अन्तर्राष्ट्रिय सगरमाथा दिवसः एक ऐतिहासिक उदय


जेठ १५, २०८२, बिहीबार | विहान ०६:११ बजे | 25


अन्तर्राष्ट्रिय सगरमाथा दिवसः एक ऐतिहासिक उदय

राजेन्द्रमान डङ्गोल
‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
गम्केर बज खैँजडी झम्केर नाच मुजुरा...’
उपर्युक्त पङ्क्तिहरू केवल कर्णप्रिय गीतका हरफ मात्र होइनन्, यी त प्रत्येक नेपालीको अन्तर्मनमा गुञ्जायमान हुने राष्ट्रिय गौरवका जीवन्त झङ्कार हुन् । जब यी शब्द श्रवणद्वारमा ठोकिन्छन्, छाती अनायासै गर्वले प्रफुल्लित हुन्छ, मन रोमाञ्चित बन्छ र स्नायुहरूमा एक असीम ऊर्जाको सञ्चार हुन्छ ।
आज मे २९, अर्थात् ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस ।
यो पावन अवसरमा, उपर्युक्त पङ्क्तिहरूले अझ विशेष र गहन अर्थ धारण गर्दछन् । हो, सन् १९५३ को यही अविस्मरणीय दिन, नेपालका सपुत तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पृथ्वीको सर्वोच्च विन्दु, सगरमाथा (तिब्बती भाषामा चोमोलोङ्मा अर्थात् विश्वकी देवीमाता) को हिमशिखरमा प्रथम पटक पाइला टेकेर मानव साहस र अदम्य सङ्कल्पको अभूतपूर्व कीर्तिमान स्थापित गरेका थिए । त्यो दिन केवल दुई व्यक्तिको विजयको उत्सव मात्र थिएन, त्यो त प्रकृतिमाथि मानव जातिको अदम्य साहस, अथक प्रयास र दृढ सङ्कल्पको शाश्वत प्रतीक थियो । ‘शिरमा सगरमाथा, मनमा नेपाल’ भन्ने पवित्र भावनालाई चरितार्थ गर्दै उनीहरूले विश्व मानचित्रमा नेपालको नाम सुनौलो अक्षरले अङ्कित गराएका थिए । आज हामी ती दुई महान् विभूतिहरूलाई अगाध श्रद्धा र सम्मानका साथ स्मरण गर्दछौँ, जसले ‘हिम्मत गरे जे पनि सम्भव छ’ भन्ने लोकोक्तिलाई मूर्त रूप प्रदान गरे ।
सगरमाथाः एक परिचय, अनेक आयाम
हामी नेपालीहरू ‘सगरमाथा’ भनी पुकार्छौं, अङ्ग्रेजीमा यो ‘माउन्ट एभरेस्ट’ का नामले विश्वविख्यात छ । यो ८,८४८.८६ मिटरको उचाइ मात्र होइन; यो त नेपालको गौरव, स्वाभिमान, पहिचान र समस्त विश्वकै अमूल्य धरोहर हो । यसलाई हिन्दू धर्मावलम्बीहरू ‘आकाशको ललाट’ र बौद्धमार्गीहरू ‘विश्वकी मातृदेवी’ (चोमोलोङ्मा) को रूपमा श्रद्धापूर्वक पुज्दछन् । यसको विशाल कायामा अनेकौँ रहस्य, चुनौती र अलौकिक सौन्दर्य समाहित छन् । यसको चुचुरोमा पुग्नु भनेको स्वयम्लाई जित्नु हो, प्रकृतिको विराटतासँग एकाकार हुनु हो । यसले पर्वतारोहीहरूलाई मात्र नभई, विश्वभरका प्रकृतिप्रेमी र साहसी आत्माहरूलाई निरन्तर आकर्षित गर्दै आएको छ । सगरमाथाको शिखर चुम्ने अभिलाषा राख्नेहरूका लागि यो एउटा पवित्र तीर्थस्थलसरह हो, जहाँ पुग्न कठोर तपस्या, अदम्य साहस र अटुट धैर्यको त्रिवेणी आवश्यक पर्दछ । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझैँ, आरोहीहरू अनेकौँ बाधा–अड्चनहरूलाई परास्त गर्दै यसको हिमशिखरमा विजयको ध्वजा फहराउने गर्दछन् ।
तेन्जिङ नोर्गे शेर्पाः हिमालका छोरा र एक अद्भुत संयोग
