स्काउटलाई आत्मरक्षा तालिम प्रदान


जेठ २४, २०८२, शनिबार | राति ०८:०५ बजे | 185


स्काउटलाई आत्मरक्षा तालिम प्रदान

भक्तपुर, २४ जेठ स्काउटहरुलाई कर्तव्यनिष्ठ, अनुशासित एवम् सक्षम बनाउने हेतुले स्थानीय स्काउट कार्यालय भक्तपुरले शनिवार ट्रुप लिडर गोष्ठीसहित आत्मरक्षा तालिम प्रदान गरेको छ । ११ वर्षदेखि १६ वर्षसम्मका स्काउटहरुलाई कुनै पनि भौतिक आक्रमण वा समस्यामा रक्षा गर्न सक्षम बनाउन गरिएको तालिममा ५१ जना स्काउटहरुको सहभागिता रहेको थियो । करातेका राष्ट्रिय प्रशिक्षक रविना सुवालले बालबालिका, किशोकिशोरीमाथि हुने दुर्व्यवहारको सामना गर्ने तालिमको अभ्यास गराएका थिए । आत्मरक्षाको सिप नहुँदा धेरै बालबालिका र किशोरकिशोरीहरु हिंसामा पर्ने गरेका घटना समाजमा बढ्दै गएकाले त्यसबाट जोगिन सहयोग पुगोस् भनेर तालिम दिएको नेपाल स्काउट भक्तपुरका आयुक्त बालकृष्ण बनमालाले बताए । आफूमाथि आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा शारीरिक तथा सैद्धान्तिक तालिम पाएकोमा स्काउटहरु दंग भएका थिए । स्थानीय स्काउट कार्यालय, भक्तपुरले आत्मरक्षा तालिमका अलावा स्काउटिङ्ग पद्धतिबाट जीवन यापन गर्ने कला पनि सिकाएको थियो । कार्यक्रमका संयोजक एवम् स्थानीय शैक्षिक पद्धति आयुक्त पवनकुमार बल्लले खेलको माध्यमबाट अनुशासित र कर्तव्यनिष्ठ बनाउने कलाका साथमा कवाज सिकाएका थिए । सदस्यता वृद्धि आयुक्त पूर्णभक्त दुवालले आफ्‌नो समूहमा आइपरेका समस्याको सामना गर्ने र समाधान गर्ने तरिकाका सम्वन्धमा प्रशिक्षण दिए । स्थानीय स्रोत साधन तथा वित्त आयुक्त किशोर गोसाईंले स्काउटिङ्ग क्रियाकलाप, पेट्रोल सिस्टमलगायतका स्काउटसम्वन्धि तालिम दिएका थिए । तालिममा सहभागी स्काउटहरुलाई नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सामुदायिक आयुक्त पुष्पा प्रजापतिले पनि बाेल्नुभएकाे छ ।

Comments