प्रश्नपत्र बाहिरिएपछि सिडिओको टोली चाणक्य कलेजमा
बैशाख २१, २०८२, आइतबार | विहान ०६:३१ बजे | 195
भक्तपुर । कक्षा १२ को वोर्ड परीक्षाको प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक भएको हल्लापछि आइतबार जिल्ला प्रशाशन कार्यालय भक्तपुरले यसबारेमा अनुसन्धान थालेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालप्रसाद अर्याल, जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित बुढाथोकीलगायतको टोली खवर थाहा पाउने वितिकै चाणक्य कलेज शंखधर चोक मध्यपुर थिमि पुगेर बुझन पुगेको थियो । यसअघि एवीसीडी अनलाइनले यसबारे समाचार पोष्ट गरेको थियो ।
सिसिटिभी फुटेज हेर्दा पनि हल्ला भए जस्तै प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक गरेको देखियो, सिडिओ अर्यालले भने, यसबारे अनुसन्धान अगाडि वढाउन मैले निर्देशन दिइसकेको छु ।
घटनाको तथ्य भने अनुसन्धानपछि मात्रै थाहा हुने उनले बताए । सिडिओ अर्यालले घटनाबारे राष्टिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरका प्रमुख महाश्रम शर्मालाई पनि जानकारी दिइसकेको जनाए ।
जिल्लाकै मध्यपुर थिमि चाणक्य कलेजको सेन्टरमा जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित काठमाडौं वल्र्ड स्कुलका परीक्षार्थीको परीक्षा केन्द्र थियो । आइतबार विहानदेखि देशैभर कक्षा १२ को वोर्ड परीक्षा सुरु भएको हो ।