‘गुरु–चेला गौरवग्रन्थ’मा मेरो विहङ्गम दृष्टि


जेठ ८, २०८२, बिहीबार | विहान ०९:०० बजे | 60


‘गुरु–चेला गौरवग्रन्थ’मा मेरो विहङ्गम दृष्टि

डा. इन्दुल के.सी.
९८४१३३४११३    
१) प्राक्कथनः
साहित्यकार एवम् हजारांै विद्यार्थीका पनि गुरु श्री पदम दाहालज्यूले सम्पादन गर्नु भएको, मादी नगरपालिका, सङ्खुवासभाले प्रकाशन गरेको ३५७ पृष्ठ भएको यो ग्रन्थ एक संस्मरणात्मक सँगालो हो । यो ग्रन्थलाई स्वयम् सम्पादकले मलाई उपहार दिनु भएको थियो । प्राप्त यो ग्रन्थलाई मैले अभिरुचिपूर्वक पढेँ । सर्वप्रथम पुस्तकको शीर्षकबाट नै म आकर्षित भएँ । 
२) मादी नगरपालिकाको भूमिकाः 
मादी नगरपालिकका नगरप्रमुख जीवन लिंथेपजीका शब्दमा ‘नौलो आयामको ग्रन्थलाई सम्पन्न गर्न आफ्नो अमूल्य योगदान पु¥याउनुहुने मेरा आदरणीय गुरु श्री पदमप्रसाद दाहालज्यूको पथ–प्रदर्शनले आज वहाँका विद्यार्थी तथा चेलाहरू समाज र राष्ट्रको सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगेका छन् ।’ यस भनाइबाट उक्त नगरपालिकाद्वारा स्वयम् नगरपालिकाको प्रकाशकत्वमा उक्त ग्रन्थ प्रकाशित हुनु भनेको एउटा उदाहरणीय कार्य हो भन्ने कुरा स्पष्ट हुन्छ ।
३) ग्रन्थ समर्पण सम्बन्धमाः–
अहिले यो धराधामबाट परलोक गमन गरिसक्नुभएका पदम दाहालज्यूका कर्म मातापिता लगायत १५ जना उहाँका गुरुजनहरू जसले उहाँलाई साउँ अक्षरदेखि लिएर विद्यालयीय स्तर सम्मको शिक्षादीक्षा प्रदान गरेका थिए, तिनै विशिष्ट महानुभावहरूका फोटा र नामसहित वहाँहरू प्रति हार्दिक श्रद्धाञ्जलीसहित उक्त कृतिलाई समर्पण गरिएको छ । 
४) आशीर्वाद र शुभकामनाः– 
यस पुस्तकमा पदम दाहालका ७ जना श्रद्धेय गुरु वर्गबाट प्राप्त आशीर्वचन र शुभकामनाहरू रहेका छन् । यसरी नै ६ जना पूर्व जिल्ला शिक्षा अधिकारीज्यूहरूका शुभकामनाहरू समेत रहेका छन् । आफँै कार्यरत रही विगतमा काम गरेका ६ वटा विभिन्न विद्यालय÷शिक्षालयहरूबाट प्राप्त शुभकामना पनि रहेका छन् ।
५) गौरवग्रन्थका प्रसङ्गमाः– 
उच्च स्तरीय मानिएको साहित्यिक कृतिलाई गौरवग्रन्थ मानिन्छ । गौरवग्रन्थ हुनका निम्ति उक्त कृतिमा संरचनात्मक शुद्धता, लेखाइमा सन्तुलन, स्पष्टता, संयम, तार्किकता र सारवस्तुहरू माथि गौरव गर्न लायकको विषय वस्तु हुनुपर्छ भन्ने मान्यता रहिआएको छ । नेपाली भाषामा आदिकवि भानुभक्त आचार्यको ‘रामायण’ महाकाव्य, लेखनाथ पौड्यालको ‘ऋतुविचार’ खण्डकाव्य, लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ खण्डकाव्य र ‘शाकुन्तल’ महाकाव्य, बालकृष्ण समको ‘मुटुको व्यथा’ (नाटक), ‘चिसो चुलो’ महाकाव्य, गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रह, राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘गौरी’ शोककाव्य र ‘राष्ट्र निर्माता’ खण्डकाव्य, पारिजातको ‘शिरीषको फूल’ उपन्यास र मदनमणि दीक्षितको ‘माधवी’ उपन्यास इत्यादि यस्तै ग्रन्थमा पर्ने कृतिहरू हुन् भन्न सकिन्छ । यसै क्रममा यो गुरुचेला गौरवग्रन्थ पनि ग्रन्थका रूपमा प्रकाशित भएको छ ।
