दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने
काठमाडौँ, चैत २९ गते । स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धि शीर्षकमा चैत ३० गतेदेखि दुई दिने अन्तराष्र्टिय सम्मेलन हुने भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको अनुदानमा त्रिभुवन विश्व विद्यालयको शिक्षा शास्त्र केन्द्रीय विभाग, नेपाल स्वास्थ्य शिक्षा संघ (हिन)को संयुक्त आयोजनामा सम्मेलन हुने पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको हो ।
आयोजक हिनका अध्यक्ष प्राडा भीमसेन देवकाटोले नेपाल, अमेरिका, बेलायत, भारतलगायत देशका स्वास्थ्य क्षेत्रमा क्रियाशिल विज्ञहरुका २६ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुने जानकारी दिनुभयो ।
यस्तै, उहाँले सम्मेलनसँग हिनको १७ औं साधारण सभा र केन्द्रीय समितिको नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न हुने बताउनुभयो ।
सम्मेलनमा भारतको जिन्डाल विश्वविद्यालयका प्राध्यापक सम्राट सिन्हा, अमेरिकाको पित्सवर्ग विश्वविद्यालयका उपप्राध्याक डा.सारा बाउमेन र बेलायतका स्वास्थ्य विज्ञ डा. पुष्पराज पन्तले मन्तब्य दिनुहुनेछ ।
पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष डा. कल्पना ज्ञवालीले अन्य शिक्षा भन्दा पनि स्वास्थ्य शिक्षा अत्यन्त आवश्यक हुने भएकाले सरोकार पक्षले नीति निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार विश्वमा यस क्षेत्रमा विभिन्न खोज अनुसन्धान भइरहेकाले दुई दिने सम्मेलनले विभिन्न देशका विज्ञहरुको अनुभव आदानप्रदान हुने बताउनुभयो ।
हिनका महासचिव डा. भगवान अर्यालले देश र विदेशबाट तीन सयजनाले भाग लिने बताउनुभयो ।