तेन्जिङ नोर्गे शेर्पाको जीवन र मे महिनाबीच अविस्मरणीय एवम् रहस्यमय सम्बन्ध छ । सन् १९१४ मे २५ मा तेन्जिङको जन्म सगरमाथाको उत्तरतिरको दुर्गम खोँचको एकान्त गाउँमा भएको थियो । त्यसताका उच्च हिमाली भूभागमा राज्यको औपचारिक उपस्थिति वा प्रशासनिक पहुँच थिएन । त्यो गाउँ हाल चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्दछ । यद्यपि, उनको मावली नेपालकै सोलुखुम्बुको प्रसिद्ध थामे गाउँ थियो । त्यहाँकै विशिष्ट हावापानी र जीवन्त संस्कृतिले उनको बाल्यकाल सिँगारेको थियो । जन्मजातै हिमाली चुनौतीसँग अभ्यस्त त्यस भेगका बलिया युवा जीविकोपार्जनका लागि कष्टपूर्ण यात्रा गर्दै मध्यपहाडका बजार ओर्लिन्थे । तीमध्ये दार्जिलिङ पर्वतारोहण गतिविधिहरूको तत्कालीन केन्द्रबिन्दु थियो, जहाँबाट सम्पूर्ण व्यवस्थापकीय कार्यहरू हुन्थे । हट्टाकट्टा, दृढ निश्चयी र हिमालका कठिनाइसँग पूर्णतः सुपरिचित तेन्जिङजस्ता युवाहरू, विश्वविजेता बन्ने महत्त्वाकाङ्क्षा बोकेका बेलायती अन्वेषकहरूका तीक्ष्ण नजरमा नपर्ने कुरै थिएन । किनकि, ती बेलायतीहरू सर्वोच्च शिखरमा सर्वप्रथम झन्डा फहराएर विश्व कीर्तिमान कायम गर्न चाहन्थे । यसै क्रममा छानिएका कैयौँ ऊर्जावान् र हिमालसँग घनिष्ठ र परिचित सयौँ युवामध्ये तेन्जिङ नोर्गे आफ्नो अदम्य साहस, अद्वितीय शारीरिक क्षमता र गहिरो अन्तज्र्ञानले निःसन्देह सर्वोत्कृष्ट ठहरिए ।
अन्ततः, यही अद्वितीय क्षमता र चयनले तेन्जिङलाई न्युजिल्यान्डका निवासी, दृढ निश्चयी र अनुभवी पर्वतारोही सर एडमन्ड हिलारीसँगको ऐतिहासिक सहयात्रातर्फ डो¥यायो । यी दुई फरक पृष्ठभूमि तर समान लक्ष्य भएका पर्वतारोहीहरूको अद्वितीय साझेदारी, अतुलनीय साहस र आपसी समझदारीले नै २९ मे, १९५३ को अविस्मरणीय बिहानीमा सगरमाथामा पहिलो पटक मानव पाइला टेक्न सफल भए । यो सफलता तेन्जिङ र हिलारीको व्यक्तिगत विजय मात्र नभई, मानव जातिको अदम्य इच्छाशक्ति, अथक प्रयास र प्रकृतिमाथिको विजयको प्रतीक बन्यो, जसले ब्रिटिस साम्राज्यको प्रतिष्ठालाई उँचो पार्नुका साथै विश्वभरका पर्वतारोही र साहसीहरूलाई प्रेरणाको अनन्त स्रोत स्थापित ग¥यो । तेन्जिङको हिमालप्रतिको नैसर्गिक ज्ञान र हिलारीको पर्वतारोहणको प्राविधिक दक्षताको अद्भुत संयोजनले त्यो असम्भव सपनालाई यथार्थमा परिणत गरिदियो ।
तेन्जिङले आफ्नो जीवनको सर्वोत्कृष्ट उपलब्धि, सगरमाथा आरोहण, सन् १९५३ मे २९ मा हासिल गरे । र, अन्ततः सन् १९८६ को मे ९ मा भारतको दार्जिलिङमा उनको देहावसान भयो । उनको जन्म, शिखर सफलता र मृत्यु मे महिनामै घट्नुलाई एक दुर्लभ संयोग मात्र भन्न सकिँदैन, यो त प्रकृतिको एउटा अद्भुत लीला नै प्रतीत हुन्छ ।
एक सामान्य शेर्पा परिवारमा जन्मिएर पनि उनले आफ्नो कर्म, साहस र दृढताले आफूलाई विश्वभर चिनाई नेपालको शिर उच्च राखे । उनी केवल एक पर्वतारोही मात्र नभई, लाखौँ मानिसहरूका लागि प्रेरणाका अजस्र स्रोत थिए । उनको सदाबहार मुस्कुराइरहने मुहार र विनम्र स्वभावले सबैको मन जित्यो । उनको नाम र कीर्ति अजरामर रह्यो ।
