अन्तर वडा फुटसल प्रतियोगिता २०८३ को उद्घाटन कार्यक्रम सम्पन्न
जेठ ६, २०८३, बुधबार | राति ०८:४२ बजे | 100
७ जेठ भक्तपुर । भक्तपुर युवा टीमको आयोजनामा हुने भक्तपुर नगरपालिका अन्तर वडा फुट्सल प्रतियोगिता २०८३ को उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभासदस्य सुरेन्द्रराज गोसाईंले एक समारोहबीच बुधबार गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि गोसाईंले भक्तपुर युवा टीमको आयोजनामा हुने फुटसल प्रतियोगिताको सफलताको कामना गर्नुहुँदै प्रतियोगिताले देशको लागि असल र सक्षम नागरिक तयार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विभिन्न साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू मार्फत देशको लागि योग्य र सक्षम नागरिक तयार गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका अतिथि भक्तपुर नगरपालिका ७ नम्बर वडाका वडा अध्यक्ष एवं टीमका सल्लाहकार उकेश कवांले भक्तपुर युवा टीमले विगतमा फुटबल प्रतियोगिता गरेजस्तै यसपटक फुट्सल प्रतियोगिता गरेर नयाँ खेलाडीहरू तयार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले धेरै युवाहरू डिजिटल प्रणालीमा फसिरहेको समयमा फुट्सल प्रतियोगिता गरेर नयाँ खेलाडीहरू तयार हुने बताउनुभयो । टीमका अर्का सल्लाहकार एवं संस्थापक अध्यक्ष विश्वराम कवांले टीमको इतिहास लामो भएको विचार व्यक्त गर्नुहुँदै टीमले विगतमा धेरै प्रतियोगिताहरू आयोजना गरी टीमको लागि विभिन्न खेलका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी तथा निर्णयकहरू तयार पारेको बताउनुभयो । टीमका अध्यक्ष केशव त्वानाबासुको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा टीमका सचिव रामेश्वर मचामासी र सदस्य सुरेश कवांले पनि बोल्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
