काक्राबारी घटनाबारे यसो भन्यो आयोजना कम्पनीले (विज्ञप्ति)


बैशाख २३, २०८२, मङ्गलबार | दिउँसो १२:५० बजे | 280


काक्राबारी घटनाबारे यसो भन्यो आयोजना कम्पनीले (विज्ञप्ति)

भक्तपुर । भक्तपुरको काक्राबारीमा जग्गा प्लटिंग गर्दै आएको निक भुजीकिक हाउजिङ प्रा.लि.ले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । विज्ञप्तिमार्फत् उसले यसअघि प्रकाशित समाचारहरु सत्यतामा आधारित नभएको दावी गरेको छ । साथै समाचार एकपक्षीय भएको आरोप पनि लगाएको छ । यसबारे आफूहरुले पत्रकार सम्मेलन नै गरी जानकारी गराउने पनि जनाएको छ । 
प्रेस विज्ञप्ति
भक्तपुर–जिल्लास्थित भू–विकास आयोजनाबारे सार्वजनिक भ्रम र अफवाहप्रति स्पष्टिकरण विगत केही दिनदेखि सामाजिक सञ्जाल, युट्युब, अनलाइन मिडिया तथा केही प्रमुख सञ्चारमाध्यमहरूमा साविक नंखेल गाविस वडा नं. ४ (हाल सूर्यविनायक नगरपालिका वडा नं.९) घिसिङडाँडा क्राँक्राबारीस्थित भू–विकास आयोजनासम्बन्धी आधारहीन समाचारहरू प्रकाशन तथा प्रसारण भइरहेकोप्रति आयोजना सञ्चालक कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचार तथा सामग्रीहरूमा हाम्रो कम्पनीद्वारा सञ्चालित भू–विकास आयोजनाले सरकारी जग्गा, खोला, खोल्सी र सार्वजनिक संरचनाहरू अतिक्रमण गरेको जस्ता आरोपहरू लगाइएको पाइन्छ । साथै, आयोजना स्थानीय जनताको हितविपरीत सञ्चालन गरिएको भनी प्रचार गरिएको छ । यस्ता सामग्रीहरूले परियोजनाको प्रतिष्ठा, कानुनी हैसियत र दीर्घकालीन विकास योजनामाथि भ्रम सिर्जना गर्ने, गलत सन्देश प्रवाह गर्ने तथा अनावश्यक आशंका जन्माउने काम गरेको छ ।
यथार्थ विवरण
१. वडा कार्यालयबाट सिफारिस प्राप्त भै नगरपालिकामा फाइल पेश गरी निर्णयको अन्तिम चरणमा रहेको
२ आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया पूरा गरी सम्बन्धित सरकारी निकायबाट स्वीकृति प्राप्त गरिसकिएको छ ।
३ आयोजना संचालनको लागि सो क्षेत्रको माटोको गुणस्तर गरिएको छ ।
४ त्यस क्षेत्रमा रहेको खहरे खोल्सीहरुको हकमा पानीको बहाव मापन तयार गरिएको छ ।
५ आयोजना क्षेत्रभित्र पर्ने सरकारी पर्ति गोरेटो कुलो खोल्सीको हकमा शहरी विकास मन्त्रालय अन्तर्गत उपत्यका विकास प्राधिकरणको नियमअनुसार नै उक्त प्राधिकरणले निर्माण गर्ने प्रस्तावित नक्सा अनुसार नै सार्वजनिक सम्पत्तिको संरक्षण गरिने छ
६ शहरी विकास मन्त्रालय अन्तर्गत उपत्यका विकास प्राधिकरण केन्द्रिय कार्यालयमा निवेदन पेश गरी प्राधिकरणले गर्नुपर्ने आवश्यक निर्णय प्रक्रियाको चरणमा रहेको छ ।
यस कम्पनीले विगत लामो समयदेखि जग्गा विकास आयोजना संचालन गर्ने कममा सदैव उपत्यका विकास प्राधिकरणको नियमको पालना गर्दै स्वीकृती लिएर मात्रै आयोजना सम्पन्न गर्दै आएको छ ।
भ्रामक प्रचारप्रति हाम्रो धारणा
उक्त समाचार तथा सामाजिक सञ्जालका सामग्रीहरू सत्य तथ्य अनुसार तयार नगरी, एकपक्षीय, अपुष्ट स्रोत र नियोजित उद्देश्यका साथ सम्प्रेषण गरिएको देखिन्छ । यस्ता भ्रामक प्रचारले मात्र कम्पनीको गरिमा होइन, स्थानीय विकासमा योगदान पुरÞ्याउने योजनालाई अवरोध गर्न सक्ने सम्भावना देखिन्छ ।
आगामी कदमहरू
कम्पनीले छिट्टै पत्रकार सम्मेलन आयोजना गरी सञ्चारकर्मीहरूलाई आयोजनाको प्रामाणिक विवरण, नक्सा, स्वीक्ति कागजात तथा प्रगतिको अवस्थाबारे विस्तृत जानकारी गराउनेछ । यस्ता असत्य र गलत सूचनाको खण्डन गर्न आवश्यक भएमा कम्पनी कानुनी प्रक्रिया पनि अगाडि बढाउने छ ।
हाम्रो उद्देश्य केवल व्यवस्थित, कानुनी र दिगो शहरी पूर्वाधार विकास गर्नु हो । कम्पनीले प्रारम्भदेखि नै पारदर्शिता, जवाफदेहिता र स्थानीय सहभागितामार्फत कार्य अघि बढाएको छ । हामी सञ्चारमाध्यमहरू, सरोकारवाला निकायहरू र स्थानीय समुदायलाई पुनः हार्दिक अनुरोध गर्दछौं कि कुनै पनि सूचना सार्वजनिक गर्नु अघि प्रामाणिकता जाँच गरी मात्र प्रकाशन–प्रसारण गरियोस् ।
सहयोग, समन्वय र संवादमै समृद्ध र सहमतिको विकास सम्भव छ भन्ने हाम्रो दृढ विश्वास छ । धन्यवाद ।
पुर्ण बहादुर लिम्बु
सञ्चालक अध्यक्ष
निक भुजीकिक हाउजिङ प्रा.लि. 

Comments