जयस्थिति मल्ल र उनका सुुधारहरु
पानसिंह टोमार
काठमाडौ ंउपत्यका मल्ल राजाहरुले करिब ६ सय वर्षसम्म राज्य गरेका थिए। नेपालको सांस्कृतिक र प्राचीन शिल्पकला, चित्रकला र हस्तकलामा मल्ल राजाहरुको योग्दान अतुलनीय छ, जसरी ६३० बर्षसम्म शासन गरेका लिच्छविहरु भारतको वंशावलीबाट मगधका शासक अजातशत्रुको आक्रमणबाट बाँचेर नेपाल पसेका थिए । त्यसैगरी गुप्त सम्रात चन्द्रगुप्त मौर्यको आक्रमणबाट डराएर कुशिनगरका मल्लहरु नेपाल प्रवेश गरेको भन्ने इतिहास छ ।
मल्लहरुको उत्पति ः
एक वंशावली अनुसार अरिदेवका पिता मित्रदेव पहलमान थिए । त्यसै हुनाले यिनले आफ्ना छोरा अरिदेवलाई ‘मल्ल’ उपाधि दिएका थिए । कसैकसैले मल्ल शब्दलाई उपाधिको रुपमा लिइन्छ । मल्लहरुकै धारण भने फरक रहेको छ । यो कुनै वंशको नाम नभई त्यो ब्यक्तिको क्षमता योग्यता वा कौशल वा सीपलाई संकेट गर्ने उपाधि हो । तर नेपाल र भारतमा प्रशिद्ध महाभारत, मनुस्मृति, पुराण तथा बौद्ध ग्रन्थहरुमा मल्लहरुको उल्लेख छ । प्राचिनकालदेखि नै मल्लहरु शक्तिशाली वंशको रुपमा रहेका थिए । गौतम बुद्धले निर्वाण प्राप्त गरेका ठाँउ पावा कुशीनगरमा मल्लहरुको गणराज्य थियो । नेपालको ऐतिहासिक स्रोतहरुमा पनि प्राचिनकालदेखि नै मल्लवंशको उल्लेख भएको पाइन्छ । विंसं ५२१ को चाँगुनारायण स्तम्भलेखमा लिच्छवि राजा मानदेवले मल्लपुरीमाथि हमला गरेका चर्चा गरिएको छ । अरि मल्लको समयदेखि मल्लहरुले सार्वभौमसत्ता सम्पन्न राजाको रुपमा राज गर्न थाले । यी उदाहरणहरुले ‘मल्ल’ शब्द ब्यक्तिको कुनै योग्यताभन्दा पनि जाति विशेषको वंश भएको प्रमाणित हुन्छ ।
जयस्थिति मल्लको उदयपूर्व नेपालको अवस्था ः
नेपालको इतिहास वि.सं. ९३७ देखि मध्यकालको आरम्भ भएको मानिन्छ । वि.सं ९३७ मा नेपाल सम्बत्को आरम्भ भएदेखि वि.सं. १८२५ मा पृथ्वीनारायण शाहले काठमाण्डौं उपत्यकामा विजय नगरुन्जेलको ८८८ वर्ष नेपालको इतिहासमा मध्यकालको रुपमा चिनिन्छ । यस मध्यकाललाई पनि पूर्व मध्यकाल र उत्तर मध्यकाल भनेर समय विभाजन गरिएको छ । आरम्भदेखि जयस्थिति मल्लको उदेय नहुन्जेल पूर्व मध्यकाल र त्यसपछिको समय उत्तर मध्यकाल मानिन्छ । कतै कतै यक्षमल्लको समयसम्मलाई पनि पूर्व मध्यकाल नै मान्ने गरेको देखिएको छ ।
