जलवायु परिवर्तन र पर्वतीय पर्यटनको भविष्य


जेठ २०, २०८२, मङ्गलबार | राति ०९:०० बजे | 365


जलवायु परिवर्तन र पर्वतीय पर्यटनको भविष्य

 

राजेन्द्रमान डङ्गोल

मानव सभ्यताको अघोषित मार्गदर्शक हो, प्राकृतिक चक्रहरूको अनन्त प्रवाह । वसन्त सम्पात (भर्नल इक्विनोक्स) को चक्रसँगै पृथ्वीको वातावरणले हरेक पल आफूलाई परिमार्जन गर्दै आएको छ । हिमरेखा क्रमशः माथि सरिरहेको यो निरन्तरता प्रकृतिको स्वाभाविक कला हो । करिब २७,४०० वर्ष लामो यो प्रक्रियालाई सभ्यता चक्र (सिभिलाइजेसन साइकल) को रूपमा चिनिन्छ, जसले मानव जीवनको आरोह–अवरोहमा अदृश्य तर गहिरो प्रभाव पार्दै आएको छ ।

सभ्यता चक्र भनेको पृथ्वीको प्रदक्षिणा अक्ष र कक्षीय मार्गमा हुने खगोलीय परिवर्तनहरूको गहन परिणाम हो । यी परिवर्तनले पृथ्वीको जलवायु प्रणालीलाई दीर्घकालीन रूपमा ढाल्छन् । यसैको प्रभावले सभ्यताका मुना मौलाएका छन् र इतिहासका पाना पल्टिएका छन् । खगोलीय दृष्टिमा वसन्त सम्पात त्यो क्षण हो, जुन वेला सूर्यले पृथ्वीको भूमध्यरेखा छोई ऋतुहरूको चक्रलाई नयाँ आयाम दिन्छ । यही प्रक्रिया वातावरणीय प्रणालीको सन्तुलनको आधारशिला हो ।

यो खगोलीय चक्रलाई गौर दृष्टिले नियाल्दा करिब १२,००० वर्षअघिको वातावरणीय कथा बुझ्न सकिन्छ । ऐतिहासिक प्रमाण र अध्ययनले प्रमाणित गरेको छ कि अहिलेको चुरे क्षेत्र (सिवालिक हिल्स) कुनै समय हिउँले ढाकिएको थियो । यो तथ्य जलवायु परिवर्तनको सङ्केतमात्र होइन; पृथ्वीको प्राकृतिक चक्रहरूको ऐतिहासिक महत्त्वको गाथा पनि हो । बदलिँदो जलवायुको तीव्रताले पृथ्वीको स्वरूप बदलिरहेको मात्र छैन, यसले पर्यटन क्षेत्रलाई समेत पुनः परिभाषित गर्ने दिशामा लैजाँदैछ । अबको चुनौती भनेको यो परिवर्तनलाई बुझ्दै भविष्यलाई सन्तुलनमा राख्ने उपाय खोज्नु हो ।

जलवायु परिवर्तन (क्लाइमेट चेन्ज) पृथ्वीको वातावरणीय प्रणालीमा भइरहेका दीर्घकालीन, स्थायी र व्यापक परिवर्तनहरूको सङ्केत हो, जसले मानव जीवन, जैविक विविधता र प्राकृतिक चक्रहरूमा गहिरो असर पार्दछ । परिवर्तनको यो प्रभावसँगै पृथ्वीको समग्र अवस्था परिवर्तनशील बनेको छ ।

पछिल्ला केही दशकहरूमा जलवायु परिवर्तन विश्वभरि नै गम्भीर चिन्ताको विषय बनेको छ । तापक्रमको अनियन्त्रित वृद्धि, हावाको तीव्रता, वर्षा र मौसमको ढाँचामा देखिने अनियमितता नै प्राकृतिक सङ्केत हुन्, जसले हाम्रो जीवनका प्रत्येक पक्षलाई गम्भीररूपमा चुनौती दिइरहेका छन् । यसका असरले हाम्रो अस्तित्व र प्राकृतिक सन्तुलनबीचको सम्बन्ध पुनः मूल्याङ्कन गर्न विवश पारिरहेको छ ।

मूलतः मानवीय क्रियाकलापको परिणामस्वरूप उत्पन्न हुन्छ यो समस्या । जीवाश्म इन्धनको दहनले हरितगृह ग्यास (ग्रीनहाउस ग्यास) को उत्सर्जनलाई तीव्र बनाएको छ । कार्बन डाइअक्साइड, मिथेन, नाइट्रसअक्साइड र फ्लोरोकार्बनजस्ता ग्यासहरूलाई हरितगृह ग्यास भनिन्छ । यसले पृथ्वीको आन्तरिक तापमानलाई अनियन्त्रित ढङ्गले वृद्धि गर्छ । वनोन्मूलनले कार्बनलाई सोस्ने वनस्पतिहरूलाई नष्ट पारेको छ । यसले गर्दा वातावरणीय सन्तुलनलाई थप अस्थिर बनाइरहेको छ । समुद्री प्रदूषण र विशालकाय उद्योगहरूबाट उत्सर्जित ग्यासहरूले वातावरणको जटिल संरचनामा थप खलबल मच्चाएका छन् । यी ग्यासहरूको परिणामस्वरूप वातावरणमा थर्मल इन्फ्लुएन्स (गरम राख्ने प्रक्रिया) तीव्र भइरहेको छ । यसले जलवायु परिवर्तनलाई अकल्पनीय दरमा तीव्र बनाएको छ ।