अर्का शिखर पुरुष, सर एडमन्ड हिलारीको जीवन पनि प्रेरणादायी छ । सगरमाथा आरोहणको सफलतापछि उनले आफ्नो बाँकी जीवन नेपालका शेर्पाहरूको शिक्षा, स्वास्थ्य र जीवनस्तर उकास्न निःस्वार्थ रूपमा समर्पित गरे । उनले स्थापना गरेको हिमालयन ट्रस्टमार्फत सोलुखुम्बु क्षेत्रमा कैयौँ विद्यालय र अस्पताल निर्माण भई हजारौँ नेपालीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याए । उनको यो परोपकारी कार्यले उनलाई नेपालीहरूको हृदयमा सदाका लागि अमर बनाएको छ ।
‘सगरमाथा दिवस’ को प्रारम्भः दूरदर्शिता र अथक प्रयासको जग
आज हामी जुन भव्यता र उत्साहका साथ ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाइरहेका छौँ, यसको पृष्ठभूमिमा केही समर्पित पर्यटन व्यवसायीहरूको दूरदर्शिता, अथक प्रयास र अटुट सङ्कल्पको गाथा अन्तर्निहित छ । सन् १९८० को दशकसम्म पनि आजको जस्तो प्रत्येक वर्ष मे २९ मा सगरमाथा दिवस मनाउने परम्परा थिएन, झन् अन्तर्राष्ट्रिय स्तरमा मनाउने त कल्पनाभन्दा परको कुरा थियो । सन् १९९२ तिर आइपुग्दा ठमेलका हामी केही सीमित पर्यटन व्यवसायीहरूले मात्र सानो समूहमा यस ऐतिहासिक दिनको स्मरण गर्ने गथ्र्यौं ।
त्यसबेला नेपालको पर्यटन उद्योग, विशेषगरी ट्रेकिङ र पर्वतारोहण, बिस्तारै आफ्नो बाल्यावस्थाबाट युवावस्थातिर लम्किँदै थियो । यद्यपि, वातावरणीय पक्ष भने कतै ओझेलमा पर्दै गएको हो कि भन्ने गहिरो चिन्ता हामीमा थियो । यही चिन्ता र जिम्मेवारीबोधले हामीलाई भित्रैदेखि निरन्तर घचघच्याइरहेको थियो ।
यसै पृष्ठभूमिमा, तत्कालीन इको ट्रेक्स प्रा. लि. का दूरदर्शी सञ्चालक ज्योति अधिकारीले ‘एभरेस्ट कोर इन्टरनेसनल (ईसीआई)’ को नवीन अवधारणा अघि सारे । उनको दूरदर्शिता र वातावरण संरक्षणप्रतिको अगाध चासोले नै हामीलाई यस दिशामा संगठित रूपमा अघि बढ्न प्रेरित ग¥यो । उनकै अग्रसरतामा हामीले यो संस्थाको स्थापना गर्ने दृढ सङ्कल्प ग¥यौँ । ठमेलमा सक्रिय रहेका हामी लगभग २५ वटा ट्रेकिङ कम्पनीहरू यसमा समाहित भई एउटै साझा उद्देश्यमा एकाकार भयौँ । हाम्रो लक्ष्य स्पष्ट थियो – पर्यटनलाई दिगो र वातावरणमैत्री बनाउने । यसैले हाम्रो संस्थाको मूल मन्त्र थियो – ‘कन्जर्भ द इन्भाइरन्मेन्ट, सेभ द वल्र्ड’ (वातावरण संरक्षण गरौँ, विश्व बचाऔँ) । साँच्चै, यो नारा केवल शब्दहरूमा सीमित थिएन, यो त हाम्रो कर्म र प्रतिबद्धताको जीवन्त प्रतिविम्ब थियो । ज्योति अधिकारीको कुशल नेतृत्व र हाम्रो सामूहिक प्रयासले यो संस्थाले छोटो समयमै एउटा दरिलो र सकारात्मक पहिचान बनाउन सफल भयो ।
वास्तवमा, तत्कालीन समयमा त्यो अवधारणा नितान्त नवीन र क्रान्तिकारी थियो । ‘ईसीआई’ ले यस विषयमा गम्भीर बहस र विमर्श ग¥यो – सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मे २९ का दिन पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको त्यो ऐतिहासिक दिनलाई किन विशेष रूपमा नमनाउने ? यसले एकातिर हाम्रा हिमाली नायकहरूको गौरवपूर्ण सम्मान हुने थियो भने अर्कातिर सगरमाथा र समग्र हिमालय क्षेत्रको संरक्षणमा विश्वको ध्यानाकर्षण गराउन सकिन्थ्यो ।
सन् १९९२ मे २९ का दिन ‘ईसीआई’ ले आयोजना गरेको पहिलो कार्यक्रममा एउटा ओजपूर्ण नारा गुञ्जायमान भयोः “आरोहीको सम्मान गरौँ !”