नेपालको इतिहासमा पूर्व–मध्यकाललाई अझै पनि एक अन्धकारमय युगको रुपमा वर्णन गर्ने गरिन्छ । कारण त्यसबेलाको ऐतिहासिक सामाग्रीहरु उपलब्ध नहुनु । त्यसबेलाका राजा वा शासकहरु कमजोर प्रकृतिका भएको कारण राज्यलाई व्यवस्थितगर्ने, अभिलेख राख्ने, मुद्रा प्रसारण गर्ने जस्ता कार्य गर्ने अवसर पाएनन् वा ध्यान नै गएन ! संयुक्त शासन (बाबुछोरा, दाजुभाई तथा काकाभतिज) प्रणालीले एक आपसमा झै झगडा र प्रतिस्पर्धा स्वरुप त्यो बेलाको शासन एकदम कमजोर रहेको देखिन्छ । त्यही कारण एकारौं शताब्दीको अन्तरसम्ममा नेपाल टुक्रेर तीन राज्यमा विभाजन भएको देखिन्छ । पश्चिम कर्णाली–प्रदेशमा नागराजले स्थापना गरेको खस मल्ल राज्य र तिरहुत राज्य निकै शक्तिशाली हुदै थियो । झगडा र प्रतिस्पर्धाको भावनाले केन्द्रको सरकार भने झन् झन् कमजोर पारेको देखिन्छ । यसरी धेरै समयदेखि नेपालको आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा जयस्थिति मल्लको उदय हुनु अगाडिसम्म अस्थिर रहेको देखिन्छ ।
जयस्थिति मल्ल ः
जयस्थिति मल्ल पूर्वमध्यकालका प्रसिद्ध राजा थिए । नेपालको मध्यकालीन इतिहासमा जयस्थिति मल्ल्को निकै महत्व छ । विद्वानहरुको विचारमा यिनको वास्तविक नाम ‘स्थिति मल्ल’ थियो । पूर्व मध्यकालमा राजाहरुले आफ्नो अगाडि ‘जय’ जोडेको हुनाले यिनको नाम जयस्थिति मल्ल भएको हो भन्ने मानिन्छ । जयस्थिति मल्लको राजकाजको बन्दोबस्त देखेर संसार नै चकित भएको मानिन्छ । यिनीसंग राजामा हुनुपर्ने सबै गुणहरु थिए । यिनी बडा अनुभवी र योग्य राजा थिए । यिनी विद्वान् हुनुको साथै ठूला कवि पनि थिए । यिनी अत्यन्त ठूला राजनितिज्ञ, वीर तथा ठूला समाज सुधारक थिए । यिनको विदेश नीति राम्रो भएको देखेर उसबेला नै चीनले पनि सम्बन्ध राखेका थिए । जयस्थिति मल्ल बाहिरबाट डोला भित्र्याई ज्वाई राजाका नाताले गद्दीका हकदार बनेका थिए ।
वंश परिचय ः
जयस्थिति मल्लको वंशबारे विवाद पाइन्छ । कसैले उनलाई कर्णाटवंशी हरिसिहंदेवको सन्तान मानेका छन् भने कसैले कर्णली प्रदेशका खस मल्लहरुको सन्तान मानेका छन् । नेपालका अधिकांश भाषा वंशावलीहरु तथा स्वयं प्रतापमल्ल, जगज्योति मल्लले आफ्नो वंशजको बारेमा कुनै उल्लेख गरेको भेटिन्दैन । तर गोपाल राजवंशावलीमा ‘तराईतिरबाट जयस्थिति मल्ल ल्याइए’ भनिएको हुनाले अतः स्थिति देव, स्थिति मल्ल, स्थिति मल्लदेव, स्थितिरााज मल्ल, जयस्थिति मल्ल, जयस्थितिराज मल्लदेव, जयस्थितिराज मल्लदेवठाकुर आदि नामहरुबाट सम्बोधित गरिएका उनीलाई कर्णाली प्रदेशका खस मल्ल वा उपत्यकाकै मल्ल राजाका सन्तान मान्न सकिदैन ।
शासनमा उदय ः