नेपालमा हरितगृह ग्यासको उत्सर्जन अत्यन्तै सीमित भए पनि जलवायु परिवर्तनको असर भने टड्कारोरूपमा महसुस भइरहेको छ । नेपालको जलवायु परिवर्तनका प्रमुख कारण विश्वभरिका ठूला उत्सर्जक राष्ट्रहरूका क्रियाकलापहरू हुन् । सन् २०२० को रिपोर्टअनुसार २०० भन्दा बढी देशले हरितगृह ग्यास उत्सर्जन गरिरहेका छन् । यद्यपि चीन, अमेरिका, भारत, रूस, युरोपेली संघ र जापानजस्ता शक्तिशाली राष्ट्र यसको मुख्य जिम्मेवार हुन् । हामी भने यिनै देशहरूमध्ये दुई विशाल औद्योगिक राष्ट्र भारत र चीनबीचको चेपुवामा परेका छौँ ।

शक्तिशाली राष्ट्रहरूको परमाणु परीक्षणले पनि पृथ्वीको वातावरणीय प्रणालीमा गहिरो आघात पु¥याएको छ । यी सबै क्रियाकलापहरूले पृथ्वीको तापमान वृद्धिको गति अनियन्त्रित रूपमा तीव्र बनाइरहेका छन् । यसलाई हामी ‘वायुमण्डलीय उष्णता’ (वैश्विक तापमान वृद्धिको प्रक्रिया) को नामले चिन्छौँ ।

जलवायु परिवर्तनको प्रमुख कारण वायुमण्डलीय उष्णता हो, जसले पृथ्वीको औसत तापमानलाई प्रत्येक वर्ष वृद्धि गराइरहेको छ । यसका कारण मौसमका चक्रहरू क्रमशः अनियमित हुँदै गएका छन् । यसले पृथ्वीको प्राकृतिक सन्तुलनलाई गम्भीररूपमा प्रभावित गरिरहेको छ । तापक्रम वृद्धिका कारण असामयिक वर्षा, दीर्घकालीन सुक्खा, अत्यधिक चिसो र विनाशकारी बाढीजस्ता प्राकृतिक प्रकोपहरूको जोखिम तीव्र रूपमा बढेको छ । हिमनदीहरूको पग्लिने क्रममा तीव्रता आएको छ । यसैका कारण हिमतालहरू फाट्ने र फुट्ने सम्भावना बढ्दै गएको छ । यस्तो प्रक्रियाले बाढीका साथै पहिरो र भूक्षयको जोखिम पनि बढाएको छ । यसले हिमाली र पहाडी क्षेत्रका बासिन्दाहरूलाई प्रत्यक्षरूपमा प्रभावित पारेको छ ।

समुद्रको सतह बढ्दै गर्दा तटीय क्षेत्रहरूमा बाढीको जोखिमलाई अझ बढाएको छ । मालदिभ्सजस्ता साना द्वीप राष्ट्र डुब्ने खतरामा छन् । श्रीलङ्काको कोलम्बो, गाले र बत्तिकलोवाजस्ता तटीय शहरहरूले पनि समुद्री सतह वृद्धिको गम्भीर परिणामको सामना गर्नुपरेको छ ।

जलवायु परिवर्तनको असर भविष्यको भयमात्र होइन; यो आजको कठोर यथार्थ हो । यसको प्रभाव हिमाली क्षेत्रमा मात्र सीमित छैन, पहाड र तराईमा समेत उत्तिकै परेको छ । हिमालको हिउँ पग्लदा तराईमा बग्ने नदीहरूको सतह बढ्छ । तराईको तापक्रमले पहाडको बसोबासलाई कठिन बनाउँछ र यसले समग्र वन्यजीव र जैविक विविधतामा नै असर पु¥याउँछ । नेपालको राजधानी काठमाडौँ उपत्यकामा हुस्सु र कुहिरो हराइसकेको छ । अहिलेका पिँढीले ‘तुसारो’ को अनुभव गर्न पाएका छैनन् । स्कूल– कलेजले मीनपचासको छुट्टी दिन छाडिसके । नेपालका बेसीहरूमा देखिने हुस्सु र कुहिरो पनि क्रमशः माथि सर्दै, अब २,००० मिटरको उचाइसम्म पुग्न थालेको छ ।

कुनै समय ख्याति पाएको हेलम्बुको स्याउ अहिले एकादेशको कथा भइसक्यो । त्यस्तै त्यहाँका चौँरीगाई चरण क्षेत्रमा अहिले भैँसी चरिरहेको देखिनु जलवायु परिवर्तनले ल्याएको वातावरणीय असन्तुलनको स्पष्ट दृष्टान्त हो । यसले जैविक प्रणालीलाई मात्र नभई स्थानीय समाज र परम्परागत जीवनशैलीलाई समेत प्रभावित गरेको छ । उच्च हिमाली क्षेत्रहरूको अद्वितीय पहिचान दिने हाब्रे र हिउँचितुवाजस्ता जीवजन्तुका लागि चाहिने उपयुक्त तापक्रम र बासस्थान क्रमशः हराउँदै जाँदा तिनीहरूको अस्तित्व सङ्कटमा छ ।