६) प्रस्तुत पुस्तककोे विवरणः–
शुरुमा पदम दाहालज्यूको तोटक छन्दमा रचिएको गुरुप्रति भन्ने कविता  रहेको छ । पुस्तकलाई विभिन्न खण्डमा विभक्त गरिएको छ । शुभकामना खण्डमा पूर्व राज्यमन्त्री तथा संविधान सभाका सदस्य श्री दीपक खड्काज्यूले गुरुको बारेमा एउटा प्रचलित निम्नानुसारको श्लोक प्रस्तुत गर्नुभएको छ किनकि ग्रन्थ सम्पादक पदम दाहाल भनेको वहाँको गुरु हुनाले हाम्रा नीति श्लोकमा गुरुलाई कुन रूपमा आदर सम्मान गर्ने हामीमा परम्परा छ भन्ने कुरालाई पुष्टि गर्न खोजिएको छ भन्ने लाग्छ ।
‘गुरुर्ब्रह्मा, गुरुर्विष्णु, गुरुदेवो महेश्वरः ।
गुरु साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः ।’
७) विभिन्न चेलाहरूद्वारा उहाँप्रति उल्लेख गरिएका गुणगान सन्दर्भ ः–
पदम दाहालज्यूले विगतमा अध्यापन गर्दाका ५ वटा शिक्षण संस्थाका १२२ जना विद्यार्थीहरूले उहाँका बारे आ–आफ्ना रचनामा शीर्षकीकरण गर्दा निम्नानुसारका धेरैवटा मध्ये केही गुणगानलाई मात्र यहाँ उल्लेख गरिएको छः
क) मादी बहुमुखी क्याम्पस संङ्खुवासभाका विद्यार्थीहरूले व्यक्त गरेका मध्ये ‘मादीको इतिहासमा राम्रो छाप छोड्न सफल’, ‘एक आदर्श गुरुदेव’, ‘अर्ती उपदेश भुल्न नसकिने’ ।
ख) चुलाचुली मा.वि. ताङखुवा धनकुटाका ५ जना चेलाहरूले छुट्टा छुट्टै शीर्षक दिएका छन् तीमध्ये ‘सबैको आँखामा अटाउने पदम सर’, ‘शिक्षण पेशामा प्रेरणादायी व्यक्ति’ भन्ने दुई शीर्षकलाई मात्र यहाँ उल्लेख गरिएको छ ।
ग) अमरुवा मा.वि. आँखिभुईँ सङखुवासभाका ६ जना विद्यार्थीले लेखका शीर्षकमध्ये यहाँ ४ जनाका भनाइलाई मात्र उल्लेख गरिएको छ । ती हुन्ः
‘मेरा गुरुहरू मध्येकै सर्वश्रेष्ठ गुरु लाग्छ !’, ‘विद्यार्थीहरूका माझ लोकप्रिय सर’, ‘सादा जीवन उच्च विचारका धनी मान्छे’, ‘सदा स्मरणीय हुनुहुन्छ पदम सर’
घ) हिमालय मा.वि. खाँदबारी, सङ्खुवासभाका ५ जनाले लेखेका शीर्षकमध्ये ३ जनाका शीर्षकलाई यहाँ उल्लेख गरिन्छः
‘सम्झनामा आइरहने मेरा गुरु’, ‘हाम्रो जीवनका आदर्श’, ‘आदरणीय पदम गुरु आफैँ एउटा सरल पुस्तक ।’
ङ) मादी मा.वि. मादी, सङ्खुवासभाका ९७ जना विद्यार्थीका लेखका विभिन्न शीर्षकमध्ये यहाँ केहीलाई उल्लेख गर्न उपयुक्त लागेको छः 
