संक्षिप्त टिप्पणीः ‘पद्म केशर’ भित्रको ‘केशर’ र त्यसभित्रको अवलोकन


2025-05-19 10:31:40

News Image

                      
टिप्पणीकारः
डा. इन्दुल के.सी.
९८४१३३४११३

१) प्राक्कथन ः–
पदम दाहालको ‘पद्म केशर’ नामक गीतसंग्रह नामक पुस्तक २०८१ चैत्रमा प्रकाशित भएको हो । आफ्ना स्वर्गीय कर्म मातापिता एवम् साहित्य र गीत सङ्गीतका समस्त अनुरागी मन मुटुहरूलाई समर्पण भनी प्रस्तुत गरिएको यस पुस्तकमा ६३ वटा नेपाली भाषामा लेखिएका झ्याउरे लयका गीतहरू छन् ।
यो पुस्तक दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानबाट प्रकाशित भएको छ । यसका अध्यक्ष श्री मुकुन्दप्रसाद दाहालज्यूले आफ्नो प्रकाशकीय लेखमा भन्नुहुन्छ, ‘पदम दाहाल एक कविता उपविधाको अर्को एक खुड्किलोमा फड्को मार्न पनि सफल हुनुभएको छ ।’
२) कृतिकारको सङ्क्षिप्त परिचय ः–
वि.सं. २०११ कार्तिकमा सङ्खुवासभा कोशी प्रदेशमा जन्मनुभएका दाहालले राजनीतिशास्त्रमा एम. ए. र नेपालीमा एम. एड. गर्नुभएको छ । उहाँले माध्यमिक विद्यालय शिक्षा क्षेत्रमा शिक्षक र क्याम्पसमा प्राध्यापकको रूपमा रही चार दशक भन्दा बढी समय सेवा गर्नुभएको छ । उहाँले साहित्यका विविध विधाहरूमा हात हाली हाल यहाँनेर चर्चा गरिन लागेको यो ‘पद्म केशर’ पुस्तक र अन्य सम्पादनात्मक कृतिहरू सहित जम्मा १६ वटा पुस्तकहरू सृष्टि गरिसक्नुभएको छ । यस कुरालाई उल्लेख गर्न पाउँदा म खुसीले गद्गद् भएको छु । यस्ता व्यक्तित्वसँग मैले सहकार्य गरेर ‘एक अर्काका दृष्टिमाथि समीक्षकका पुनर्दृष्टि’ नामक पुस्तक पनि यस अघि लेखन गर्न पाएको कुरा सम्झिरहेको छु । उहाँ विभिन्न पुरस्कार, सम्मान र अभिनन्दन आदिबाट विभूषित भैसक्नुभएको छ ।
३) गीतप्रति गीतकारको आफ्नो भनाइः– 
गीतकार पदम दाहालले आफ्नो लेखकीयमा गीतप्रति आफ्नो अभिव्यक्त यसरी दिनुभएको छ, ‘गीत कहलिन चाहिने कुराकानी, फाँको र भाका के के हुन्छन् र हुनुपर्छ त्यो पनि थाहा छैन मलाई..... यदि केही गायक÷गायिका निस्किएर मेरा यसभित्रका कतिपय सृजनालाई आफ्नो कला र गलामा उनेर गाउने गर्नुभए त्यसको स्थायी अन्तरा कुन रूपमा कसरी मिलाउनुपर्ला वा नपर्ला त्यो उहाँकै छनौटको विषय हुन जानेछ भन्ने ठान्दै स्वयम् गायककारलाई नै जिम्मा दिएको छु ।’
४) समालोचकीय भूमिका ः–
यस पुस्तकको बारेमा डा. सीता सुवेदी पन्थीज्यूले समालोचकीय भूमिका बाँध्दै ‘पद्म केशर’ गीतसङ्ग्रहको नाम दिएर पुस्तकका बारेमा अत्यन्त उच्चकोटिको साहित्यिक समीक्षामा हुनुपर्ने सम्पूर्ण विषयहरूलाई समेटेर नौ पृष्ठ लामो आफ्नो विचार प्रस्तुत गरेर कृतिको जुन प्रकारले समीक्षा गर्नुभएको छ त्यसले पाठक वर्गलाई समेत थप बौद्धिक ज्ञान प्रवाह गरेको छ ।’
५) गीत÷सङ्गीतका बारेमा लेखकका केही भनाइः–
यो पुस्तक गीतसङ्ग्रह भएकाले गीतबारे केही कुरा चर्चा गर्नु सन्दर्भिक होला भन्ने लागेको छ । हाम्रो धर्म परम्पराको बारेमा सामवेदमा गीत र सङ्गीतबारे व्यापक चर्चा परिचर्चा गरेको पाइन्छ । पूर्वीय र पश्चिमी दर्शनहरूमा मात्र नभएर समसामयिक कतिपय विचारक र चिन्तकहरूले समेत यस विषयमा आ–आफ्ना विचारहरू दिएको पाइन्छः
खलिल जिब्रानले भनेका छन् – ‘यो साँचो हो कि स्वरले गीत मिठो हुन्छ र हृदयको गीत नै ईश्वरको सच्चा आवाज हो ।’
प्रेमचन्दले भनेका छन्–‘आकर्षक गीतमा कल्पनालाई जगाउने ठूलो शक्ति हुन्छ ।’ यसै विषयलाई अझ उत्कर्षमा पुरÞ्याएर ‘शेली’ भन्छन्, ‘मीठा गीत ती हुन् जसले करुणाको भावलाई व्यक्त गर्दछन् ।’
६) गीतप्रतिको मेरो मन्तव्य ः–
प्रस्तुत् गीत सङ्ग्रहमा जम्मा ६३ वटा गीतहरू सङ्ग्रहित छन् । मानव जातिको आफ्नो विकासको क्रममा भाषाको विकास सँगसँगै जसै साहित्यिक अभिव्यक्तिको पनि विकास हुन थाल्यो, देश, काल र परिस्थिति अनुसार भाषा र लिपिको विकास पनि हुन गयो । भाषा र साहित्यलाई प्रभावकारी बनाउन दुःख र सुखका बेलामा मनमा उब्जिएका भित्री भावहरूलाई लय हालेर, भाका मिलाएर गाउदा गायक र श्रोता दुबैको चित्तमा एक किसिमको रस प्रभाव हुनजान्छ । यस्ता अभिव्यक्तिहरू समाजमा सम्पत्तिका रूपमा व्यक्त हुन थाले । यसै क्रममा अनेक जातजाति र भाषाभाषीहरूका साहित्यमा पनि यस्ता गीतहरूको सङ्ग्रह हुन थाल्यो । नेपालमा पनि छरिएर रहेका विभिन्न भाषा–भाषीहरूले आफ्नो चित्तको आवेगलाई गाउँदै, गुनगुनाउँदै, जीवनलाई सरस बनाउने परम्पराको विकास हुनगयो । त्यही परम्पराभित्र समेटिन गएको ‘रस प्रवाह’ लाई शाब्दिक रूपमा व्यक्त गरिएको नेपाली भाषाको लोक गायनलाई झ्याउरे वा सवाइ छन्द भन्न थालियो । प्रस्तुत गीतसङ्ग्रह पनि नेपाली लोकलयबाट टपक्क टिपिएको भाका हो भन्ने मलाई लाग्छ । नेपाली साहित्य जगत्मा विभिन्न व्यक्तिहरूले यस क्षेत्रमा आआफ्नो ढङ्गले योगदान गरेका छन् । जनकवि केशरी धर्मराज थापा, म.वी.वि. शाह, नीरविक्रम प्यासी, कुमार बस्नेत, मीरा राणा समेतको यस क्षेत्रमा विशिष्ट योगदान रहेको छ । पुरानो पुस्ताको योगदानलाई उत्कर्षमा पु¥याउने काममा यस पुस्तकका लेखक पदम दाहालजीको योगदान पनि अझ बढी टड्कारो रूपमा देखापरेको छ भन्ने म ठान्दछु । यस पुस्तकमा रहेका गीतहरूलाई विभिन्न रूपमा वर्गीकरण गर्न सकिन्छ । जसमा राष्ट्र, राष्ट्रियता, राष्ट्रभाषा, स्वदेश प्रेम, प्रकृति, मानवीय स्वभाव, आध्यात्मिकता, माया, प्रेम, सम्झना, वियोग, आशा–निराशा, विश्वशान्तिको कामना, समसामयिक समाजको चित्रण, विकृति र विसङ्गतिको उजागर यी गीतहरूबाट हुनगएको पाइन्छ । 