नेपालको कुल क्षेत्रफलमध्ये करिब १५ प्रतिशत भूभाग हिमालले ढाकेको छ । विश्वकै अग्लो शिखर सगरमाथा (८,८४८.८६ मिटर) लगायत हालसम्म पत्ता लागेका ८,००० मिटरमाथिका २१ हिमालमध्ये १४  राजसी हिमाल यही भूगोलमा छन् । हिमाली क्षेत्रले नेपालको प्राकृतिक, पर्यटकीय र सांस्कृतिक महत्त्व बढाएको छ ।

हिमालहरूले नेपाली समाजमा धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले विशेष महत्त्व राख्छन् । यसको नाम र अर्थले विभिन्न पक्षलाई जनाउँछ । खुम्बुका बासिन्दा हिमाललाई औँल्याएर देउताका नाम लिँदै ‘त्यो पल्लो गाउँले मान्ने देउता’, ‘यो हाम्रो गाउँले मान्ने देउता’ भन्ने गर्छन् । खुम्बिलाचाहिँ सम्पूर्ण खुम्बुवासी शेर्पाका साझा देवताका रूपमा पुजिने हिमाल हो । यसलाई खुम्बुवासीले संरक्षकका रूपमा लिन्छन् । हामी प्रकृतिपूजक भएकोले पनि हाम्रो जीवनशैली, धर्म, संस्कृति र परम्पराले प्रकृतिलाई अभिन्न अङ्गका रूपमा स्वीकार गरेको छ । हिमालहरू भौगोलिक संरचनामात्र होइनन्; ती त देवत्वका प्रतीक हुन् । हाम्रो विश्वासअनुसार देवताको शिरमा पाइला राख्नु अपवित्र र अनुचित कर्म मानिन्छ । समय र परिस्थितिसँगै व्यावसायिक आरोहणले जरा गाडिसकेको छ नेपालमा । हिमाल आरोहण अहिले साहसिक पर्यटनको अभिन्न हिस्सा बनेको छ । यद्यपि, केही पवित्र हिमालहरूमा आरोहणको अनुमति नदिने परम्परा अहिले पनि कायम छ, जसले हाम्रो धार्मिक आस्था र सांस्कृतिक मूल्यलाई अक्षुण्ण राख्छ ।

छिमेकी देश भुटानले भने आफ्नो धर्म, संस्कृति र परम्पराप्रतिको गहिरो सम्मानलाई निरन्तरता दिँदै त्यहाँका कुनै पनि हिमालमा आरोहण अनुमति दिँदैन । प्राकृतिक सौन्दर्य संरक्षण र सांस्कृतिक आस्थाको ज्वलन्त उदारहण हो यो ।
खुम्बुमा प्रत्येक वर्ष मानी रिम्दु र दुम्जे पर्व मनाइन्छ, जसमा देवताको पूजा गरिन्छ । शेर्पा जातिमा थुप्रै उपजाति र फरकफरक नामका देवाता हुन्छन् । सबैले पूजा गर्ने देवता पीठोबाट बनाइएका तोर्मा नै हुन्, जसको स्वरूप हिमालजस्तै हुन्छ । यथार्थमा ती हिमाल र स्तूपका प्रतीक हुन् । हिमाल आफैँमा प्रकृति र संस्कृतिको प्रतीक हो ।

‘चोमोलोङ्मा’ भनेर सम्बोधन गरिने सगरमाथालाई स्थानीय बासिन्दाले ‘ब्रह्माण्डकी देवी’को रूपमा उपासना गर्छन् । त्यस्तै, मनासलुलाई पार्वती, र ‘याङ्ग्रा काङ् रि’लाई गणेशका रूपमा पुज्ने गरिन्छ । अर्को पूजनीय हिमाल भनेको गौरीशङ्कर हो । कञ्चनजङ्घाको पाँचवटै चुचुरालाई सुन, चाँदी, मणि, अन्न र पवित्र धर्मग्रन्थका रूपमा मानिन्छन् । यसरी हिमालको नाम र तिनका अर्थले नेपाली संस्कृति र परम्परासँग गाढा सम्बन्ध राख्छन् ।

झट्ट हेर्दा हिमाललाई कुनै परिवर्तनले सितिमिति असर गरिहाल्दैन जस्तो लाग्छ, तर यथार्थमा हिमालहरू फूलजस्तै कोमल हुन्छन्् । बिहानदेखि बेलुकीसम्म सूर्यका किरणहरू हिमालको शिखरमा पर्दा त्यसको तापक्रम र मौसमी प्रभाव झन् गहिरो हुन्छ । त्यसैले मौसम परिवर्तनको सबैभन्दा बढी असर हिमालमा नै पर्छ । विश्वव्यापी तापक्रम वृद्धि र मौसमी ढाँचामा आएको परिवर्तनले अन्नपूर्ण, लाङटाङ, सगरमाथा र मनासलुजस्ता प्रमुख पदयात्रा क्षेत्रहरूलाई गम्भीररूपमा प्रभावित छन् । फलतः पर्वतीय पर्यटनमा समस्या देखिइरहेका छन् ।