सीमित स्रोतसाधनका बाबजुद पनि ‘एभरेस्ट कोर इन्टरनेसनल (ईसीआई)’ ले प्रत्येक वर्ष मे २९ का दिन सगरमाथाको सफल आरोहण गरेका स्वदेशी तथा विदेशी आरोहीहरूलाई सम्मान एवम् पुरस्कृत गरेर यो दिन मनाउने स्तुत्य परम्परा बसाल्यो । यो सानो तर महŒवपूर्ण प्रयासले सगरमाथा आरोहणको गरिमालाई जीवन्त राख्न र नयाँ पुस्तालाई पर्वतारोहणप्रति आकर्षित गर्न ठूलो भूमिका निर्वाह ग¥यो । ती दिनहरूमा पर्यटन व्यवसाय आजको जस्तो फस्टाएको थिएन, तर हाम्रो मनमा अदम्य उत्साह र अटल जोश थियो । त्यही निःस्वार्थ प्रयास र समर्पणले नै आज यो दिवसले यति विराट् र विश्वव्यापी स्वरूप धारण गरेको हो ।
एक अविस्मरणीय घटना
हामीले मे २९ को कार्यक्रमका लागि तत्कालीन सभामुख दमननाथ ढुङ्गानालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण ग¥यौँ । तर, उनले हाम्रो संस्था नवगठित भएकोले यसको वैधानिकतामाथि प्रश्न उठाउँदै उपस्थित हुन अनिच्छा प्रकट गरे । तत्कालीन माननीय पर्यटनमन्त्री रामहरि जोशी र तत्कालीन सचिवले पनि यस विषयमा खासै चासो देखाएनन् । कार्यक्रमको दिन नजिकिँदै गर्दा पनि प्रमुख अतिथि को हुने भन्ने टुङ्गो लाग्न सकिरहेको थिएन ।
त्यतिबेला, आफूलाई पुराना र स्थापित ठान्ने पर्यटन व्यवसायीहरूले भर्खरै यस पेशामा प्रवेश गरेका हामीजस्ता युवाहरूलाई पर्यटन उद्यमीका रूपमा सहजै स्वीकार गर्दैनथे । उनीहरूजस्ता परम्परागत वा ‘खानदानी’ व्यवसायीहरूका लागि हाम्रो यो नवीन प्रस्ताव स्वीकार्य हुने कुरै थिएन । प्रायःजसो संघसंस्थाहरू उनीहरूकै नियन्त्रणमा रहेको त्यस बखत, तत्कालीन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कार्यसमितिले हाम्रो ‘सगरमाथा दिवस’ सम्बन्धी प्रस्तावपत्र दर्ता गर्नसमेत अस्वीकार ग¥यो । यस्तो चुनौतीपूर्ण र विकल्पहीन अवस्थामा, हामी आफैँले एउटा संस्था दर्ता गरेर भव्यताका साथ यो दिवस मनाउने अठोट ग¥यौँ ।
यसै क्रममा, हाल पर्यटन प्रशिक्षक तथा विज्ञका रूपमा सुपरिचित, एक होनहार युवा विनय शाक्यजी त्यतिबेला नेपाल पर्वतारोहण संघको प्रशासन प्रमुख हुनुहुन्थ्यो । हाम्रो प्रस्तावको गहिरो मर्म र दूरगामी लक्ष्य बुझ्ने विलक्षण क्षमता भएका उनले, त्यही समयमा काठमाडौँको बानेश्वरस्थित एभरेस्ट होटलमा हुन गइरहेको पर्वतारोहणसम्बन्धी अन्तर्राष्ट्रिय भेलालाई उपयोग गर्न सकिने अमूल्य सल्लाह दिए । साथै, उनले गोप्य रूपमा (पछाडिको ढोकाबाट) हामीलाई उक्त प्रतिष्ठित भेलाका लागि दुईवटा निमन्त्रणा–पत्र उपलब्ध गराउने साहसिक कार्य पनि गरे । त्यति भएपछि हामीलाई थप के चाहियो र ! हामीले रातारात आकर्षक र सन्देशमूलक पम्प्लेटहरू तयार पा¥यौँ । हामीले होटल परिसरमा मे २९ अर्थात् ‘सगरमाथा दिवस’ लाई सफल पार्न व्यापक प्रचारप्रसार (पम्प्लेटिङ) ग¥यौँ ।