‘जीवन रहेसम्म थाक्नु हुन्न’, ‘काम गरेर कहिल्यै नथाक्ने गुरु’, ‘दक्ष, कुशल र क्षमतावान् व्यक्तित्व’, ‘समाजलाई नै परिवर्तन गर्न सक्ने विद्वान’, ‘सहयोगी तथा मार्गदर्शक पदम सर’, ‘स्मृति÷अक्षय कोषको सुरुवात् गुरुकै पहलमा’, ‘अमूल्य सेवाः उत्कृष्टताको नमूना’, ‘त्रिकोणात्मक त्रिमूर्तिका केन्द्रबिन्दु’, ‘विद्यालयको विकासमा अविस्मरणीय योगदान’, ‘मेरा गुरु लेखन, सम्पादन र संस्थापनको अग्रगण्य भूमिकामा’, ‘म जस्ता चेलालाई जीवनज्योति दिने प्रेरणाका स्रोत पदम सर’, ‘सरल र आकर्षक शैलीका धनी’, ‘प्रेरक भै हजारौं चेला कमाउनु भएको छ’, ‘परिवर्तनका संवाहक भनेकै गुरुजन पदम सर’, ‘खाली हात कहिल्यै नबस्ने गुरु पदम सर’, ‘संस्थाको हित विपरीत काम नगर्ने कुशल प्रशासक’, ‘मन, वचन र कर्मका त्रिवेणी श्रद्धेय गुरु पदमप्रसाद’, ‘शिक्षा क्षेत्रका अमूल्य रत्न’, ‘आकर्षक र शालीन व्यक्तित्वका धनीः पदम सर’, ‘पछिपरेको वर्ग र समाजका लागि शैक्षिक प्रेरणाका स्रोत प्र.अ.पदम सर’, ‘विद्यालय संचालनमा यहाँको साहसिक कार्य’, ‘साँच्चिकै प्रेरणादायी व्यक्तित्व पदम सर, ‘सत्मार्गदर्शकका रुपमा–गुरु पदमप्रसाद दाहाल’, ‘विद्यालयको शैक्षिक, ‘प्रशासनिक क्षेत्रमा अब्बल हुनुहुन्थ्यो !’, ‘पदम सरको चेलो हुनु पाउँदा गर्व लाग्छ’, ‘विद्यालयमा अनुशासन कायम गर्न हक्की प्र.अ.।’
च) नारायण मा.वि. मादी, ओखरबोटे, संङ्खुवासभाका ३ जना चेलाले लेखेका ३ शीर्षकमा उनीहरूले वहाँका बारेमा यसो भनेका छन्ः–
‘हजारौँ चेलाका प्रिय पात्र’, ‘पदम सरको पढाउने शैली र भूमिका सर्वोपरि’, ‘यहाँकै प्रेरणाले कलम चलाइरहेछु’ ।
८) परिशिष्ट र तस्बिर खण्ड – 
यस खण्डमा ४ पृष्ठभित्र विभिन्न ३० वटा फोटा संलग्न छन् ।
९) निष्कर्ष – 
केही समय पहिले नेपाल अधिराज्यभरका शिक्षकहरूले आफ्नो हक हित र सुबिधा प्राप्त गर्नकोे लागि काठमाडौंमा जम्मा भै महिनौ दिनसम्म धर्ना, जुलुस प्रदर्शन आदि गरेको कुरा सर्वविदितै छ । आफूले गरेको शिक्षण सेवाको बदलामा प्राप्त गर्ने सुविधाहरूका लागि विभिन्न किसिमका कदम चालेको देखिन्छ । तर शिक्षकले विद्यार्थीको पठनपाठन र तिनको हितका लागि केकस्तो भूमिका खेल्नुपर्छ भन्ने नमूनाको रूपमा पदम दाहालजीले यस पुस्तकको माध्यमबाट नेपालीहरूको माझमा जुन रूपबाट देखा पर्नु भयो त्यसलाई सम्बन्धित पक्षले नमूनाका रूपमा लिन यस ग्रन्थलाई अघि सार्नु भएको छ भन्ने मलाई लाग्दछ । झन्डै नेपालमा कार्यरत ७० हजार शिक्षकहरूले गुरु पदम दाहालको यो कृति पढी वहाँको जीवन र अनुभवबाट धेरै कुरा शिक्षा लिन सकिने छ भन्ने म ठान्दछु । यसरी यो किताब नेपाली साहित्यको क्षेत्रमा एउटा अनुपम पुस्तक हो भन्ने कुरा स्वतः सिद्ध भएको कुरालाई यहाँ बिर्सन मिल्दैन । 
०००
 

Comments