उहिलेउहिले हिमाली बासिन्दाहरूमा ‘फोहोर गरे देवता रिसाउँछन्’ भन्ने मान्यता थियो । जनविश्वासअनुसार यदि फोहोर जलाइयो भने त्यसबाट निस्कने धुवाँका कारण देवता रिसाउने मान्यता राखिन्थ्यो । यसरी प्राकृतिक वातावरणको सम्मान गर्दै फोहोरलाई भूमिमा गाड्ने चलन थियो । पछि फोहोरलाई जलाउने प्रचलन सुरु भएको थियो, जुन प्राकृतिक र पर्यावरणीय दृष्टिकोणले गलत थियो ।

चार दशकअघि हिमाली क्षेत्रमा हिउँको अवस्था आजको तुलनामा धेरै भिन्न स्वरूपको हुन्थ्यो । हिमालहरूमा हिउँदभरि टन्नै हिउँ जमिरहेको हुन्थ्यो र तीन–चार महिनासम्म हिउँ ज्यूँका त्यूँ रहन्थ्यो । बर्सातको समयमा पनि उच्च हिमाली क्षेत्रहरूमा हिउँ देखिन्थ्यो । यसले हामीलाई पृथ्वीका प्राकृतिक अस्थिरताहरूको वास्तविकता सम्झाउँछ । यसप्रकार हिउँले स्थानीय बासिन्दाको जीवनशैलीसँग विशेष सम्बन्ध राख्थ्यो ।

हिमाली भेगका बासिन्दाले हिउँदका लागि आवश्यक खाद्यान्न, इन्धन र अन्य सामानहरूको जोहो पहिले नै गरिसकेको हुन्थे । याक, नाक र भेडाका भुत्ला बाक्लो हुने भएकाले चिसोलाई सहन सक्थे तर ज्यास्ती हिउँ परेका बखतमा त गोठभित्रै राखिन्थे । हालैका वर्षहरूमा भने हिउँदमा परेको हिउँ लामो समयसम्म टिक्दैन । सगरमाथा आधारशिविर जाने बाटोमा अनेकौँ ‘पिनाकल’ (हिउँले खाएका ससाना थुम्काथुम्की) पार गरेर जानुपथ्र्यो । ती लगभग २० देखि २५ मिटर उचाइसम्मका हुन्थे । तर अहिलेको समयमा ती सबै ‘पिनाकल’ हराइसकेका छन् ।

पानीको अजस्र स्रोत हो– हिमाल । नेपालका धेरैजसो नदी र जलाशयका स्रोत पनि हिमाल नै हुन् । हिमालले पृथ्वीको जलवायु प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्दछ । हिउँको आवरणले पृथ्वीको सतहको तापक्रमलाई विनियमित गर्दै जलवायुमा सन्तुलन राख्न मद्दत गर्दछ । हिउँदको समयमा परेको हिउँले माटोलाई चिस्याई राख्ने भएकाले बालीनालीहरूले पनि त्यही चिस्यानबाट प्राण धानिरहेका हुन्छन् । यसप्रकार प्राणी, वनस्पति र हिउँबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ ।  

हिउँ नभए हिमालको अस्तित्व रहन्न । हिमाल नभए नेपालको पहिचान रहन्न । हिउँ र हिमाल एकअर्काका पूरक हुन् । यथार्थमा यी दुईबीचको सम्बन्ध हाम्रो सभ्यता, संस्कृति र अस्तित्वको अपूर्व आधार हो । यो प्राकृतिक सम्पदा मात्र होइन; हाम्रो पहिचान, हाम्रो इतिहास र हाम्रो भविष्य पनि हो । हिउँ कम पर्ने र परेको हिउँ चाँडै पग्लिँदै जानाले पानीका स्रोत सुक्दै गएका छन् । जसका कारण बस्तीहरू सरिरहेका छन् । जब बासस्थानको अस्तित्व नै सङ्कटमा छ, सभ्यता र अस्तित्वको मूल धारा नै जोखिममा छ भने हाम्रो हिमाली संस्कार, संस्कृति र धर्म कसरी जीवित रहला ?
 
यसै पनि नेपालको हिमाली क्षेत्रमा तापमान वृद्धिदर विश्वका अन्य स्थानहरूको तुलनामा बढी छ । जलवायु परिवर्तन र वायुमण्डलीय उष्णताको प्रभावका कारण हिमतालहरूको विस्तार तीव्र भइरहेको छ । हिमनदीहरू पग्लने क्रम बढ्दा हिमताल फुट्ने जोखिम पनि बढ्दो छ । सन् २०२४ को अगस्ट महिनाको अन्त्यतिर थामेमा आएको बाढी त्यसैको एउटा दृष्टान्त हो । यसले धनजनको समेत क्षति गरेको कुरा सर्वविदितै छ ।

