वातावरण दिवसको उपलक्ष्यमा विनायकका विद्यार्थीहरूद्वारा वृक्षरोपण
जेठ २२, २०८२, बिहीबार | राति ०७:४१ बजे | 180
मध्यपुर ठिमी भक्तपुर विद्यार्थीहरूमा वातावरण सम्बन्धी सचेतना जगाउन तथा हाम्रो वातावरण हामीले नै संरक्षण गर्नुपर्छ भन्ने व्यावहारिक ज्ञान दिन सफल मध्यपुर थिमिको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही२०८२ जेष्ठ २२ गते विश्व वातावरण दिवसको पावन अवसरमा वृक्षरोपण कार्यक्रमको आयोजना गरी भव्य र सभ्य रुपमा सो कार्यक्रमलाई मनाएको छ। विद्यालयका विभिन्न तहका विद्यार्थीहरु सहभागी भई मनाइएको उक्त कार्यक्रममा पूर्व प्राथमिक तहका विद्यार्थीहरुले पूर्व प्रा वि ब्लक पार्टी पार्टी विहारमा फुल तथा विभिन्न थरिका बोटबिरुवा रोपी मनाएका थिए भने कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले सिद्धिकाली मन्दिर र त्यसको आसपासका क्षेत्रमा फूल तथा वृक्षरोपण गरी कार्यक्रमलाई सफल बनाएका थिए। त्यस्तै विद्यालयका विभिन्न बाल क्लबहरूमध्ये विनायक इको क्लब र विनायक इन्ट्राक्ट क्लबले जिल्ला वन कार्यालय एवम् विभित्र नर्सरीहरुबाट विभिन्न प्रजातिका बोटबिरुवाहरू ल्याएर तथा विद्यार्थीहरु आफैले समेत ल्याएका बिरुवाहरू निलबाराही मन्दिर परिसर तथा आसपासका क्षेत्रमा वृक्षरोपण गरी वातावरण सम्बन्धी सचेतना जगाउन सफल भएका थिए। त्यति मात्र नभएर सोही अवसरमा विद्यालयमा आयोजना गरिएको नारालेखन तथा चित्रकला प्रतियोगितामा उत्कृष्ट हुन सफल विद्यार्थीहरूलाई विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले ट्रफी एवं पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले शैक्षिक रुपान्तरणका लागि व्यावहारिक र सीपमूलक एवं प्रयोगात्मक शिक्षाका लागि विद्यालय लागिपरेको बताउँदै स्वच्छ, सफा र हराभरा वातावरण खातिर विद्यार्थीहरुले थालेको वातावरण संरक्षण तथा बचाउ अभियानको सफलताको शुभकामना दिनुभएको थियो। कार्यक्रम निलबाराही क्षेत्र संरक्षण सरोकार समितिको आह्वानमा विनायक इको क्लब तथा इन्ट्राक्ट क्लबको संयोजनमा भएको थियो।