सगरमाथा दिवस मनाउने यो तयारीको समाचारले त्यही बृहत् पर्वतारोही भेलामा रिपोर्टिङ गरिरहेका विश्वविख्यात सञ्चारमाध्यमको ध्यान तत्काल खिच्यो र उनीहरूले यसलाई अन्तर्राष्ट्रिय समाचारको विषय बनाए, जसले हाम्रो अभियानलाई अनपेक्षित रूपमा ठूलो ऊर्जा र सहयोग प्रदान ग¥यो । त्यहाँ विदेशी सञ्चारमाध्यमका ख्यातिप्राप्त प्रतिनिधिहरू पनि उपस्थित थिए । परिस्थिति कस्तोसम्म भयो भने – हाम्रो ‘सगरमाथा दिवस’ सम्बन्धी कार्यक्रम र उत्साह देखेर उनीहरूले हाम्रा मन्त्रीज्यू र सचिवज्यूलाई ‘ईसीआई’ ले आयोजना गर्न लागेको ‘सगरमाथा दिवस’ बारेमा जिज्ञासा राखेछन्, तर हाम्रा मन्त्री र सचिवलाई यसबारे कुनै जानकारी वा चासो नभएकोले उनीहरू अक्क न बक्क परेछन् । त्यसपश्चात्, उनीहरूले नै ‘ईसीआई’ लाई खोज्दै आए  ।
अघिल्लो दिनसम्म “सगरमाथा दिवस” को मर्म र भावना बुझ्न नचाहेका वा नसकेका राज्यका निकाय तथा प्रशासक प्रमुखहरू नै आफैँ हाम्रो कार्यक्रम र गतिविधिमा गहिरो चासो राख्न आइपुगे । प्रस्ताव हात पर्नासाथ पूर्ण सकारात्मक रहनुभएका तत्कालीन पर्यटन विभाग प्रमुख  दीपेन्द्रपुरुष ढकाल, उनका सहयोगी वरिष्ठ प्रशासक  प्रचण्डमान श्रेष्ठज्यू, मीना खनाल तथा अन्य कनिष्ठ कर्मचारीहरू भने यो अभियानका सशक्त हिमायतीका रूपमा दत्तचित्त भएर अग्रसर देखिए । 
यसरी, पहिलोपटक सन् १९९२ मे २९ तारिखमा “हिमाल आरोहीहरूको सम्मान र हिमाली वातावरणको संरक्षण” भन्ने मूल मन्त्रसहित “सगरमाथा दिवस, मे २९” विधिवत् रूपमा मनाउने गौरवशाली परम्पराको श्री गणेश भयो ।
अन्ततः, तत्कालीन पर्यटनमन्त्री  रामहरि जोशीको प्रमुख आतिथ्यमा हामीले कार्यक्रम सफलतापूर्वक सम्पन्न ग¥यौँ । हामीले आयोजना गर्ने ‘सगरमाथा दिवस’ हरूमा दश पटक विनाअक्सिजन सगरमाथा आरोहण गर्ने कीर्तिमानी आङरिता शेर्पादेखि सर्वाधिक पटक सगरमाथाको शिखर चुम्ने आप्पा शेर्पालगायत अनगिन्ती साहसी आरोहीहरूलाई सम्मान गर्ने सुअवसर प्राप्त ग¥यौँ ।
यो दिवसको भित्री उद्देश्य केवल उत्सव मनाउनु मात्र थिएन; यसको अभीष्ट त आरोहीहरूको अतुलनीय बलिदान, उनीहरूको शान र मानलाई तल्लो तहसम्म स्थापित गर्नु थियो । सगरमाथाको अपार महिमा विश्वभर गुञ्जाउनु थियो । हिमाल र वातावरण संरक्षणबारे व्यापक जनचेतना अभिवृद्धि गर्नु थियो । भरिया र सरदारका रूपमा उनीहरूलाई दोस्रो दर्जामा राखी निरन्तर गरिँदै आएको शोषणको जालो च्यात्नु थियो, अनि उनीहरू नै वास्तविक कर्मवीर हुन् भन्ने शाश्वत मान्यता स्थापित गर्नु थियो ।
टानको काँधमा जिम्मेवारीः एक नयाँ अध्यायको सुरुवात