छिमेकी देशका ठूलठूला उद्योगहरूले उत्सर्जन गर्ने कार्बनडाइअक्साइड खैरो बादलका रूपमा हिमालका चुचुरामा पुग्ने गर्छ । कार्बनका ताता कणहरूले भरिएका यो बादलले हिमालको हिउँलाई तीव्र गतिमा पगाल्न सहयोग पु¥याउँछ । पग्लिएको हिउँ अन्ततः नदीको रूपमा परिणत हुँदै हिमतालमा समाहित हुन्छ । यस्ता हिमतालहरूको अनियन्त्रित विस्तारले हिमताल फुट्ने जोखिमलाई बढाउँछ ।

सन् १९६० को दशकमा नेपालमा भएका लगभग १,५०० हिमतालमध्ये अधिकांश साना र स्थिर अवस्थामा थिए । विज्ञहरूको अध्ययनले देखाएको तथ्यअनुसार हिउँको पग्लाइले द्रुत गतिमा उत्पन्न भएका हिमतालहरूको सङ्ख्या ३,६१० पुगेको छ । यी हिमतालहरूले प्रायः हिमनदीको पग्लँदो पानीबाट आकार लिएका छन् । सन् १९६२ मा इम्जा हिमताल एउटा सानो कुवामात्र थियो । तर त्यो आजको दिनसम्म आइपुग्दा ३.५ किलोमिटर लामो, १.५ किलोमिटर चौडा र १४९ मिटर गहिरो विशाल तालमा परिणत भएको छ ।

विगत ५० वर्षमा नेपालमा ३५ भन्दा बढी हिमताल फुटेका छन् । सन् १९८५ मा दिग चो हिमताल फुट्दा ठूलो जनधनको क्षति भएको थियो । यसबाहेक अन्य सानातिना हिमताल फुट्दा पनि बस्तीहरूलाई सङ्कटमा पोरको थियो । हाल नेपालमा २४ हिमताल खतरनाक अवस्थामा रहेका छन्, जसको फुट्ने सम्भावना उच्च छ । कदाचित् यी हिमताल फुटेमा बाढीको पानीले नदीहरूले मार्ग परिवर्तन गर्न सक्छ र तल्लो भेगका गाउँ र बस्तीहरूलाई गम्भीर नोक्सान पु¥याउन सक्छन् । यसरी हिमतालहरूको अनियन्त्रित विस्तार र तिनीहरूको फुट्ने जोखिमले हाम्रो हिमाली क्षेत्र र स्थानीय जीवन, संस्कार र भौतिक संरचनामा गम्भीर सङ्कट निम्त्याउने टड्कारो सम्भावना बढिरहेको छ ।

नेपालमा ग्लेसियल लेक आउटबस्र्ट फ्लड अर्थात् हिमताल फुटेर आउने बाढी (ग्लोफ) का घटना पटकपटक भएका छन् । हिमतालबाट निक्लने बाढीका कारण ठूलो विनाश निम्तिने गरेको र यस्तो घटनाको एकमात्र कारण जलवायु परिवर्तन नै थियो ।

सन् १९९८ मा सोलुखुम्बुको इम्जा तालमा ‘ग्लोफ’को ठूलो घटना भएको थियो । ‘ग्लोफ’ भनेको तालको बाँध अचानक भत्किँदा त्यसमा सञ्चित पानी ठूलो मात्रामा एकसाथ बाहिर निस्कने घटना हो । प्रायः यस्तो घटना ‘ग्लेसियल लेक’हरूमा हुने गर्दछ, जहाँ बरफ या माटोको बाँधले पानी थामिरहेको हुन्छ । इम्जा तालमा लेक आउटबस्र्ट फ्लड हुँदा नजिकका क्षेत्रलाई निकै असर पु¥याएको थियो ।
 
त्यस्तै सन् २००८ मा सोलुखुम्बु क्षेत्रमा एक हिमतालबाट आएको बाढीले दूधकोशीको बहाव अत्यधिक बढ्दा स्थानीय बस्ती र कृषियोग्य भूमिमा ठूलो क्षति पु¥यायो । सन् २०१६ मा सोलुखुम्बुको बरुण घाँटीको हिमतालबाट आएको बाढीले आसपासका क्षेत्रहरूलाई समेत प्रभावित पार्ने गरी विनाश गरेको थियो । बाढीको परिणामस्वरूप क्षेत्रीय जनजीवनमा ठूलो असर परेको थियो ।

सन् २०१७ मा कालिकोटस्थित रारा तालमा गम्भीर ‘ग्लोफ’कोे घटना घटेको थियो । यस घटनाले जलवायु परिवर्तनका कारण हिमतालहरूमा आउने खतरालाई उजागर गरेको थियो । सन् २००४ मा रसुवाको लाङटाङ घाटीका हिमतालहरूको पानी अत्यधिक बढेर भएको ‘ग्लोफ’को घटनाले ठूलै चर्चा पाएको थियो । सन् २०१८ मा दोलखाको च्छो रोल्पा ताल फुटको सङ्घारमा पुगिसकेको थियो । यस घटनाले क्षेत्रीय सुरक्षा र जोखिम व्यवस्थापनका लागि गम्भीर ध्यानाकर्षण गराएको थियो ।

