आव २०८०।८१ मा मात्रै निलबाराही पहिरो रोकथामको लागि १७ करोड बजेट ः जति आए पनि वालुवामा पानी ः स्थानीय आन्दोलित
बैशाख २२, २०८२, सोमबार | विहान ०२:३८ बजे | 135
मध्यपुर थिमि । काठमाडौं उपत्यकाबासीका लागि विशेष धार्मिकस्थल हो, भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ निलबाराहीस्थित ऐतिहासिक निलबाराही मन्दिर क्षेत्र । यहाँं विशेष गरेर काठमाडौं उपत्यकाका नेवार समुदायहरु कम्तीमा वर्षमा एक पटक सपरिवार दर्शन गर्न आउनुपर्ने परम्परा छ ।
यही ऐतिहासिक मन्दिर क्षेत्र पहिरोको खतरामा पर्दै आएको छ । जवजव वर्षायाम सुरु हुन्छ, यस क्षेत्रलाई पहिरो जानबाट जोगाउन प्लाष्टिकले छोपिन्छ । तर पनि वार्षिक निरन्तर पहिरो जाने क्रम रोकिएको छैन । मन्दिरको दक्षिण पश्चिमको मन्दिर जाने बाटोमा पहिरो जाने क्रम निरन्तर प्रत्येक वर्ष वढ्दो छ । पहिरोकै कारण सवारीसाधनसमेत लान नमिल्ने गरी बाटो साँंघुरिएको छ । यही कारण सवारीसाधन मन्दिरको झण्डै तीन चार सय मिटर वारिबाट नै रोकेर पैदल हिडनुपर्ने बाध्यता छ ।
ऐतिहासिक मन्दिर क्षेत्र नै पहिरोको उच्च जोखिममा परे पनि अहिलेसम्मका तीन जना मेयरहरुले केही पनि गर्न सकेनन्, स्थानीय साँंस्कृतिक अभियन्ता अनिश वैद्यले भने, यही कारण हामी आफैं केही गर्न खोजिरहेका छौं ।
मन्दिर वचाउनकै लागि स्थानीयले भेला समेत आयोजना गरेका छन् । भेलाबाट उनीहरुले स्थानीय दिलकृष्ण राजबहाकको संयोजकत्वमा १३ सदस्यीय मन्दिर परिसर सरोकार समिति गठन गरेका छन् । सरोकार समितिले मन्दिर वचाउनका लागि सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउने योजना राखिएको छ ।
मन्दिर जोगाऔ अभियानमा जुटेका एकजना अभियन्ता सूर्य श्रेष्ठले आफू स्थानीयबासी नभए पनि मन्दिर जोगाउने अभियानमा जुटेको बताउँंछन् । अहिलेसम्म मध्यपुर थिमिमा मदनकृष्ण श्रेष्ठ, मदनसुन्दर श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ मेयर भए, उनले भने, यी तीन नै जना मेयरले यो मन्दिरलाई जोगाउन खासै पहल गरेको देखिएनन् ।
मन्दिर बचाउन स्थानीय स्वयमले पहलकदमी थालेपछि निलवाराही मन्दिरको संरक्षण र पहिरो नियन्त्रणका लागि हामीले गरेका ठोस प्रयासहरू भन्दै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले लामो फेहरिस्त सार्वजनिक गरेका छन् । के साँच्चै निलवाराही मन्दिरको हेरचाह नगरिएको हो ? भन्दै उनले यसरी प्रश्न उठिरहँदा, हामीले २०७९ सालमा निर्वाचित भएदेखि निलवाराही क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर संरक्षणका कामहरू गरिरहेको दावी गरे । ‘२०७२ सालदेखि गम्भीर पहिरो शुरु भएपछि यसलाई नियन्त्रण गर्न दीर्घकालीन दृष्टिकोण आवश्यक थियो । त्यस अनुसार गरिएको कार्यहरू निम्न छन्, उनले लेखेका छन् ।
निलवाराही पश्चिमतर्फको संरक्षणका लागि वर्षातमा सयौं टिपर वालुवा, माटो बग्ने ठाउँंको सानु वनदेखि दुवाकोट मोडसम्म ढुङ्गाको बाल लगाई माटो बग्नबाट रोकिएको उनले बताए । निलवाराही जङ्गलको पश्चिम भागमा झण्डै ४ रोपनी सार्वजनिक जग्गा अवैध रूपमा भाडामा लगाइएकोमा पहिरो निरीक्षणको क्रममा पत्ता लागेपछि नगरपालिकाले त्यसलाई फिर्ता लिई संरक्षण गरिसकेको, उत्तर पश्चिम क्षेत्रमा करिब २ रोपनी १४ आना सार्वजनिक जमिनमा वाल लगाई संरक्षण गरिएको, बजेट सुनिश्चितता गरेको दावी उनले गरे । प्रधानमन्त्री, मन्त्रीहरू, योजना आयोगसम्म निरन्तर पहलपछि आर्थिक वर्ष २०८०÷८१ म १० करोड (चक्रपथसहितको पहिरो नियन्त्रणका लागि), ७ करोड (विशेष पहिरो नियन्त्रणका लागि) बिनियोजन भई ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जनाए । तर पनि पश्चिम पाखामा प्लास्टिक ओढाउनुबाहेक केही भएको छैन ।
श्री निलबाराही माँजु मध्यपुर थिमि नगरपालिकाको पुरानो र ऐतिहासिक मन्दिर हो । करिब ४०० रोपनी जंगल क्षेत्र समेटिएको यो मन्दिर क्षेत्रको ठाउँठाउँमा भूक्षय भई मन्दिर नै जोखिममा परेको वर्षौं भएको छ । मध्यपुर थिमि नगरपालिकाका तत्कालिन मेयर मदनसुन्दर श्रेष्ठले सात वर्ष अगाडि नगरपालिकाको फोहोर उक्त जंगलमा पुरेर पहिरो नियन्त्रण गर्ने योजना ल्याएको थियो । तर निलबाराहीको जंगल साँस्कृतिक, धार्मिक र तान्त्रीक आस्थासंग बाँधिएको हुँदा जंगलमा फोहोर डम्प गर्ने कुरामा स्थानीय जनता असहमत भए । र निलबाराही इको पार्क नामाकरण गरिएको विदेशी सहयोग परियोजना रोकियो ।
परियोजना रोकिए पनि पहिरो नियन्त्रणका लागि हरेक वर्ष बजेट राखेको छ भन्ने, सर्भे गर्ने तर फिल्डमा काम नहुने क्रम चलिरहेकोले निलवाराही मन्दिर प्राङ्गणमा स्थानीय÷ भक्त भेला गरी सरोकार समित बनाइएको स्थानीले बताए । भेलामा स्थानीय टिगनी, बोदे, नगदेश, चपाचो, बालकुमारी, भक्तपुर, ललितपुर लगायतका ठाउँहरुबाट भक्तहरु मन्दिर प्राङ्गणमा छलफलमा सहभागी रहेका थिए ।