समयको प्रवाहसँगै, सन् २००३ मा पर्वतीय पर्यटन क्षेत्रका अर्का कर्मठ व्यक्तित्व  दीपक महत ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षको रूपमा निर्वाचित भए । टान नेपालका ट्रेकिङ व्यवसायीहरूको छाता संगठन भएको नाताले यसको भूमिका र दायित्व पनि बृहत् र गहन थियो । यही यथार्थलाई हृदयङ्गम गर्दै, ‘एभरेस्ट कोर इन्टरनेसनल (ईसीआई)’ ले नै ‘सगरमाथा दिवस’ आयोजना गर्ने महत्वपूर्ण जिम्मेवारी टानलाई हस्तान्तरण गर्न विनम्र आग्रह ग¥यो । यो एक अत्यन्त स्वागतयोग्य र दूरदर्शी कदम थियो, जसले दिवसको आयोजनालाई थप संस्थागत, व्यापक र प्रभावकारी बनाउन उल्लेख्य मद्दत पु¥यायो । तत्पश्चात्, टानकै सक्रिय आयोजना र कुशल व्यवस्थापनमा ‘सगरमाथा दिवस’ अझ व्यवस्थित र परिष्कृत रूपमा मनाउन थालियो । टानले यसलाई आफ्नो वार्षिक क्यालेन्डरको एक अभिन्न र महŒवपूर्ण कार्यक्रमको रूपमा स्थापित ग¥यो र यसको गरिमालाई अझ उँचो बनाउन विभिन्न रचनात्मक एवम् नवीन कार्यक्रमहरू आयोजना गर्न थाल्यो । यो इतिहासको एउटा महŒवपूर्ण तर प्रायः विस्मृत कडी हो, जसलाई धेरैले भुलेका हुन सक्छन् वा कतिपय नयाँ पुस्तालाई यसबारे जानकारी नहुन पनि सक्छ । तर, सत्य यही हो कि टानले यो गहन जिम्मेवारीलाई अत्यन्त कुशलतापूर्वक र सफलतापूर्वक निर्वाह गर्दै आएको छ ।
‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ को प्रस्तावः टानको दूरगामी सोच
जब सगरमाथाका प्रथम आरोही सर एडमन्ड हिलारीको ८ जनवरी २००८ मा न्युजिल्यान्डमा दुःखद निधन भयो, घटनाक्रमले एक नयाँ र महŒवपूर्ण मोड लियो । उनको निधनको खबरले विश्वभरका पर्वतारोहण प्रेमी तथा नेपालका अनन्य शुभचिन्तकहरूलाई स्तब्ध बनायो । नेपाल र नेपालीप्रति असीम स्नेह दर्शाउने हिलारीको सम्मानमा अविस्मरणीय कार्य गर्नुपर्छ भन्ने भावना सबैको हृदयमा जागृत भयो । यसै परिप्रेक्ष्यमा, १५ जनवरी २००८ का दिन नेपाल पर्यटन बोर्डको सभाकक्षमा टानद्वारा एक विशेष श्रद्धाञ्जली सभा एवम् अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरियो । वास्तवमा, त्यो कार्यक्रम एक ऐतिहासिक क्षण सावित भयो । यो एक सुखद संयोग नै मान्नुपर्छ कि त्यसबेला टानको नेतृत्व ज्योति अधिकारीले नै सम्हालेको थिए ।
उक्त ऐतिहासिक सभामा टानले एक दूरगामी महŒव बोकेको प्रस्ताव प्रस्तुत ग¥योः सगरमाथाको आरोहण दिवसलाई राष्ट्रिय परिधिमा मात्र सीमित नराखी, राज्यले नै यसको स्वामित्व ग्रहण गर्दै ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ का रूपमा विश्वव्यापी स्तरमा मनाइनुपर्छ । टानको सुविचारित तर्क थियो – सगरमाथा केवल नेपालको नभई समस्त विश्वको साझा सम्पदा हो । अतः यसको आरोहण दिवसलाई अन्तर्राष्ट्रिय रूपमा मनाउँदा नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य टेवा पुग्नेछ र विश्वमानचित्रमा नेपालको गौरवपूर्ण पहिचान अझ सुदृढ बन्नेछ । यो गहन प्रस्ताव तत्कालीन पर्यटन सचिव लीलामणि पौड्यालसमक्ष पेस गरियो । पौड्याल एक कुशल प्रशासक मात्र नभई पर्यटनका गहिरो मर्मज्ञ पनि थिए । उनलाई टानको यो दूरदर्शी प्रस्ताव अत्यन्त सान्दर्भिक र राष्ट्रिय हितअनुकूल लाग्यो । फलस्वरूप, उनको सकारात्मक अग्रसरता र सक्रियताकै कारण यो प्रस्तावले मूर्त रूप लिने मार्ग प्रशस्त भयो ।
