एक अर्का सम्बन्धी अलगअलग पुस्तक लेख्दै कीर्तिमानीद्वय अमर र अरुण


जेठ २१, २०८२, बुधबार | साँझ ०५:०२ बजे | 230


एक अर्का सम्बन्धी अलगअलग पुस्तक लेख्दै कीर्तिमानीद्वय अमर र अरुण

नेपालको साहित्यिक फाँटमा अरुण खत्री ‘नदी’ लाई नचिन्ने सायद कमै होलान् । उनले २०४३ सालदेखि नै गोरखापत्र लगायतका पत्रपत्रिकाहरुमा सम्पादकलाई चिठ्ठी र लघुकथाहरु लेख्दैआएका छन्। उनले हालसम्म करिब १५ सय पुस्तकको समीक्षा गरेर कीर्तिमान नै कायम गरेका छन्। त्यस्तै २०५३ सालमा गोरखापत्रमा ‘भाग्य र कर्म’ शिर्षकको कथा प्रकाशन भएपछि साहित्य यात्रामा लागेका अमर अधिकारीको २०६१ सालमा बालकवितासङ्ग्रह ‘इन्द्रेणी’ भैसकेको छ। २०७९ असार २३ गतेदेखि सरकारी सेवाबाट निवृत्त अधिकारीका २०८० मा आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ र शब्दकोश ‘रापतीका अलग शब्दहरु’ प्रकाशन भएका छन् भने २०७९ मै उनको एउटा गीत रेकर्डिङ्ग भएर बजारमा आइसकेको छ। उनका दिनमा ३।४ ओटासम्म लेख-रचना प्रकाशन भएको इतिहास छ भने २०८० मंसिरदेखि २०८१ मंसिरसम्म एक वर्षको अवधिमा २ सय भन्दा बढी लेख-रचना प्रकाशन भएका छन्। एक किसिमले भन्नुपर्दा अधिकारीले दुईवर्षको अवधिमा साहित्य तथा लेखन क्षेत्रमा एकपछि अर्को कीर्तिमान कायम गर्दैआएका छन्। २०८१ माघमा पुरस्कार सहित ‘सुपर राइटर’ को उपाधि हासिल गरेका उनले २०८२ बैशाखमा ‘प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार’ सहित सम्मानित भएका छन्। उनका थप पुस्तकहरु प्रकाशनको संघारमा छन् भने थप गीत तथा भजन रेकर्डिङको क्रममा छ। काठमाडौँको एक ठूलो सञ्चार माध्यममा २०८१ साउन १८ मा प्रकाशित उनको एक लेख इलामदेखि डडेलधुरासम्मका तमाम सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन गरेको पाइएको छ। साथै उनका लेखका कारण राष्ट्रियस्तरमा सुधारका कामहरु समेत भएको पनि पाइएको छ। अरुण र अमर दुबै पूर्व सरकारी अधिकृत हुन्। २०४१।४२ सालदेखि नै एकअर्काका बारेमा जानकारी हासिल गरेका दुबैको भेट भने दायित्व वाङमय प्रतिष्ठानमा २०६०।६१ सालमा मात्र भएको रहेछ। हाल दुबैजनाको बसोबास बुढानिलकण्ठ नगरपालिकामा रहेको छ। सरल स्वभावका दुबैजना ओझेलमा परेको पाइएको छ। हालै मात्र अमर अधिकारीले ‘अरुण खत्री नदीका समीक्षाहरुको सङ्गालो’ र अरुण खत्री ‘नदी’ ले ‘प्रभावशाली लेखक अमर अधिकारीका प्रभावकारी लेखहरुको सङ्गालो’ प्रकाशन गर्ने तयारीमा जुटेका छन्। सम्भवतः दशैँताका दुबै पुस्तकको लोकार्पण हुने पनि जनाइएको छ। साहित्य लेखन क्षेत्रमा पनि ‘बार्टर सिस्टम’ को थालनी भएको आभास पाइएको छ। यो नौलो आयाम पनि हो।

Comments