शासनमा जयस्थिति मल्लको उदय राजल्लदेवीका पतिको हैसियतले भएको थियो । यी राजल्लदेवी कर्णाटवंशी जगत्सिहंकी छोरी थिइन् । मिथिलाका राजा हरिसिंदेवले आफ्नो राज्यमा मुसलमानहरुको आक्रमणबाट बच्न रानी देवलदेवी र जगत्सिहंको साथमा नेपाल आएर भक्तपुरको युथुनिमम दरबारमा शरणार्थीको रुपमा रहेका थिए । र राज्यमा विस्तारै देवलदेवी(देव लक्ष्मी देवी) को प्रभाव बढेको देखिन्छ । त्यसबेलाका राजा रुद्र मल्लको छोरा नभएकोले छोरी नायकदेवीको हातमा शासन अधिकार आएको देखिन्छ । उक्त नायकदेवीको पहिलो विवाह काशीका हरिशचन्द्र्रसंग भएको तर उनी भारदारी षड्यन्त्रमा बिष सेवनबाट मारिए । नायकदेवीको दोस्रो विवाह कर्णाटवंशी राजकुमार जगत्सिहंसंग भएको मानिन्छ । यी दम्पतीको राजल्लदेवीको जन्म हुन्छ । राजल्लदेवी १० दिनकी हुदाँ नायकदेवीको मृत्यु हुन्छ । राजल्लदेवी ८ वर्षकी भएपछि देवलदेवीले जयस्थिति मल्ललाई तराईबाट वि.सं. १४११मा राजल्लदेवीसंग विवाह गराइन्छ । जयरामदेव र नाग मल्लको मृत्युपछि जयार्जुन (अर्जुन मल्ल) गढीमा बसे, त्यसबेला जयार्जुन मल्ल १४ वर्षका मात्र थिए । जयस्थिति मल्लले राजल्लदेवी पतिको हैसियतले त्यसबेला उपराजाको रुपमा संयुक्त शासन चलाएको देखिन्छ । यो कुरा भारदारहरुलाई मन परेन र पाटनका भारदारहरु तथा प्रजाहरु मिली भक्तपुरमा आक्रमण गर्न ठिमीसम्म पुगे पछि जयस्थिति मल्ल स्वंय ठिमीसम्म आक्रमणकारीहरुलाई लखेती पठाएको मानिन्छ । यसले जयस्थिति मल्ललाई स्थापित गर्न मदत गरेको देखिन्छ ।
आफ्नै राजनीतिक इच्छा पुरा गर्न जयस्थिति मल्लले जयार्जुन मल्ललाई सिन्दुर जात्रा गरी बनेपा पठाइदिए । २२ दिन पछि बनेपाबाट फेरि भक्तपुर र फर्केका जयार्जुन मल्ललाई जयस्थिति मल्लले कैद गर्दछ र कारागारमा मै जयार्जुन मल्लको मृत्यु भएको इतिहासकारहरुले लेखेका छन् ।त्यसपछि नें.सं. ५०० मा जयस्थिति मल्लले आफूलाई राजा घोषित गरे । यिनले नेपाल संम्बत ५०० देखि ने.सं. ५४५ सम्म ४५ वर्ष राज्य गरे।
यिनी हमेशा देश वा र दुनियाँको भलाई गर्न तल्लिन रहन्थे । यिनले गरेका सुघारहरुले गर्दा उसलाई अद्वितीय राजा भनेर सम्बोधन गरिन्थ्यो ।
जयस्थिति मल्लका सुुधारहरु
नेपाली भाषामा लेखिएका विभिन्न वंशावलीहरुमा जयस्थिति मल्लले सामाजिक, आर्थिक, धार्मिक र साहित्यिक रुपमा सुधार गरेर समाजलाई व्यवस्थित बनाएको चर्चा गरिएको छ । जयस्थिति मल्लले राज्य गर्नुभन्दा अघि नेपाल उपत्यकाको समाज व्यवस्थित थिएन । विदेशबाट बसाई सरेर आउनेहरु, यहाँ प्राचीन बासिन्दाहरु तथा वज्रयानको प्रभावले गृहस्थी जीवनमा प्रवेश गरेका भिक्षुु–भिक्षुुणीहरु आदिको अनेकताले गर्दा निश्चित नियम समाजमा बसेको देखिन्दैन । त्यसमा पनि स्वयं शासक जयस्थिति मल्ल र उनका अधिकाशं सहयोगी र तल्लो जातका केही प्रजाहरु समेत बाहिरबाट यहाँ प्रवेश गरेका थिए ।
