पुरस्कारको निर्णय सायद प्रतियोगिता हुनुअघि नै भइसकेको थियो
जेठ २६, २०८२, सोमबार | विहान ०७:२८ बजे | 275
साहित्यिक वृत्तमा एउटा आकर्षक पुरस्कार राशिसहित 'पर्या निबन्ध प्रतियोगिता' को घोषणा हुँदा धेरै स्रष्टाहरूको मनमा आशाको दियो बलेको थियो होला। तर, जब उक्त प्रतियोगिताका निबन्धहरूको संगालो पुस्तकको रूपमा बजारमा आयो, त्यसले धेरैको आशा र विश्वासमाथि चिसो पानी खन्याइदियो। पुस्तक पल्टाउँदा एउटा अनौठो र निकै शंकास्पद विभाजनले ध्यान खिच्यो। विजयी घोषित गरिएका पहिलो, दोस्रो र तेस्रो निबन्धलाई निकै सम्मानका साथ ‘पुरस्कृत निबन्धहरू’ को भनेर राखिएका छन् ।
यतिसम्म त ठीकै छ । तर, बाँकी निबन्धहरूलाई जसरी ‘प्रतियोगी निबन्धहरू’ भनेर छुट्ट्याइएका छन् । यसले आयोजकको नियतमाथि गम्भीर प्रश्न खडा गर्छ। यो विभाजनले यो विभाजनले पुरस्कृत निबन्धहरूले प्रतियोगिताको औपचारिकता पूरा गर्नु परेन भन्ने प्रस्ट हुन्छ । यो सोझो तर निर्लज्ज वर्गीकरणले कुनै किन्तु-परन्तुको ठाउँ नै छाड्दैन।
यसले स्पष्ट संकेत गर्छ कि पुरस्कारको निर्णय सायद प्रतियोगिता हुनुअघि नै भइसकेको थियो। यो नाम मात्रको प्रतिस्पर्धाको नाटक मञ्चन गरेर, पुस्तक छपाई सोझै आर्थिक लाभ लिने एउटा प्रपञ्च थियो भन्ने कुरा घामजस्तै छर्लङ्ग हुन्छ। साँच्चै भन्ने हो भने, यो घटना कुनै नौलो भने होइन। हाम्रो समाजमा योग्यता (राम्रा) भन्दा पहुँच र नाता (हाम्रा) ले नै प्राथमिकता पाउने रोग पुरानै हो। निष्पक्षताको डोरी चुँडिएको र मूल्याङ्कनको तराजु एकातिर ढल्किएको हामीले पटक-पटक देख्दै आएका छौं। तर दुःखको कुरा, साहित्यको श्रीवृद्धिको लागि खुलेको ‘पर्या साहित्य प्रतिष्ठान’ जस्तो गरिमामय संस्था पनि यही नातावाद र कृपावादको फोहोर पोखरीमा डुब्न पुगेछ। अब प्रश्न उठ्छ— यस्तो सुनियोजित षड्यन्त्र र साहित्यिक बेइमानीको गन्ध आउने पुस्तकलाई आफ्नो गाँस काटेर रु. ७५० तिर्न कुन स्वाभिमानी पाठक तयार होला र?