अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिग्रेकोप्रति चिन्ता
केके मानन्धर
नागरिक अगुवा डा. महेशमान श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । नेवाः मिसा ग्वहालि पुचः र नेवाः ग्वहालि पुचः काठमाडौं महानगर वडा नं २६ ले गरेको क्षमता विकास प्रशिक्षण कार्यक्रममा उहाँले देशप्रतिको चिन्ता व्यक्त गर्नुभएको हो । राजनीतिक दलभित्रका विकृत नेता र सोही आचारण भएका कर्मचारीले भ्रष्टाचारमार्फत कुशासन गरेर देश बिगारेको डा. श्रेष्ठको आरोप छ । कार्यक्रममा उहाँले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगायतका दलले गलत प्रवृत्तिका नेता कार्यकर्तालाई संरक्षण दिएकोप्रति आक्रोस पोख्नुभयो । ‘अब देशलाई माया गर्ने देशभक्तहरुको संयुक्त मोर्चा बनाउनु पर्छ । सो मोर्चालाई भाषण कलासँगै अन्य विविध पक्षको प्रशिक्षण दिएर सहि शासन प्रणाली लागू गराउनेतर्फ अग्रसर बनाउनुपर्छ ।’ डा. श्रेष्ठको भनाइ छ ।
हुन पनि बिबिसी, सीएनएन, अलजजिरा, फोक्स न्यूजहरुमा पछिल्लो समय नेपालमा व्याप्त रहेको भ्रष्टाचार सम्बन्धिको समाचार प्रशारण भएका छन् । यसले गर्दा नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा बिग्रेको छ ।
डा. श्रेष्ठले भ्रष्ट नेताहरुको ठाउँमा इमान्दार, सक्षम र देशलाई सच्चा माया गर्ने नेताहरुको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले पछिल्लो समय नयाँ पुस्ताको मातृभाषाप्रतिको विकर्षणप्रति चिन्ता व्यक्त गर्दै नेपालभाषा क्लब, आदिवासी नेवाः राजनीतिक अभियान, नेवाः ग्वहालि पुचः र नेवाः मिसा ग्वहालि पुचःले भाषा संरक्षणमा दिंदै आएको योगदानको चर्चा गर्नुभयो ।
सामाखुसीस्थित प्रज्ञा स्कूलको हलमा सुरु भएको पाक्षिक प्रशिक्षण कार्यक्रममा उद्घोषण, औपचारिक कार्यक्रममा सिलसिला मिलाएर बोल्ने शैली, संस्था सञ्चालनको तरिका सम्बन्धिको तालिम दिइनेछ । ग्वहालि पुचःले यसअघि कीर्तिपुर, तारकेश्वर नगरपालिकाको मनमैजु, फुटुङ, धर्मस्थली, भक्तपुरको थिमि, टोखा, काठमाडौंका विभिन्न टोलमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महानगरपालिकाभित्रका विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, शिक्षासेवी, गृहिणी लगायत सहभागी थिए ।