भावनाका तरड्डहरुमा तरड्डित मेरा शब्द पुञ्ज
जेठ २०, २०८२, मङ्गलबार | दिउँसो १२:४२ बजे | 290
डा इन्दुल केसी
१. प्राक्कथन
कवि राजेन्द्रकुमार बज्राचार्यजीले आफ्नो कृति ‘भावनाका तरङ्गहरु’ भाग १ देखि भाग ८ सम्मका ८ वटा पुस्तकहरु मलाई उपहार दिनुभयो । तिनलाई मैले पढ्न थालेँ । तिनकै बारेमा तरङ्गित भएर ‘ तरङ्गित शब्द पुञ्ज’ शीर्षकको एउटा सानो समीक्षात्मक यो लेख तयार गर्ने जमर्को गरेँ । एकै नामका ८ भागमा विभक्त ती पुस्तकहरु छन्दोबद्ध काव्य पुञ्ज रहेछन् । म साहित्यमा अभिरुचि राख्ने एकजना पाठक हँु । तर छन्दको बारे भने ममा खास ज्ञान छैन । मैले पनि बेलाबेलामा कविता रचना गर्ने गरेको तर गद्य कविताको रुपमा मात्र प्रकाशित छन् । बज्राचार्यजीको अहिले यस कृतिलाई पढ्ने क्रममा मलाई छन्दको बारेमा केही जान्ने बुझ्ने अभिलाषा पैदा भयो । यस समबन्धमा अरुका लेख, रचना, पुस्तक आदिलाई पनि मैले पढ्ने गरेँ ।
२. रचनाकार राजेन्द्रकुमार बज्राचार्यको सङ्क्षिप्त परिचय
वि.सं. २०२० सालमा बनेपा न.पा. ४, काभ्रेपलान्चोकमा जन्मिनु भएका बज्राचार्यजीले एम.ए., बी.एड. गरी उहाँले शिक्षण सेवामा आफ्नो जीवन व्यतीत गर्नुभएको रहेछ । उहाँले ‘शीर्षक विनाका कविताहरु’, १००८ श्लोक वि.सं. २०७७ सालमा र यो भावनाका तरङ्ग छन्दोबद्ध काव्य पुञ्ज ८ भागका ८ वटा पुस्तक रचना गर्नुभएको छ । उहाँ नोबल साकोस साहित्य संस्थाको र पुष्पपराग साहित्य प्रतिष्ठानका पनि आजिवन सदस्य हुनुहुन्छ ।
३. पुस्तक प्रकाशन सम्बन्धमा
यो भावनाका तरङ्गहरु भन्ने छन्दोबद्ध काव्य पुञ्जका भाग १,२,३ र ४ को प्रकाशन उहाँको धर्मपत्नी मुना बज्राचार्यजीले र भाग ५, ६, ७ र ८ उहाँका छोरा रज्वल बज्राचार्यजीले प्रकाशन गर्नुभएको रहेछ । उक्त सबै पुस्तकहरुमा जम्मा ८४० पृष्ठहरु छन् र ६७५ वटा कविताहरु रहेका छन् ।
४. लोकार्पण÷शुभकामना सन्दर्भ
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भूपाल राईज्यूको शुभकामना, डा. शैलेन्द्रप्रकाश नेपालको शुभेच्छा, डा. दिव्य प्रियंवदाको शुभकामना, प्राज्ञा परिषद् सदस्य डा. देवी नेपालको समीक्षात्मक भूमिका, डा. बासुदेव काफ्लेको समीक्षात्मक टिप्पणी, डा. यज्ञेश्वर निरौलाको आमुख, श्री कला निधि दाहालको अग्रलेखन, खोला घरे साहिलाको अग्रलेख तथा श्री राजनप्रसाद न्यौपाने समेतका गरी विशिष्ट विद्वान् लेखक, समीक्षकज्यूहरुका तर्फबाट पुस्तकका बारेमा आ–आफ्ना अभिव्यक्तिहरु सुन्दर ढंगबाट दिइएका छन् ।
५. लेखकीय मन्तव्य
यी पुस्तकका रचनाकार बज्राचार्यजीले आफ्नो ‘लेखकको कलमबाट’ भन्ने शीर्षकमा भन्नुहुन्छ, “२०७५ सालदेखि कविता लेख्न शुरु गरेको आफूभित्र अन्तर्निहित ज्ञान, भावनालाई छन्दोबद्ध कविताका रुपमा प्रस्तुति गर्ने कार्यबाट लोप हुनलागेको छन्दोबद्ध काव्य संरचनालाई पुनः जागृत गर्दै छन्द जागरण अभियानलाई समेत सहयोग गर्ने अपेक्षा राख्नुभएको ।” यो पुस्तक तयार गर्ने क्रममा रहेका स्रोत सामग्रीमा एउटा सानो छन्दको थोत्रो पुस्तकबाट भण्डै १०० ओटा जति छन्दको अध्ययन गरी ह्रस्व, दीर्घ तथा गण सूत्रहरुको अध्ययन गरियो । विद्युतीय सञ्जालमार्फत छन्दको खोजी गर्ने एउटा पुस्तक ‘वन्त रत्नाकरम्’ र डा. देवी नेपालद्वारा लिखित ‘छन्द पराग’ पुस्तक पनि रहेको छ ।