यसरी, ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ को अवधारणालाई जन्म दिने र यसलाई विधिवत् रूपमा प्रस्ताव गर्ने सम्पूर्ण श्रेय ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लाई नै समर्पित छ । यो निःसन्देह हामी समस्त पर्वतीय पर्यटन व्यवसायीहरूका लागि गौरवको अविस्मरणीय अध्याय हो ।
बाधा, अड्चन र सफलताः एक यथार्थको चित्रण
कुनै पनि शुभकार्यको थालनी गर्दा वा कुनै नवीन प्रस्तावलाई कार्यान्वयनमा ल्याउँदा केही न केही बाधा–अड्चनहरू आउनु स्वाभाविकै हो । ‘सोझो औँलाले घिउ आउँदैन’ भनेझैँ, ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ को प्रस्तावलाई सरकारी स्तरबाट स्वीकृत गराउन पनि केही गम्भीर चुनौतीहरू थिए । तत्कालीन माननीय पर्यटनमन्त्री पृथ्वीसुब्बा गुरुङ पर्यटन व्यवसायीप्रति त्यति सकारात्मक थिएनन् भन्ने चर्चा तत्कालीन पर्यटन वृत्तमा व्याप्त थियो । यदि उनी आफ्नो निर्वाचन क्षेत्रको चुनावी कार्यक्रममा व्यस्त नभएका भए टानको यो महŒवपूर्ण प्रस्ताव सायदै त्यति सहजै र शीघ्र स्वीकार्य हुन्थ्यो होला भन्ने अनुमान गर्न सकिन्छ । तर, सौभाग्यवश, तत्कालीन पर्यटन सचिव  लीलामणि पौड्यालले टानको प्रस्तावको गाम्भीर्यता, आवश्यकता र दूरगामी प्रभावलाई अत्यन्त गहिरोसँग आत्मसात् गरे । उनले यसलाई एउटा संस्थाको प्रस्तावको रूपमा मात्र नहेरी राष्ट्रिय गौरव र पर्यटन विकासको बृहत्तर आयामसँग जोडेर हेरे र आवश्यक प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाउन महŒवपूर्ण एवम् निर्णायक भूमिका निर्वाह गरे । यो एउटा तितो तर सत्य यथार्थ हो, जुन कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन । कहिलेकाहीँ राजनीतिक नेतृत्वको उदासीनता वा असहयोगका बाबजुद पनि सक्षम, दूरदर्शी र राष्ट्रप्रति समर्पित कर्मचारीतन्त्रले राष्ट्रिय हितका विषयमा साहसिक र सकारात्मक निर्णय लिन सक्छ भन्ने त्यो एउटा ज्वलन्त दृष्टान्त थियो ।
आजको दिनः व्यवसायीका लागि गौरव र जिम्मेवारीको प्रतीक
यसर्थ, मे २९ को दिन केवल सगरमाथा आरोहणको ऐतिहासिक वार्षिकोत्सव मात्र होइन, यो त हामी सम्पूर्ण पर्यटन व्यवसायीहरूको अथक प्रयास, अटुट एकता, प्रखर दूरदर्शिता र राष्ट्रप्रतिको अगाध समर्पणको सुमधुर प्रतिफल पनि हो । ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ को स्थापना र यसको गरिमामय निरन्तरतामा टानको ऐतिहासिक र नेतृत्वदायी भूमिका अविस्मरणीय रहेको छ, र यसमा हामी सबै पर्यटनकर्मीहरू अन्तरहृदयदेखि गर्व गर्दछौँ । यो दिवसले हामीलाई हाम्रो गौरवशाली इतिहासको स्मरण गराउँछ भने भविष्यका लागि थप जिम्मेवार र कर्तव्यनिष्ठ बन्न निरन्तर प्रेरित पनि गर्दछ ।
सगरमाथा आजः अवसर, चुनौती र भावी मार्ग