यिनले गरेका मुल्य सुधारहरु ४ प्रकारका छन् –
क) सामाजिक सुधार
ख) भूमि, नाप, तौल, र आर्थिक सुधार
ग) धार्मिक सुधार
घ) साहित्यिक सुधार ।
क) सामाजिक सुधार
सबभन्दा पहिले राजा जयस्थिति मल्लले जातिको मर्यादा मिलाउन लागे । यिनले धर्मशास्त्र बमोजिक श्री कीर्तिनाथ उपाध्याय, रघुुनाथ आ, मैथली श्रीनाथ भट्ट र रामनाथ झा समेतका मदत लिई जातको ठेगाना गरी स्थिति बाधिँदिए । पहिरनमा पनि जात हेरी धारण गर्नु पर्ने नियम बनाए । ब्राहमण, क्षेत्री वैश्य र शुद्ध गरी चार वर्ण र ३६ जात बनाइ दिए ।
इतिहास अनुसार जाति प्रथा लिच्छविकालदेखि नै काठमाण्डौमा थियो , किनभने उत्तर भारतमा पनि त्यो कालखण्डमा जाति प्रथा थियो र नेपालमा लिच्छविहरु पनि उतैबाट आएका थिए । तर जयस्थिति मल्लले समाजलाई अझै व्यवस्थित गर्न माथिल्लो जातले तल्लो जातसंग पोइल गएमा तल्लो जात हुनुुपर्ने, भोज–भतेर गर्ने नियम, विवाह, जन्म मृत्यु सबैलाई नियम बनाइ खान पिउन, छआछुत सबै किसिमको बन्धेजहरु बन्दोबस्त गरिदिए । जात अनुसार मसान र त्यसको लागि ठाउँठाउँमा जग्गाहरु व्यवस्था गरिदिए । पहिला अपराधीहरुलाई बेसगरी कुटेर सजाय गर्नेमा, अब उपरान्त दण्ड जरीवाना मात्र तिरे पग्ने व्यवस्था गरे । यसरी राजा जयस्थिति मल्लले सामाजिक व्यवस्थामा ठुलो परिवर्तन ल्याएका थिए ।
ख) भूमि, नाप, तौल, र आर्थिक सुधार
जमीनलाई राम्रो सुधार गर्ने हेतुले सबै जमीनलाई औवल, द्वयम, सिम र चहार गरी ४ प्रकारको नाम राखी स्थिति बाँधिदिएका थिए । जमीन नाप्ने जंजीरलाई १० हातबाट घटाएर ७ हातमात्र गराइदिएका थिए । जनतालाई पैसाको खाँचो हुने बेलामा जमीनलाई बेचविखन तथा बन्धक (धितो) राख्न पाउने गरी नियम बनाईदिए । जग्गाको मुल्य तोक्दा औवलको ९५ हात, द्वयमको १०९ हात, सिम जग्गाको ११२ र चहार जग्गाको १२५ हातको जग्गा बराबर गरीदिए । घरको मुल्य निर्धारण गर्दा शहरको घरको ८५ हात, गल्लीको घरको ९५ हात घेरा, गल्ली भित्रको घरलाई १०१ हातको घेराको मोल बराबर लिने दिने निर्णय बनाइदिएका थिए। खेत वा बाली लाग्ने जग्गा नाप्नेलाई ‘क्षेत्रकार’ र घरको जग्गा नाप्नेलाई ‘तक्षकार’ भन्ने चलन बसाले ।