नेपालका उच्च भूगोलमा अवस्थित हिमताल खतरनाक मानिन्छन् । दोलखाको च्छो रोल्पा, सोलुखुम्बुको इम्जा, लुम्बा सुम्बा, हुनु, घत, रामधुनी, वेस्ट कुम्बु, लुम्बा, नाङजोङ, मनाङको थुलागी, सिन्धुपाल्चोकको जुगल, मनाङको तिलिचो, हुम्लाको सेतो, मुगुको सुनाम र सार्फु उच्च जोखिममा रहेका हिमतालहरूका ज्वलन्त साक्ष्य हुन् । कदाचित् यी हिमताल फराकिँदै गए वा एकअर्कामा जोडिएर फुटिहाले ठूलै प्राकृतिक विपत्तिको सामना गनुपर्ने हुन्छ । यसको प्रभाव सन् २०२१ मा सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीभन्दा कम हुन्न ।

आजको युगमा जलवायु परिवर्तन र वायुमण्डलीय उष्णताको प्रभावले संसारभरि नै नकारात्मक असर देखाउँदै छ । हिमालहरू संवेदनशील हुनाले यिनका प्रभाव विशेषगरी हिमाली क्षेत्रका जनजीवनमा टड्कारोरूपमा महसुस भइरहेका छन् । जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रको पर्यटकीय आकर्षणमा उल्लेखनीय ह्रास ल्याएको छ । यसले त्यहाँको जीवनशैली र आर्थिक धारा दुवैलाई चुनौती दिएको छ ।

नेपालको पर्यटनको साँचो पहिचान भनेकै प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा हुन् । विदेशी पर्यटकहरू हिमालको सौन्दर्य हेर्न, हिमालसँग सम्बन्धित साहसिक गतिविधिहरूमा सहभागी हुन र हाम्रो विशिष्ट संस्कृति तथा परम्पराहरूको अनुभव लिन नेपाल आउँछन् । यसैले हिमाली क्षेत्रको जीवनसँग जोडिएका प्रत्येक तत्व हिमालको श्वेत आवरणमा निहित छन् । तापक्रमको वृद्धिसँगै हिउँ पग्लँदा सेता हिमाल काला चट्टानमा परिणत भएका छन् । हिउँविना हिमालको आरोहण असम्भव हुन्छ । जुन सम्पदाले नेपाललाई विशिष्ट पहिचान दिएको छ, जुन सम्पदाले पर्यटकको ध्यान आकर्षित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ; त्यो नै नभएपछि विदेशीहरू केका लागि नेपाल आउने ? हिमालमा हिउँ नहुनु भनेको विदेशीहरूका लागि नेपाल आउने मूलढोका बन्द हुनु हो र हाम्रो आयको मुहान सुक्नु हो ।

नेपालका हिमाली क्षेत्रका स्थानीय समुदायहरूको जीवन, संस्कृति र अर्थतन्त्र पर्यटनमै निर्भर छ । यद्यपि जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्का घटनाहरूले पर्यटकीय आवागमनमा कमी हुँदै जाँदा स्थानीय अर्थतन्त्रमा गम्भीर सङ्केत निम्तिन सक्छ । पर्यटकहरूको सङ्ख्या घट्नु भनेको उनीहरूको जीवनमा अवसरहरूको अभाव र अस्थिरताको सङ्केत हो ।

४० वर्षअघिसम्म अन्नपूर्णा हिमनदी फड्केर वारपार गर्न सकिन्थ्यो । अहिले त्यो अवस्था छैन । किनारा निरन्तर फराकिँदै गइरहेको छ । कतिसम्म भने आरोहणका क्रममा जीवन गुमाएका आरोहीहरूको सम्झनामा निर्मित स्मारकहरू अन्नपूर्णा हिमनदीको उच्छृङ्खल विस्तारले खियाउँदै लगेर पहिरोमा समाहित भइसकेका छन् । यसरी स्मारकजस्तो सम्झौटोलाई समेत गुमाउनु परेको अवस्था छ । यो क्रम जारी रहँदा अबको केही वर्षमा अन्नपूर्णा हिमनदीले यस क्षेत्रका भू–आकृति र पर्यावरण ठूलो क्षति पु¥याउने निश्चित छ । अन्नपूर्णा आधार शिविरको भविष्य नै कति हो भन्ने विषयमा प्रश्नहरू उठिरहेका छन् । लाङटाङ र सगरमाथा लगायतका अन्य प्रमुख हिमालका आधार शिविरको अवस्था पनि उस्तै छ ।

प्राकृतिक सौन्दर्यमा यस प्रकारको गम्भीर ह्रासले नेपालको पहिचानलाई त चुनौती दिएको छ नै; हिमाली पर्यटन र यससँग सम्बन्धित जीवनयापनका आधारसमेत सङ्कटमा परेको छ । यी परिवर्तनहरूले नेपालको हिमाली क्षेत्रको भविष्यको ओरालो मार्गलाई इङ्गित गर्छ ।

नेपालको हिमाली क्षेत्रको मौसममा असमान परिवर्तन र असन्तुलनको समस्या पनि बढ्दै गएको छ । पर्यटकहरू मौसमका आधारमा पदयात्रा र पर्वतारोहणका योजना बनाउँथे, तर जलवायु परिवर्तनले मौसमको चक्रलाई अनियन्त्रित बनाइसकेको छ । कुन याममा कस्तो मौसम रहला भन्ने अनुमान गर्न कठिन भएको छ । बेमौसमी वर्षा र असामयिक हिमपातका कारण पदयात्रा र पर्वतारोहणको तालिका प्रायः प्रभावित भइरहेका छन् । यसर्थ पर्यटकहरूलाई यात्रायोजना परिवर्तन वा कहिलेकाहीँ रद्द नै गर्नुपर्ने स्थिति आएको छ ।

