दायित्व वाङ्मय प्रतिष्ठानको २६औं वार्षिकोत्सवको अवसरमा सात स्रष्टा सम्मानित
जेठ ११, २०८२, आइतबार | विहान ०१:४४ बजे | 90
जयराम बिडारी भाषा कला साहित्य र सामाजिक उत्तरदायित्वमा लामो समयदेखि अविच्छिन्न योगदान दिंदै आइरहेको दायित्व वाङ्मय प्रतिष्ठान नेपालको २६औं वार्षिकोत्सवका अवसरमा विभिन्न महानुभावलाई सम्मान तथा पुरस्कार समर्पण गरिएको छ । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रेक्षालयमा आयोजित विशेष कार्यक्रमका बीच सर्वोच्च अदालतका सम्माननीय पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा साहित्यकार कृष्ण प्रधान, साहित्यकार प्रल्हाद पोखरेल , लगायत सम्मानित र पुरस्कृत व्यक्तित्वका साथै सयौंका संख्यामा उपस्थित रहेका साहित्यानुरागीहरूको उपस्थितिका बीच सो कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा दायित्व वाङ्मय विशिष्ट सम्मानद्वारा रमेश खकुरेल तथा प्रा. डा.गार्गी शर्मा, दायित्व वाङ्मय सम्मानद्वारा मधुसूदन घिमिरे तथा जीवनपानी, दायित्व मुरलीदेवी-गुरुदत्त काफ्ले स्मृति पुरस्कारबाट हरि मञ्जुश्री, दायित्व सीता पन्त स्रष्टा पुरस्कारबाट रीता न्यौपाने पहारी पुरस्कृत भएका छन् । यसैगरी हरिकला-गुणाकर दायित्व रचना पुरस्कारबाट सरिता अर्याल जम्मा सात स्रष्टा सम्मानित भएका छन् । सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि तथा सभाध्यक्षद्वारा भादगाउँले कालो टोपी, माला , प्रमाण-पत्र तथा नगद राशिसहित सम्मानित गरिएको थियो । सो समारोहमा दायित्व द्वैमासिक पत्रिका १५२अङ्क तथा रामप्रसाद पन्तद्वारा लिखित 'उत्कृष्ट सत्ताइस स्रष्टा' नामक कृतिको विमोचन समेत गरिएको थियो । कार्यक्रममा रामप्रसाद पन्तद्वारा लिखित कृतिका बारेमा कृष्ण प्रधानले समीक्षा गरेका थिए । समीक्षाका क्रममा प्रधानले ४७ वटा पुस्तक लेखिसकेका पन्तका २० पुस्तक नियात्रासम्बन्धि रहेको बताउँदै नेपाली साहित्यका क्षेत्रमा यति धेरै नियात्रा लेख्ने रामप्रसाद पन्त मात्र रहेको बताए । यसका बावजुद पनि उनै पन्तद्वारा सम्पादित तथा प्रकाशित नियमित रूपमा प्रकाशित हुँदै आएको दायित्व द्वैमासिक पत्रिका नियमित र निरन्तर प्रकाशित गरिरहनु सामान्य नरहेको बताउँदै उनको बहुमुखी व्यक्तित्वको खुलेर प्रशंसा गरेका थिए । दायित्व पत्रिका प्रकाशन गर्नु चानचुनको विषय नभएको बताउँदै पन्त बहुमुखी प्रतिभाका धनी रहेको सिर्जनशीलताका प्रतिमूर्ति रहेको बताए । यसैगरी सम्मानित व्यक्तित्व जीवनपानीले आफूले सामान्य जीवन भोगाइका कुराहरू लेख्दै जाँदा साहित्य भएको बताउँदै दायित्वले प्रदान गरेको गह्रुङ्गो जिम्मेवारीलाई आफ्ना सिर्जना मार्फत प्रस्तुत गरिरहने बाचा गरे । यसैक्रममा अर्का सम्मानित व्यक्तित्व हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशन बारे प्रकाश पार्दै नेपाली साहित्यको आकाशलाई फराकिलो पार्ने आफ्नो र शब्दयात्रा प्रकाशनको प्रयासमा कुनै पनि सरकारी निकायको सहयोग र संलग्नता बिना पनि समुदायको सहभागितामा बनेपामा ५ रोपनी जग्गामा भवन निर्माण गरी पुस्तकालयको निर्माण गरिएको अभिलेखालयका लागि तैयारी थालिएको र हाताभित्र १०८ शिवलिङ्ग निर्माण गरेको र थुप्रै मूर्ति निर्माण गरेको बताउँदै ३० जना गरीब तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिरहेको बताए । त्यहि योगदानका आधारमा दायित्व वाङ्मयले आफूलाई पुरस्कृत गरेकोमा आभार व्यक्त गर्दै सहयोगी र असल मन भएका दानवीरहरूलाई यस्तै पुनित कार्यमा समाहित हुन आग्रह पनि गरे । सम्मानित व्यक्तित्व मधुसुदनप्रसाद घिमिरेले आफूलाई साहित्यका क्षेत्रमा डोर्याउन भूमिका खेलेका साहित्यकार परशु प्रधान, रोचक घिमिरे, नगेन्द्रराज शर्मा प्रति हार्दिक आभार व्यक्त गर्दै यस क्षेत्रमा समर्पित हुँदै गर्दाा १६ वटा बाल साहित्यका पुस्तक प्रकाशित गरिसकेको र साहित्यका अन्य विधाहरूमा समेत योगदान दिन पाएकोमा खुशी व्यक्त गर्दै प्रतिष्ठानप्रति आभार व्यक्त गरे । दायित्व विशिष्ट सम्मानबाट सम्मानित गार्गी शर्माले समेत आफ्ना थुप्रै रचनाहरूले दायित्व पत्रिकामा स्थान पाएकोमा सन्तोष व्यक्त गरिन् । उनले गद्य साहित्यका क्षेत्रमा मात्र सम्मानित गरिने गरेको आफूले बुझेको बताउँदै दायित्वले माला लगाइदिन दिएको जनाउले जिल्ल परेको समेत बताइन् । आफूले पाएको यो सम्मान नयाँ वर्षको पहिलो सम्मान रहेको बताउँदै यसका लागि योग्य सम्झिएकोमा प्रतिष्ठान प्रति आभार व्यक्त गरिन् । सोही क्रममा मोहन दुवालले दायित्वको कार्यक्रम आफैंले गरेको जस्तो लाग्ने बताए । हरि मन्जुश्रीको योगदानको समेत परिचर्चा गरे । प्रमुख अतिथि कल्याण श्रेष्ठ आफूलाई रामप्रसाद पन्तले तथा दायित्व वाङ्मय प्रतिष्ठानले आफूलाई थुप्रै पटक सम्झिएकोमा आभार व्यक्त गर्दै सम्मानित र पुरस्कृत सवैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे । साहित्यकारहरूले लेखनका माध्यमबाट योगदान दिएकै कारणले उहाँहरू पनि सम्मानित भएको बताए । उनले नेपाल आज जनताले हारेको देशको रुपमा चित्रित रहेको बताँदै हरेक व्यक्ति एउटा प्रेरणा लिने र योगदान दिने भूमिकामा रहेको चर्चा गरे । कुनैबेला आफूले पनि साहित्यको अध्ययन गरेको भएपनि कर्मक्षेत्रको रुपमा फरक क्षेत्रमा क्रियाशील रहनु परेकोले साहित्यिक गतिविधिमा नियमितता दिन नसकेकोमा आत्मश्लाघा रहेको पनि बताए । विभिन्न कालखण्डमा यो देशमा साहित्यकारहरूको योगदान उल्लेखनीय रहेको बताउँदै साहित्यले जीवन, अध्यात्म देश जोगाउने भूमिकाका साथै मानवता सहिष्णुता र प्रेम जगाउनुपर्नेमा समेत जोड दिंदै दायित्व वाङ्मयले लाभांशको नभई केवल त्यागांसको भूमिका निभाइरहेको बताए । कार्यक्रमका सभापतिको भूमिकामा रहेका रामप्रसाद पन्तले दायित्व वाङ्मय प्रतिष्ठानले काममै विश्वास गर्ने गरेको बताउॅदै भाषा कला र साहित्यका माध्यमबाट समाजमा विशिष्ठ योगदान दिने व्यक्तित्वहरूलाई प्रतिष्ठानले समय समयमा योगदानका आधारमा सम्मानित गरिरहेको बताए । पन्तले सो समारोहमा प्रतिकुल स्वास्थ्यका कारण उपस्थित हुन नसकेका रमेश खकुरेललाई उचित समयमा घरमै गएर सम्मान गरिने जानकारी गराउँदै पुरस्कृत ,सम्मानित व्यक्तित्वहरूका साथै प्रमुख अतिथि, समीक्षक लगायत कार्यक्रममा उपस्थित सवै प्रति आभार व्यक्त गरे । प्रतिष्ठानका महासचिव यादव भट्टराईद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य डा. नम्रता पाण्डेद्वारा अभ्यागतहरूलाई धन्यवादज्ञापन गरिएको थियो भने सभापतिद्वारा प्रमुख अतिथि र समीक्षकलाई मायाको चिनो प्रदान गरिएको थियो ।