६. छन्द परिचय
यो लेख छन्दसँग सम्बन्धित भएकोले यस बारे केही चर्चा गर्नु सान्दर्भिक होला । छन्द शास्त्र अनुसार भाषाको ढाँचा, लय वा छन्दका नियम आदिका बारेमा अध्ययन गरिने विषय हो । छन्द शास्त्रले पद्य रचनाका निम्ति आवश्यक वर्ण, मात्रा, अक्षर, पाउ, श्लोक, विश्राम आदिका नियमबारे बताई तिनको अध्ययन र व्याख्या गर्छ । नेपालीमा प्रयुक्त अधिकांश शास्त्रीय छन्दहरुको सम्बन्ध पिङगलाको छन्द सूत्र सम्बन्धि ग्रन्थ छन्द शास्त्रसँग गाँसिएको छ । छन्दमा वर्ण, मत्रा, गण, गण सङ्केत, गति, यति, लय आदिका आधारमा गरिने पद्य रचनाको सूत्र सिद्धान्त र नियम हो । हरेक पाउमा लय हाली सस्वर वाचन सहित लयमा सुनिश्चितता प्रदान गर्ने छन्द भनेको बाह्य तत्व हो । छन्दलाई गणहरुको समूह, अक्षर वा मात्रा र तिनको विश्रामले नियमन गरिएको हुन्छ । छन्दले कवितामा सङ्गीतको मापन पनि गर्छ । नेपालीमा शास्त्रीय रुपमा वार्णिक र मात्रिक तथा अन्य प्रचलनमा पनि गीति र लोक छन्दहरु पाइन्छन् ।
७. यस पुस्तकमा रहेका कवितात्मक विषयवस्तु
उक्त कविताभित्र प्रेम भाव, श्रृङ्गार वा सहसम्बन्ध आदि रहेका छन् । राष्ट्र प्रेम, जाति गौरव, स्थान प्रेम, प्रकृति मोह र सौन्दर्य, सामाजिक, राजनीतिक विकृति आदि पाइन्छन् । विभिन्न उपदेश, सरसल्लाह, राय, परामर्श, भक्तिभाव, आशा–निराशा, आत्मबोध, शान्तिको कामना आदि पनि यिनमा अभिव्यक्त छन् । साथै स्वास्थ्य सचेतना, यात्रा, दृश्यावलोकन, लोभ लालचा, आक्रोश र प्राकृतिक विनाश आदिका बारेमा पनि सुन्दर ढङ्गले कविताहरु रचिएका छन् । पुस्तक भित्रका एक–एक कविता केलाई चर्चा गर्न थाले एउटा छुट्टै बृहत पुस्तक तयार हुन सक्छ । तर यो सङ्क्षिप्त लेखभित्र ती सबै कुरालाई अटाउन सम्भव छैन ।
८. अन्तमा
हिजो आजको प्रविधिको विकासले अनेक साधनहरु उपलब्ध हुन थालेका छन् । साहित्यका पाठकहरुमा पुस्तक पढ्ने बानी क्रमशः घट्दै गइरहेको छ भन्ने भनाइ आम चर्चाको विषय भएको छ । यस अवस्थामा राजेन्द्रकुमार बज्राचार्यजीले विभिन्न विशेषतायुक्त छन्दोबद्ध भाव पुञ्ज पुस्तक एकैदिन ८ वटा जनसमक्ष ल्याउनु भएको थियो । उक्त कार्य उल्लेख्य एवम् प्रशंसनीय कार्य थियो भन्ने लाग्छ । एकै दिन एउटै उच्च व्यक्तिबाट ८ वटा पुस्तक लोकार्पण गरिनु त्यसमा पनि शास्त्रीय छन्द जस्तो गहन र जटिल विषयका आधारमा रचिएका उक्त कविताहरु जीवन, समाज, राष्ट्र आदि विविध विषयसँग गाँसिएर जल्दो बल्दो ढङ्गले रचित कविताहरुले गर्दा लेखक श्री राजेन्द्रकुमार बज्राचार्यले एउटा नौलो कीर्तिमान कायम गर्नु भएको छ । वहाँको यो स्तुत्य कार्यको लागि पनि मुरी मुरी धन्यवाद व्यक्त गर्दछु ।
०००