जलवायु परिवर्तनका कारण जोखिमपूर्ण बनेका हिमतालहरूले पर्यटकहरूको सुरक्षामा गम्भीर चुनौतीहरू निम्त्याएका छन् । हिमताल फुट्ने जोखिम, हिमपहिरो र अन्य किसिमका जोखिमहरूले हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका पर्यटकहरूको जीवनमा दुर्घटना निम्त्याउन सक्छ । यसको भावी परिणाम पर्यटकहरूको सङ्ख्यामा उल्लेखनीय गिरावट आउनु नै हो । जलवायु परिवर्तनको प्रभावले नेपालका हिमाली क्षेत्रहरूका पर्यटन व्यवसायी तथा पर्यटकहरूका लागि यसप्रकारका गम्भीर चुनौती निम्त्याउँदै छ र यसले नेपालको पर्यटन उद्योगमा ठूलो असर पु¥याउने निश्चित छ ।

जलवायु परिवर्तनको बढ्दो खतराका बाबजुद यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा जुन महत्त्व पाउनु पर्ने हो, त्यसअनुसार पाएको छैन । हाम्रो ध्यान अन्य मुद्दाहरूमा केन्द्रित भएकोले पनि जलवायु परिवर्तनका सवालले खासै प्राथमिकता पाउन सकेन । केही दशकअघिसम्म अन्तर्राष्ट्रिय विज्ञहरूको ठम्याइमा जलवायु परिवर्तनको असर केवल अन्टार्कटिकाका जनावरहरूलाई छ भन्ने थियो । नेपालमा भने जलवायु परिवर्तन र यसको असरबारेको छलफल केही वर्षअघिदेखि मात्र थालनी भएको हो ।

सन् २००९ को अक्टोबर १७ मा माल्दिभ्सले ऐतिहासिक रूपमा पानीमुनि आफ्नो मन्त्रिपरिषद् बैठक आयोजना गरेर जलवायु परिवर्तनको प्रभावबारे विश्वको ध्यानाकर्षण गर्न महत्त्वपूर्ण कदम उठाएको थियो । यो बैठक भारतीय महासागरको सतहभन्दा ६ मिटर गहिराइमा गिरीफुसी टापु नजिक सम्पन्न भएको थियो । त्यसै गरी नेपालले पनि सन् २००९ डिसेम्बर ४ मा कालापत्थर (५,५४५ मिटर) मा ऐतिहासिक मन्त्रिपरिषद् बैठक सम्पन्न गरेर जलवायु परिवर्तनको विषयमा जागरूकता देखाउने प्रयास गरेको थियो ।

ती बैठकहरूको उद्देश्य जलवायु परिवर्तनको असरप्रति विश्वको ध्यानाकर्षण गर्नु र जलवायु परिवर्तनका विरुद्ध विश्वव्यापी कदम चाल्नुपर्ने महत्त्वपूर्ण सन्देश दिनु थियो । यी प्रयासहरू कोपनहेगन जलवायु सम्मेलन (कोप १५) का तयारीका रूपमा गरिएका थिए । त्यस समय नेपालले हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनको असरका बारेमा आफ्नो धारणा प्रस्तुत गरेको थियो । यस्ता प्रयासहरूलाई निरन्तरता दिनु आवश्यक छ र नेपालले विश्व समुदाय तथा शक्तिराष्ट्रहरूलाई हिमाल र पर्यावरणीय संरक्षणका लागि लगातार प्रेरित गर्नुपर्ने आवश्यकता रहेको छ ।

सन् २०१५ को डिसेम्बर १२ मा फ्रान्सको पेरिसमा सम्पन्न २१ औँ सम्मेलन (कोप २१) ले मानव सभ्यताको भविष्यका लागि ऐतिहासिक दस्तावेज तयार ग¥यो । त्यो सम्मेलनमा जलवायु परिवर्तनको सामना गर्न विश्वव्यापी तापमान वृद्धिलाई प्रि–इन्डस्ट्रियल स्तरभन्दा २ डिग्री सेल्सियसभन्दा कम राख्ने र सम्भव भएसम्म १.५ डिग्रीमा सीमित गर्ने प्रतिबद्धता जाहेर गरियो । यो प्रस्ताव विश्वको साझा भविष्यको रक्षा गर्ने सपना मात्र थिएन; हरितगृह ग्यास उत्सर्जनलाई न्यूनीकरण गर्दै जलवायु परिवर्तनसँग जुध्ने क्षमतामा अभूतपूर्वरूपमा सुधार ल्याउने सङ्कल्प पनि थियो । विश्व समुदायलाई एकताको सूत्रमा बाँधेर जलवायु परिवर्तनको विरुद्ध सहकार्य, साझेदारी र सामूहिक प्रयासमार्फत् प्राकृतिक आपदाहरूसँग जुध्ने ठोस कदम नै थियो ।