यस बाहेक व्यापारको सुधार होस् भन्नाको लागि नाप गर्ने पाथी, कुरुवा, माना, र चौठी र तौल गर्ने धार्नी, आधा धार्नी, पाउ, छटाक र तोला आदि व्यवस्था गरेर चलनचल्तीको तराजुको पनि राम्रो सुधार गरी व्यापारमा सजिलो र छरितो पारे ।
पेशागत हक दिनको संरक्षण गरी तोकिएको पेशा छोडी अर्को पेशातिर लाग्न नपाउने र आफूले काम लगाई आएको धोबी हजामलाई थाहै नदिई अरुलाई बोलाउन तथा काममा लगाउनु पनि रोक लगाए । काम अनुसारको ज्याला पनि स्पष्ट तोकिदिएको हुँदा कुनै पनि पक्षले यस्ता झगडाको स्थितिको सिर्जना गर्न पाएन ।
ग) धार्मिक सुधार
राजा जयस्थिति मल्ल ज्यादा नै धर्मात्मा थिए। यिनको देवदेवहरू र मन्दिरहरू बनाउनमा ठूलो सोख थियो। यिनमा धार्मिक सहिष्णुता थियो । यिनले धेरै मन्दिरहरू बनाए देवी देवताका मूर्तिहरू स्थापना गरी चाहिने गुठीहरूको बन्दोबस्त गराइदिएका थिए । यिनको राज्यकालमा हिन्दु मन्दिर तथा बौद्ध मठहरूको पुनःनिर्माण तथा जीर्णद्वार भएको थियो ।
यिनले स्वयम्भू स्तुपको जीर्णद्वार गर्न लगाए । देउपाटनको जय बागेश्वरीको मन्दिरको नजिकको तारा जीर्णद्वार गर्न लगाए । समशुद्धिन इलियासको आक्रमणबाट खण्डित पशुपतिको लिङ्ग फेरेर जीर्णेद्वार गरेका थिए। यिनले पशुपतिदेव अगाडि आफ्नो सालिक पनि राख्न लगाए । भादगाउँको टौमढी टोलनीर गहिटीसँगै पनि २ तल्ले मन्दिर बनाई नृसिंहको मूर्ति स्थापना गरी शिलापत्र देवल भित्र राख्न लगाए । पशुपतिको मन्दिरको दक्षिणतिर उन्मत्त भैरव स्थापना गर्न लगाए । देशमा शान्ति सुव्यवस्थाका लागि यिनले बराबर कोटीहोम पनि गरेका थिए। पाटनमा कुम्भेश्वर मन्दिर पनि यिनैले निर्माण गरेका थिए।
घ) साहित्यिक सुधार ः भाषा र साहित्यको विकास
राजा जयस्थिति मल्लले साहित्यमा पनि ठूलो उन्नति गरेका थिए। उनको समयमा संस्कृतमा र नेपाल (नेवारी) भाषामा ठूलो उन्नति भएको थियो। यिनकै समयमा संस्कृत भाषालाई नेपालमा अनुवाद गरियो। त्यसै बेलादेखि नेवारी भाषाको सम्मान बढ्यो। यिनकै समयमा भैरवानान्द र रामायण नाटक लेखी आफैले अभिनय साथ नाटक खेलाई देखाए । गोपाल राजवंशावली जस्ता ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तुहरूको रचना गरेका थिए ।
यसरी जयस्थिति मल्लले मानव उपयोगी अनेक महत्वपूर्ण काम गरेर इतिहासमा आफूलाई समाज सुधारका रूपमा प्रस्तुत गर्न सफलता प्राप्त गरे। तसर्थ उनलाई त्यसबेलाको ‘स्वर्ण भूषक अद्वितीय’ भन्न सकिन्छ । यिनका धर्ममल्ल, ज्योति मल्ल, र कीर्तिमल्ल नामका तीन छोराहरू थिए। जय स्थिति मल्लको ने.सं. ५१५ ¬(वि.सं. १४५२) भाद्र महिनामा मृत्यु भएको थियो।