धुञ्चोका महिलाहरुलाई एकहप्ते नेतृत्व विकास तालिम
जेठ ६, २०८२, मङ्गलबार | दिउँसो १२:५९ बजे | 40
सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ७ धुञ्चोहाइटका महिलाहरुको लागि एकहप्ते नेतृत्व विकास तालिम आयोजना गरियो । धुञ्चो स्वावलम्बी महिला समूहद्धारा आयोजित कार्यक्रमको लागि मध्यपुर थिमि नपा ७ वडा कार्यलयबाट आर्थिक व्यवस्थापन गरिएको थियो । उक्त तालिमको उद्घाटन मध्यपुर थिमि नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले गर्नुभएको थियो । धुन्चो स्वावलम्बी महिला समूहकी अध्यक्ष कविता शर्मा, सचिव विन्दा पुरी लगायत कार्यसमितिका सदस्य सहित झण्डै दुई दर्जन महिलाहरुले एकहप्ते नेतृत्व विकास तालिम लिएको संस्थाकी अध्यक्ष कविता शर्माले जानकारी दिनुभयो । तालिममा सञ्चारकर्मी सागर गुरागाईं र उत्तरा नेपालले प्रशिक्षण दिनुभएको थियो । नेतृत्व विकास तालिममा परिचय दिने तरीका, वक्ताको पोशाक, शारीरिक भाषा, उद्घोषण एवं वक्ता बन्ने व्यक्तिले ध्यान दिनुपर्ने विषय आदिबारे सैद्धान्तिक र व्यवहारिक प्रयोग मार्फत प्रशिक्षण गरिएको संस्थाकी अध्यक्ष कविता शर्माले जानकारी दिनुभयो । उक्त तालिमको समापन गर्दै मथिनपा ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले तािलमबाट सिकेको सीप र ज्ञान व्यवहारमा लागु गर्न आग्रह गर्दै वडावासीको व्यक्तित्व, नेतृत्वदेखि सिप विकासको कार्यमा वडाले सदैव साथ र सहयोग गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा मथिनपा ७ का नगरसभा सदस्य भक्तराज खत्रीले महिला सशक्तिकरण मार्फत सिप विकास गरेर आत्मनिर्भर र स्वावलम्बी बन्न सबै महिलाहरुसँग आग्रह गर्नुभयो । कार्यक्रममा प्रशिक्षक सागर गुरागाईंले छोटो तालिम अवधिमा पनि महिलाहरुले प्रयोगात्मक तालिम लिएको भन्दै तालिममा सिकेको सिप र ज्ञान दैनिक व्यवहारमा प्रयोग नगरे ९ दिनमा नौलो हुने र २० दिनमा बिर्सन सक्ने सम्भावना रहेको बताउनु भयो । कार्यक्रममा प्रशिक्षार्थी सावित्री थापा राउतले तालिमबाट आफूहरुमा भय कम भई समूहमा आफ्ना कुरा प्रष्ट राख्न सक्ने आधार तयार भएको अनुभव सुनाउनु भयो । नगदेशको बुद्ध विहारमा भएको समापन कार्यक्रममा संस्थाकी सचिव विन्दा पुरीले उक्त तालिमका लागि धुन्चो स्वावलम्बी महिला समूहकी अध्यक्ष कविता शर्माले आफ्नो निजि घरको कोठा उपलब्ध गराउनु भएको जानकारी दिनुभयो । कार्यक्रममा आयोजक संस्थाकी सचिव विन्दा पुरी नेपाल खेलकुद महासंघ भक्तपुर जिल्ला सदस्यमा नियुक्त हुनुभएकोले आयोजकले प्रमाणपत्र सहित विशेष सम्मान गरेको छ । कार्यक्रमकी सभापति कविता शर्माले महिलाहरुलाई उद्यमशील, आत्मनिर्भर एवं स्वावलम्बी बनाउनका लागि नेतृत्व विकास तालिम फलदायी भएको बताउनु भयो ।