सगरमाथा विश्वकै शिरमा चम्किने गौरवको मुकुट हो । यसको अनुपमताले मानवजातिलाई प्रेरित गरेको छ । आज विश्वसम्पदा सूचीमा समावेश भई नेपालका लागि मात्र नभई सिङ्गो पृथ्वीकै लागि अमूल्य धरोहर बनेको छ । यसको संरक्षण र सौन्दर्यको रक्षा गर्नु सम्पूर्ण मानवजातिको साझा जिम्मेवारी हो । जलवायु परिवर्तनको समस्या नेपालको मात्र नभई विश्वको साझा समस्या हो । हिमाललाई सुरक्षित राख्नु नेपालको मात्र नभई विश्वसमुदायकै जिम्मेवारी हो ।

जलवायु परिवर्तनले प्राकृतिक विपद्हरूको तीव्रता र आवृत्ति बढाएको छ । खाद्य सुरक्षा, पानीको स्रोत र मानव स्वास्थ्यमा दीर्घकालीन चुनौतीहरू खडा गरेको छ । आजको समयमा हामीले जलवायु परिवर्तनका कारकप्रति जिम्मेवारी बोध गर्दै यसको प्रभावलाई न्यूनीकरण गर्न सशक्त प्रयास अपरिहार्य छ । हिमाल, हिमाली संस्कृति र हिमाली क्षेत्रको पर्यटनको स्थायित्व सुनिश्चित गर्नका लागि समुदाय र सरकारबीच सहयोग र समन्वय आवश्यक छ । संरक्षण र जलवायु परिवर्तनको प्रभावका विषयमा निजी क्षेत्र, सरकार र स्थानीय बासिन्दाबीच सशक्त जागरूकता अभियान सञ्चालन गर्नुपर्छ । हिमाल र यसको पर्यावरणीय सन्तुलन कायम राख्नका लागि सबैलाई एकताबद्ध गरी जागरूक बनाउनु नै यसको संरक्षणको पहिलो कदम हो ।

वन क्षेत्र कटानीलाई नियन्त्रण गर्ने र वृक्षरोपणमा जोड दिने कामले हिमाली क्षेत्रको वनस्पति संरक्षणमा मद्दत पु¥याउँछ । जलवायु परिवर्तनको असरलाई केही हदसम्म कम गर्न खाना पकाउने र अन्य घरेलु कार्यका लागि सौर्यऊर्जा र नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नु पनि महत्त्वपूर्ण छ । यसका लागि सौर्यऊर्जामा आधारित उपकरणहरू र अन्य वैकल्पिक ऊर्जा स्रोतहरूको प्रवद्र्धन गर्न नीतिगत पहलहरू आवश्यक छन् ।

आधुनिक उद्योगहरूबाट उत्सर्जित हुने हरितगृह ग्यासको उत्सर्जन घटाउन प्रविधि र उपायहरूको प्रयोग अनिवार्य बनाउनुपर्छ । यसका लागि उद्योगहरूलाई वातावरणीय संरक्षणका लागि प्रभावकारी प्रविधि अपनाउन प्रोत्साहित गर्न सरकार र निजी क्षेत्रको सहकार्यको खाँचो छ । स्थिर जलवायुले सभ्यताको स्थिरता कायम गर्न सहयोग गर्छ भने जलवायु परिवर्तनले सभ्यताको आयु छोट्याउँछ । जलवायु परिवर्तनको असरको बारेमा जागरूकता फैलाउन पाठ्यक्रम, मिडिया र स्थानीय अभियानहरूको प्रभावकारी प्रयोग गर्न आवश्यक छ ।

यो त्यस्तो समस्या हो, जसलाई समाधान गर्न राष्ट्रिय सीमाभित्र गरिने प्रयासले मात्र सम्भव हुँदैन; अपितु अन्तर्राष्ट्रिय समन्वय र सहकार्यको बलियो शृङ्खलाले मात्र यसलाई न्युनीकरण गर्न सकिन्छ । सबै राष्ट्रहरूले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्दै हिमाल र हिमतालहरूको संरक्षण र वायुमण्डलीय उष्णता नियन्त्रणमा ठोस कदम चाल्न आवश्यक छ ।

हिमालयको अनुपम सौन्दर्य र प्राकृतिक विविधतामा आधारित नेपालको पर्यटन उद्योग जलवायु परिवर्तनको कडा असरले क्रमशः म्लान बन्दै गइरहेको छ । यदि आजैबाट सचेत भई ठोस कार्ययोजना अघि बढाइएन भने हाम्रा हिमालको सौन्दर्य र प्राकृतिक सम्पदा भविष्यमा तस्वीर र कथाहरूमा सीमित हुन पुग्नेछन् ।

पृथ्वीलाई जोगाएर मात्र हामीले पर्यावरणीय सन्तुलन कायम गर्दै पर्यटनमार्फत आर्थिक समृद्धि र सुखद जीवन सुनिश्चित गर्न सक्छौँ । आउनुहोस्, आजैबाट प्रयास गरौँ– हाम्रो हिमालय, हाम्रो प्रकृति र हाम्रो भविष्य बचाउन ! विदितै छ– हिमालविनाको नेपाल अकल्पनीय छ ।

Comments