७) निष्कर्ष
हिजोआज पठनसाहित्य संस्कृति क्रमशः घट्दै गैरहेको छ भन्ने सुनिन्छ तर दिनानुदिन साहित्य लेखनमा लागेका लेखकहरूले लेखेका सिर्जनात्मक कृतिहरू भने लोकार्पण र सार्वजनिकीकरण निरन्तर रूपमा भैरहेकै छन् । गीतकार पदम दाहालजी भने निरन्तर रूपमा आफ्नो मिहिनेत, पसिना, आर्थिक व्ययभार गर्नमा लागिरहनु भएको छ भन्ने मैले ठहराएको छु । वहाँको यो स्तुत्य कार्यले नेपाली भाषा, साहित्य, गीत, सङ्गीत, कला आदिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगिरहेको छ भन्ने मैले पाएको छु । यद्यपि वहाँका कृतिमा क्रय मूल्य निर्धारण गरिएको भए तापनि वहाँले समकालीन साहित्यिक व्यक्तित्वहरूलाई भने निःशुल्क रूपमा उपहार स्वरूप आफ्ना कृति प्रदान गर्ने गरेको मैले पाएको छु । यस किसिमको सराहनीय कार्य वहाँबाट निरन्तर रूपमा यसरी नै कायम रहिरहोस् भन्ने शुभेच्छा पनि प्रकट गर्दछु साथै यो पुस्तक नेपाली भाषा र साहित्यको गीति क्षेत्रका लागि पनि एउटा उदाहरणीय कार्य हो भन्ने ठहराई उहाँमा हार्दिक साधुवाद व्यक्त गर्न चाहन्छु । 
०००

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *