कतै बाटामा डेरी छन् कि भनेर खोज्न थाल्यौँ । नभन्दै एउटा डेरी भेट्टाइहालियो । मोही पनि रहेछ । लिटरको ७५ रुपियामा पाइने रहेछ । मोही किनेर खाएपछि सबैको आँत शीतल भएको अनुभूति भयो । अब लाग्यौँ ठाडै उकालो । झन्डै ८ किलोमिटरको दूरीमा रहेको कागेश्वरी महादेवको मन्दिर पुग्न २५र३० मिनेट लाग्यो होला । निकै उचाइमा कागेश्वरी खोलामा यो मन्दिर रहेको छ । गाडीबाट झरेर पनि निकै हिँड्नुपर्ने रहेछ मन्दिर पुग्न । करिब १४०० मिटरको उचाइमा रहेको यो मन्दिर कागेश्वरी खोलाको काखैमा अवस्थित छ ।
कागेश्वरी नामकरणको एउटा किंवदन्ती त्यहाँका पूजारीले यस प्रकार सुनाए स्
परापूर्व कालमा एकपटक गाठालाहरूले गाई चराइरहेका बेलामा त्यहाँ एउटा कागले सानो गुफाजस्तो स्थानमा दुध चढाइरहेको देखे । उनीहरूले त्यहाँ के रहेछ भनेर हेर्दा शिवलिङ्ग फेला पर्यो । यो शिवलिङ्ग कागले पत्ता लगाएको हुनाले कागको सम्मानमा कागेश्वरी महादेव भनेर नामकरण गरियो ।
यहाँ खोलाको दहका बिचमा स्तम्भमा कागको मूर्ति पनि स्थापित गरिएको छ । खोलाको तल्लो तहमा दहका छेउमा कागको मूर्ति स्तम्भमाथि पहेँलो रङमा स्थापित छ भने माथिल्लो तहमा सानो गुफमा भित्र कागेश्वरी महादेवको शिवलिङ्ग रहेको छ । छेउमा खोला झरनाका रूपमा झरिरहँदा निकै शोभायमान देखिँदो रहेछ यो स्थान । यहाँबाट तलतिर देखिने बस्ती पनि सुन्दर थियो बादल र घामको लुकामारीमा । पूजाआजा र दर्शनपछि निकैबेर सबैले फोटो खिच्ने काम पनि भयो । अलिकति नमज्जा चाहिँ के भयो भने जीवनाथ न्यौपाने र विजय बस्नेत मन्दिरसम्म पुग्न सक्नुभएन । हामी हिँड्न सक्नेजति अघि अघि लागेका थियौँ । उहाँहरू बिस्तारै पछि आउँदै हुनुहुन्थ्यो तर बिचतिर पुगेपछि हिँड्न गारो भएछ । उहाँहरू दई जना मात्र । फेरि सानोतिनो जङ्गल नै थियो त्यहाँ, एक्लै हुँदा मन ढक्क पनि हुने । त्यही भएर उहाँहरू गाडीतिरै फिर्नुभएछ ।
फर्केर वर आउँदा सानी केटीले आलुबखडा बेच्न राखेकी रहिछन् १०० रुपियाँमा सानो प्लास्टिकको झोलामा आधाजति । अलि महँगोजस्तो माने साथीहरूले तर पनि दुस्ख गरेर निकै माथिदेखि ल्याएर बेच्न बसेकी हुनाले खासै महँगो पनि लागेन मलाई चाहिँ । किनभने हामी उस्तै परे दुई कप चियालाई नै सय रुपिया खर्च गर्न हिच्किचाउँदैनौँ । तर यस्ता सामान्य गाउँलेले तरकारी वा फलफूल बेच्न राखेको देख्यौँ वा भेट्यौँ भने दुईपाँच रुपियाका लागि पनि खुब मोलमोलाइ गर्छौँ । यो हामी सहरिया नेपालीको बानी नै भइसकेको छ । आलुबखडा केही साथीहरूले किन्नुभयो । एक भाग मैले पनि किनेँ । यति बेला घडीको छोटो सई ३ र लामो सुई १२ मा पुगिसकेका थिए । बिहान १० बजेतिर खाजा खाएको, त्यसपछि खाने व्यवस्था मिलेको थिएन । अब फर्किँदै बाटामा अनुकूल ठाउँमा बोकेको खाजा खाने भनेर ओरालो लाग्यौँ ।
कागेश्वरी बजारमा झरेर अलि छोटो बाटो जाने भनेर मूल सडकबाट पश्चिमपटि हानियो हाम्रो गाडी । तर अलि तल पुगेपछि सानो खोलामा पुल बनाउने कार्य भइराखेकाले गाडीका लागि बाटो बन्द रहेछ । पुनस् अघिकै बाटो उँभैतिर फर्किनुपर्यो । अलि माथि ढुङ्गेन चौरमा एउटा सानो पार्कजस्तो रहेछ । ठुला पिपलका रुख पनि भएको हरियो घाँसले भरिएको वरिपरिबाट तारजालीले घेरेको, छेउमा सानो गेट खुला रहेछ भित्र जाने । यही चौरमा बसेर खाजा खाने निर्णय भयो । साढे तीन भइसकेको थियो समय । गाडीबाट सबै सामान झिकेर यही पार्कभित्र पसेर खाने व्यवस्था गर्न लाग्नुभयो महिला साथीहरू । अचार भने बिहानै बनाउँदा दिनभरिका घामले बिग्रेला भनेर नमोलीकन ठिक्क पारेर बोकिएको रहेछ, सबै मिलेर मोलमाल गरी तयार पारियो । हरियो घाँसमाथि चउरमा मजाले बसेर दही, चिउरा, आलुको अचार, मुलाकाँक्रो–गाँजर र सानो केराउको अर्को अचार, पनिरसहितको केराउको मिठो तरकारी खाँदा दिनभरिको थकाइ सबै कहाँ हरायो कहाँ । खानपानको परिन्च सन्ध्या भट्टराईले मिलाउनुभएको थियो । यति स्वादिष्ट परिकारका लागि सबैले उहाँलाई धन्यवाद दिए । खाइसक्ता चार बज्न लागेको थियो । अलि अघि पानी छिट्याउन खोजे पनि अहिले भने घाम चरक्क लागेका थिए । हामी अब सिधै घर फर्कने प्रयोजनले बालकोटतिर हुइँकियौँ ।
