अनाैपचारिक श्रमिक तथा मजदुरको पारिवारिक सुरक्षा राज्यको दायित्व
बैशाख १८, २०८२, बिहीबार | विहान ०६:४२ बजे | 270
सत्य राम कासिछ्वा
सूर्यमढी-९, भक्तपुर 9841132643
नेपालबाट अहिले दैनिक २ हजार भन्दा बढी श्रम गर्ने जनशक्ति शिक्षा तथा रोजगारीको नाउँमा विदेश पलायन भइरहेका छन् । देशभित्रको खनिज, वनस्पति, जडिबुटी लगायत अन्य प्राकृतिक स्रोत साधनको उचित प्रयोग गर्ने र गराउने वातावरण सिर्जना नहुँदा वर्षको कानुनी र गैरकानुनी रूपमा झण्डै १० लाख युवा विदेशिन बाध्य भएका छन् । साथै आर्थिक तथा सामाजिक क्षेत्रको विभिन्न तहमा रोजगारी पाएकाहरू समेत नेपालको श्रम तथा सेवा क्षेत्रको सही व्यवस्थापन र मर्यादित हुन नसक्दा देश छाड्ने प्रवृत्ति बढेको छ । यसमा डाक्टर, ईन्जिनियर, पाइलट, नर्सिङ, वकिल, शिक्षक जस्ता दक्ष तथा योग्य एवं सक्षम जनशक्ति लगायत अन्य श्रमिक तथा मजदुरी गर्ने अर्धदक्ष जनशक्ति रहेका छन् । सरकारी सेवा सुविधा र आैपचारिक क्षेत्रमा रहेका सेना, प्रहरी, निजामती, शिक्षक जस्ता श्रमिकले समेत आफ्नो भविष्य सुनिश्चित नदेखेर विदेश पलायन हुँदा अन्य क्षेत्रका श्रमिक र नयाँ पुस्ताको हालत कस्तो होला भनेर सजिलै अनुमान लगाउन सकिन्छ । नेपालमा ६० % भन्दा बढी अनाैपचारिक अर्थतन्त्रमा रहेका व्यवसायले विशेष गरेर दैनिक ज्यालादारीमा काम गर्ने रोजगारीको सिर्जना गरेको पाइन्छ । जहाँ सरकारी योजनाको पहुँच नहुँदा ज्यालादारी मजदुरको लामो समयसम्म रोजगार हुने अवसर नै हुँदैन । नेपालको सन्दर्भमा परम्परा देखि अर्थतन्त्रमा ८०% भन्दा बढी योगदान दिई खेती किसानी गर्दै आएका कृषकलाई अनाैपचारिक अर्थतन्त्रको रूप दिई सरकारले कृषकहरू माथि अन्यायपूर्ण विभेद गरेको छ । साथै जीवनको ९०% खेती किसानीमा लागेको ती कृषकहरूको हक अधिकार सुनिश्चित छैन । विगतमा त्यहीँ कृषिबाट आर्थिक र सामाजिक रूपमा सुरक्षित भइ देश र जनताको जीवनलाई चलायमान बनाउन खेती किसानी गर्ने कृषकहरू प्रति राज्यको सम्मान र सहयोग पनि हुन्थ्यो । तर अहिले आधुनिकताको नाउँमा सेना, प्रहरी, निजामती, शिक्षक जस्ता सेवा क्षेत्रलाई स्थायीसँगै पेन्सन तथा ग्रेड एवम् महंगी भत्ताको व्यवस्था गरेर कुनै किसिमको सम्झौता विना कृषकको निःस्वार्थी सेवालाई अवमूल्यन गरिरहेको छ । जसको प्रतिफल आज कृषि क्षेत्रमा काम गर्ने कृषकलाई हेलाँको दृष्टिकोणले हेरिरहेको छ । साथै व्यापार, व्यवसाय, निर्माण तथा वस्तु उत्पादन सेवामा संलग्न अनाैपचारिक अर्थतन्त्रका मजदुरको पिडा र समस्या कृषकको जस्तै मिल्दोजुल्दो छ । हरेक श्रमिकले ८ घण्टा काम गर्नुपर्ने अन्तर्राष्ट्रिय नीति तथा मापदण्डअनुरूप आैपचारिक क्षेत्रका मजदुरले प्रचलित कानुनबमोजिम श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष तथा उपदान, ग्रेड रकम एवम् महंगी तथा पोशाक भत्ता जस्ता सेवासुविधा सहित जम्मा ६ घण्टा मात्रै काम गरिरहेका छन् । तर अनाैपचारिक क्षेत्रका मजदुरले दैनिक १० देखि १२ घण्टा काम गर्दासमेत आैपचारिक क्षेत्रका मजदुरको जस्तो सेवा सुविधा पाउन सकेका छैनन् । बरु बञ्चित गरिएको छ । अनाैपचारिक क्षेत्रका मजदुरको रूपमा रहेका कृषक उत्पादनको एकमात्र सक्रिय साधन हो । संसारमा कृषक विना वस्तु तथा सेवाको उत्पादन असम्भव छ । कृषकले उत्पादनमा लगाएको श्रमको हिस्साको रुपमा पाएको ज्यालाबाट परिवारको दैनिक गुजारा चलाएको हुन्छ । कृषक आफ्नो जीवनकालभरि नै उत्पादनमा सक्रिय भएका हुन्छन् । तैपनि उसले कुनै प्रकारको सुरक्षाको प्रत्याभूति गर्ने माैका नै पाउँदैन । जसलाई हामीले उत्पादनशील श्रमिकको रूपमा परिभाषित गरि सम्मान गर्नुपर्दछ । कुनैपनि देशको सामाजिक र आर्थिक विकासमा उत्पादनशील वा अनाैपचारिक श्रमिकको महत्त्वपूर्ण भूमिका रहन्छ । तिनीहरू शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक रूपले सुरक्षित भएमात्र उनीहरुबाट राष्ट्रले चाहेको लाभ लिन सकिन्छ । आैपचारिक श्रमिक भन्दा अनाैपचारिक श्रमिकले हरबखत सामाजिक सेवामा निरन्तर कुनै न कुनै रूपमा लागेका हुन्छन् । तैपनि अनाैपचारिक श्रमिकलाई कसैले पनि सम्मान दिन सकेको छैन ।