आज सगरमाथा विश्वभरका आरोहीहरूको प्रमुख र प्रतिष्ठित गन्तव्य बनेको छ । प्रत्येक वर्ष हजारौँ स्वदेशी तथा विदेशी पर्यटकहरू सगरमाथा आरोहण वा त्यस क्षेत्रको मनमोहक पदयात्राका लागि नेपाल आउँछन्, जसले गर्दा स्थानीय अर्थतन्त्र चलायमान भएको छ र हजारौँले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् । सगरमाथा आरोहणमा दिन प्रतिदिन नयाँ नयाँ कीर्तिमानहरू स्थापित भइरहेका छन् – सबैभन्दा बढी पटक आरोहण, विनाअक्सिजन आरोहण, सबैभन्दा कम उमेरमा आरोहण, आदि इत्यादि... । यी सबै निःसन्देह सकारात्मक र उत्साहवर्धक पक्ष हुन् । तर, यसका साथसाथै केही गम्भीर र चिन्ताजनक चुनौतीहरू पनि सतहमा देखिएका छन् । आरोहीहरूको बढ्दो संख्याले सगरमाथा क्षेत्रको अत्यन्त संवेदनशील पारिस्थितिक प्रणालीमा नकारात्मक असर पारिरहेको छ । फोहोरमैलाको विकराल समस्या, जलवायु परिवर्तनका कारण हिउँ पग्लने क्रममा भइरहेको तीव्र वृद्धि र कहिलेकाहीँ देखिने अस्वस्थ एवम् अमर्यादित प्रतिस्पर्धाले सगरमाथाको शाश्वत गरिमामाथि नै प्रश्नचिह्न खडा गरेको छ । “अति सर्वत्र वर्जयेत्“ अर्थात् कुनै पनि कुराको अति गर्नु विनाशकारी हुन्छ । हामीले सगरमाथालाई केवल डलर आर्जन गर्ने निर्जीव माध्यमको रूपमा मात्र हेर्नु हुँदैन । यो हाम्रो अमूल्य प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक धरोहर हो, जसको संरक्षण र सम्वद्र्धन गर्नु हाम्रो साझा दायित्व हो ।
अन्त्यमाः भ्रम निवारण र सामूहिक सङ्कल्प
‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’को पृष्ठभूमि, ऐतिहासिक विकासक्रम र यसमा विभिन्न व्यक्ति तथा संस्थाले पु¥याएको अमूल्य योगदानबारे केही भ्रम वा मिथ्या धारणा सार्वजनिक हुन थालेका छन्; कतिपयले त यस महान् कार्यको श्रेय आफैँले मात्र लिन खोज्ने वा अरूको योगदानलाई न्यूनीकरण गर्ने प्रयाससमेत गरिरहेका देखिन्छन् । आगामी दिनमा ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाउँदा हामीले योसँग सम्बन्धित वास्तविक इतिहासको निष्पक्ष मूल्याङ्कन गर्नुपर्छ र जसले जेजति योगदान गरेको छ, त्यसको यथोचित कदर र सम्मान हुनुपर्छ । यो दिवस हाम्रो राष्ट्रिय गौरव, पर्वतीय पर्यटनको सुदृढ आधार स्तम्भ र अन्तर्राष्ट्रिय जगतमा नेपालको विशिष्ट पहिचान स्थापित गर्ने एक महŒवपूर्ण एवम् सशक्त माध्यम हो ।
यो विशेष र ऐतिहासिक दिनमा हामी सबै सगरमाथाको गरिमालाई अक्षुण्ण राख्ने, यसका प्रथम आरोही तेन्जिङ र हिलारीलगायत सम्पूर्ण ज्ञात–अज्ञात पर्वतारोहीहरूको अदम्य साहसलाई सदा स्मरण गर्ने, र नेपालको पर्वतीय पर्यटनलाई दिगो, जिम्मेवार र मर्यादित ढङ्गले अगाडि बढाउने दृढ सङ्कल्प गरौँ ! सगरमाथा हाम्रो वर्तमान मात्र होइन, हाम्रो भविष्य पनि हो । यसको संरक्षण गर्दै यसबाट प्राप्त हुने बहुआयामिक लाभलाई राष्ट्र र स्थानीय समुदायको सर्वतोमुखी हितमा अधिकतम रूपमा सदुपयोग गर्न सकौँ ।
जय सगरमाथा ! 
 

Comments